‘नमस्ते, के छ तिम्रो हालखबर?’
सधैँको यो प्रश्नमा तिमीले मुसुक्क हाँसेर फर्काएको जवाफले तिमी सन्चो छौ थाहा हुन्छ। तिम्रो मुहारको त्यो मुस्कानले मेरो मनलाई आनन्दको अनुभूति गराउँछ, त्यो सायद तिमीलाई थाहा छैन होला।
मेरो मनको कुरा यदि तिमीलाई भनौँ भने टाढिन्छौ कि भन्ने डरले केही पनि भन्न सकेको छैन। याद छ तिमीलाई हामी पहिलो पटक कहाँ, कहिले र कुन अवश्थामा भेटेका थियौँ?
बिर्स्यौ होला। तर मलाई अझै पनि याद छ, त्यो जाडोको बेला जब मैले तिमीलाई पहिलो पटक देखेको थिएँ। कालो स्विटर, टाउकोमा न्यानो टोपी र भुइँमा पलेटी कसेर न्यानो लुगा लगाई स्टारलाइन डटपेनले लालीगुराँस कपीमा केही लेखिरहेकी थियौ तिमी।
म पनि त्यो वातावरणमा नयाँ भएकोले नमस्कार भन्दै आफ्नो परिचय दिँदा तिमीले आफ्नो शिर उठाई मेरो नमस्कारको उत्तर दिँदै स्वागत गर्यौ। तिम्रो मुस्कान, तिम्रो बोली, तिम्रो स्वागत गर्ने तरिका सबैबाट म मोहित भएँ।
खै! तिमीलाई याद छ कि छैन यी सब कुराहरू? सोधेको बेला त याद छ भन्छौ तर किन-किन मलाई शंका लाग्छ। किनकी जुन भावले म तिमीलाई हेर्दछु, सायद तिमी मलाई त्यो भावले सोच्दिनौ कि जस्तो लाग्छ।
तर पनि मेरो मनमा त्यो पहिलो भेटघाटको दिनदेखि आज पनि त्यही भाव ताजा नै छ। एक दशकभन्दा बढी भयो त्यो समय बितेको तर किन-किन आज पनि तिमीसँग कुरा गर्दा लाग्छ, अझ पनि तिमी त्यही छौ र म पनि तिम्रोसामु बसी तिमीलाई थाहा नहुने गरी एकहोरो नियालिरहेको हुन्छु।
तिमीलाई त याद पनि छैन होला, कतिऔँ पटक मैले लुकेर तिम्रो हँसिलो र जून जस्तो चम्किलो मुहार एकहोरो हेरिरहेको हुन्थेँ। प्रत्येक हेराइमा छुट्टै कौतूहलता थियो। त्यो हेराइभित्र रमाइलो संसार थियो।
एकपटक त यस्तो समय पनि आएको थियो, जब हामी दुवै जना गाडीको पछाडि भागमा बसी आफ्नो गन्तव्य तिर यात्रा गर्दै थियौ।
ओहो! के भनुँ म तिमीलाई? मेरो मनमन्दिरमा सधैँ बसिरहने तिमी पहिलो पटक शारिरीक रुपले मेरो त्यति नजिक बसेकी थियौ।
गर्मीको बेला, त्यसमा पनि गाडीको झ्यालबाट आइरहेको हावाले तिम्रो कपाल उडेर मेरो मुहारमा छोइरहँदा यस्तो महसुस भइरहेको थियो कि मानौँ त्यो हरेक क्षणमा तिमी मलाई सोधिरहेकी छौ- ‘सुशिल, के तिमी मलाई आफ्नो अंगालोमा राख्न सक्छौ?’
मैले सोधेँ पनि- तिमीले केही भनेको हो मलाई?
तर कस्तो दुर्भाग्य मेरो, त्यो त मेरो मनमा तिमीप्रति रहेको एकतर्फी भावनाको आवाज थियो जुन मेरो कानमा आइरहेको थियो।
एकछिन मेरो मनमा आयो कि चाहे जे होस्, म आफ्नो मनको कुरा तिमीलाई त्यही बेला भनिदिउँ। तर तिम्रो प्रतिकृयाप्रति मेरो अनभिज्ञता र मेरो मनभित्रको डरले मलाई फेरि एक दशक पछाडि हाम्रो पहिलो भेटको समय छेउछाउमा लिएर गयो, जहाँ म एकदम मौन छु, तिमीलाई आफ्नो कुरा भन्न।
तिमी भन न मलाई म के गरुँ, के म तिमीलाई आफ्नो मनको कुरा भन्नसक्छु?
के तिमी मलाई त्यस्तै सोच्छौ जसरी म तिमीलाई सोच्दछु?
यो समयबीच हामी विभिन्न जिम्मेवारी माझ बाँधिए पनि म अझ तिमीलाई त्यसरी नै हेर्दछु, जसरी तिमीलाई सुरुमा देखेको थिएँ। तिमीप्रतिको मेरो भावनालाई सायद तिमी बुझ्छौ होला, म तिमीलाई के भन्न चाहिरहेको छु।
बिर्सिरहेको छौ भने एकपटक सोचेर सम्झेर हेर न।
सायद मैले भन्न नसकेको कुराहरू बिना शब्दकै बुझ्छौ कि?