मेरो कविता बरु कविता नभैदिएर
एक फाइल औषधि भैदियोस्
जो चाहिएको छ रातभर छट्पटिएर
सहिनसक्नु कोही मरिचलाई
जसको कोही छैन र असमर्थ छ रातिहुँदी
खोला तरी टाढाको औषधि पसल जानलाई
र यस्तै बेला पैसा नि रैनछ घरमा
जो पीडादायी रात कटाउने सुरमा छ
केवल मनको देउरालीमा उसले पूजेको
देउदेवताको भरमा
मेरो कविता बरु कविता नभैदिएर
एक सपना भैदियोस्
जसलाई देखेकी छे एक कुमारी केटीले
जसको मासिक श्राव रोकिएको छ
र यही थाहा पाएर उसको प्रेमी गाउँबाटै गायब छ
र हाम फाल्नलाई यही बेला घर छेउको खोलो नि सुकेको छ
र भिरको टुप्पो पुग्ने बाटो नि यही बेला अन्धकार रात छ
यही बेला आफ्नो गरिब बाउआमाको टिठलाग्दो अनुहार
झलझली आँखामा आइरहेको छ
यो अजङ्गको आपतमा
मेरो कविता बरु उसको त्यो बिपना मेटेर
एक दुस्वप्न भएको होस्
र जब ऊ बिहान जुरुक्क उठ्नेछे
उसको मन परेको फ्रकमा
रगतको रंग लागेको होस्
मेरो कविता बरु कविता नभैदिएर
केही अंकहरूको समूह भैदियोस्
जो मिलेछ दुरुस्तै एउटा गरिबको चिठ्ठामा
मरुभूमिको देशमा
र जसको तानिएको छ घरखेत ऋणले मधेसमा
मेरो कविता बरु मेरो कविता नभैदिएर
एउटा कवितै भैदियोस्
जो लेखेछ अरे एउटा स्कुले ठिटोले
र पठाएछ अरे काठमाडौंलाई एउटा चलेको पत्रिकामा
र स्कुल जाँदै र गोठाला गर्दै
सम्झँदो रहेछ अरे हरपल छापियो छापिएन होला भनेर
र धाउँदो रहेछ सदरमुकाम हप्तैपिच्छे
पत्रिका आउने दिन पर्खेर।