परिवर्तनको बहार आए जस्तो
सभा, सम्मेलन
बैठक, फोरममा भनिन्छ
परिवर्तनको हुन्डरीले सबै उडायो
सामान्तवादका अवयवहरू
चकमन्न छन् हिजोका ती अँध्यारा कन्दराहरू
समता र समानताले सम्पन्न छन् ती वस्तीहरू
बुर्जुवा शिक्षाको अन्तसँगै
उर्लेका छन् वैज्ञानिक शिक्षाका छालहरू
सुध्रेका छन् रोजगारीका आकडाहरू
देश अब रोकिँदैन
देश अब छेकिँदैन
समाजवादको यात्रामा
समृद्धिको बाटोमा।
देखिँदैन र सरकार?
बेरोजगारको बाध्यताले विदेशिनेका ताँतीहरू
परिवारको आशा बोकेका रातो बाकसका लासहरू
रित्तिएका ती गाउँहरू
उदाङ्गिएका ती वस्तीहरू
प्रणालीको विध्वंशले आतंकित ती आत्माहरू
मुसहरले लास जलाउन नपाएका दृश्यहरू
समृद्धिको प्यासले काकाकुल कर्णालीका कारुणिक कथाहरू।
यो कस्तो स्वतन्त्रता?
यो कस्तो समृद्धि?
यो कस्तो भाइचारा?
सत्यताको धरातल कहिले टेक्ने सरकार?
रेमिटेन्स र अनुदानले कति थेग्ने सरकार?
साइरन बजाउँदै हुइँकिने गाडीका लस्करहरू
कयौँ सुविधा र भोग विलास
आकाशिँदो महङ्गी र बेरोजगारी
नेपाली जनताले कति बोक्ने सरकार?
विज्ञानका सिद्धान्त त अकाट्य नहुन सक्छन्
देशको अवस्था, व्यवस्था र विधान
कसरी अकाट्य हुनसक्छ?
आफ्नै मौलिकता
आफ्नै सक्षमता
आफ्नै धारातल, परिवेश सुहाउँदो
सबै अट्ने, सबै जुट्ने
एक योजना, एक मार्गचित्र
सत्यताको धरातलमा बनाइदेऊ न सरकार।