ऊसँग कुरा गर्दा लाग्थ्यो कि मैले संसार पाएकी छु, संसार जितेकी छु।
लाग्थ्यो सधैंभरि उसको साथ हुनेछु अनि म नै संसारको सबभन्दा माया पाउने प्रेमिका हुँ। जहाँ गए पनि, जहाँ भए पनि ऊसँगै भएको आभास। उफ् सम्झँदा पनि आँसु झरिहाल्छ। कुनै पल ऊबाट टाढिन नचाहने मेरो मन मस्तिष्क आज भारी भएर दुखिरहेको छ। मुस्कुराउँदै गरेको स्टिकरबाट सुरू भएको वार्ता आज ब्लकलिस्टमा सीमित हुन पुगेको छ।
१७ पुगेर १८ लाग्दै गरेको उमेर, गाउँमै पाएको सानो जागिर, कक्षा १२ को परीक्षा दिएर नयाँ-नयाँ फेसबुक खोलेको म। अनि ऊ चाहिँ ११ को परीक्षा दिएको।
फेसबुक अकाउन्ट खोलेको तीनचार दिनमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो। कसले पठाएछ भनेर उसको प्रोफाइल खोलेर हेरें – हेर्दा ऊ अति नै मन पर्यो मलाई।
कालो कालो वर्णको, मुसुक्क मुस्कुराएको उसको तस्बिर हेर्दा ऊ एकैपटकमा मेरो मनमा बस्यो। फेसबुकमा उसको रिक्वेस्ट एक्सेप्ट गरें। त्यसको केही दिनपछि वार्ता सुरू भयो: मुस्कुराएको स्टिकरबाट।
सामान्य चिनजान पछि दिनहुँजस्तो कुरा हुन लाग्यो अनि बिस्तारै कुराहरू बढ्दै गए। कुराका सन्दर्भ बदलिए, विषय बदलिए अनि नाता पनि बदलियो। बिस्तारै हामी एकअर्कासँग नबोली बस्न नसक्ने भयौं। कुरा यस्ता कि अरू कसैलाई न सुनाउन सकिने न त व्याख्या नै गर्न सकिने, त्यति मिठा र समिपका कुरा। आज त्यो पल सम्झँदा पनि व्यर्थमै दुखिहाल्छ यो मन।
घरमा नेट थिएन, थोरै भए पनि डाटा जोगिन्छ कि भनेर त्यही ऊसँगै बोल्ने चाहनामा अफिसमै अनलाइन काम गर्छु भनेर केही अबेलासम्म बस्ने गर्थें।
एकपल उसको म्यासेज आएन या फोनमा कुरा भएन भने मेरो मन अतालिन्थ्यो, आज लाग्छ कि म आफैंलाई बिर्सिएर उसमा हराउँदै थिएँ।
आफैंलाई भुलेर ऊसँगै जिन्दगीका नयाँ पान्नाहरू भर्न चाहन्थें, नयाँ कथाहरू लेख्न चाहन्थें।
एकैछिन कुरा नहुँदा हुने त्यो पीडा आज म हर समय भोगिराखेकी छु। प्रेम छ ऊसँग मलाई, म कसरी सक्छु र ऊसँग नबोली बस्न? नाइँ सक्दिन र आज पनि म उसकै बोली सुन्न यसरी तड्पिएको छु कि जसरी म हप्तौदेखिको प्यासी र भोकी छु ।
पलपलमा उसकै याद अनि उसको त्यो मिठो आत्मीयपन, सुरिलो आवाज अनि आफ्नोपनको आभास त्यसमा माया अनि ख्याल गर्ने बानी। तर सबै धेरै दिनसम्म रहेन,सायद पाहुना थियो। सम्झँदा त मिठा लाग्छन् ती कुराहरू तर म आज आफूलाई कसरी सम्हालूँ? हिम्मत टुटेजस्तो,जिन्दगी नै फुटेजस्तो अनि दैवले सारा खुसी लुटेजस्तो लाग्ने गर्छ आजकल मलाई। जति कोसिस गरे पनि म हाँस्न सकेकी छैन। कमेडी भिडिओ हेर्दा पनि केटाकेटीहरू भाडाकुटी खेलेजस्तै लाग्छ। उफ् कसरी सम्हालूँ आफूलाई एउटा प्रेमीको यादमा किन म यसरी पागल भइरहेछु।
मलाई थाहा छ, जसरी भए पनि भुल्नु छ मैले उसलाई। तर म एकपल त उसको बारेमा नसोची रहन सक्दिनँ अनि कसरी सकूँला र भुल्न। मनले एउटा भन्छ दिमागले एउटा भन्छ। कुनै क्षण सोच्छु म भुलिदिन्छु उसलाई तर भन्नजस्तो कहाँ हुने रहेछ र!
अनि कुनै पल उसका यादहरूसँगै म जीवन बिताउँछु भन्छु तर उसका यादहरू मेरो मनमा यसरी गड्छन् कि म त्यो पीडा सहन गर्न नै सक्दैन। कुन क्षण हुन्छ र मैले उसलाई याद नगरेको। भन्न पो सक्दिनँ र कसैलाई तर हरपल याद गर्छु। भनौं भने कसलाई पो भनौं र खै, सबैले उसलाई भुलेर नयाँ जिन्दगीको सुरूआत गर भन्छन् तर जसरी अरूले शब्दहरूमा सजिलै तरिकाले मलाई उदाहरण दिन्छन्,म त्यसको अनुसरण गर्न सक्दिनँ।
हिजो एउटालाई प्रेम गरी सँगसँगै बाँच्ने, मर्ने कसम खाएका मान्छेहरू एक दुई दिनमै अरूका अंगालोमा बेरिएर तिमी नै मेरो सबथोक हौ,जिन्दगी हौ भनेको मैले नदेखेको पनि होइन तर म उबाहेक कसैलाई आफ्नो बनाउँछु भनेर कल्पनामा पनि सोच्न सकिनँ। अनेक पाटाहरू छन् जिन्दगीमा गर्न तर ती पनि मैले उसलाई गर्ने प्रेमका अगाडि फिका लाग्छन्। न त अध्ययनमा ध्यान जान्छ, न काममा।
सायद, ममा नै केही कमी रह्यो होला जो उसको मनमा रहन सकिनँ। हुन त ऊ मभन्दा एक वर्षले कान्छो तर मायामा उमेरले केही गर्दैन भन्ने मेरो सोच। अनि ऊ पनि मेरो कुरामा सहमति जनाउँथ्यो। प्राय: जसो सबै बानी मिलेर पनि छुट्टिएका हामी। मेरो घर पाल्पा,अनि उसको पर्वत।
जन्मथलो पर्वत भए पनि पेशाको शिलशिलामा बुटवल बस्दै आएको थियो ऊ। मिठाइको पसलमा जागिर गर्थ्यो। उसको ठूलोबुवाले खोजिदिनुभएको रे। मिठाइ मलाई त्यसै पनि प्राणप्रिय,सानैदेखि मरिहत्ते गर्थें।
उसलाई मैले, ‘मलाई चकलेट र मिठाइ ल्याइदेऊ’ भन्ने गर्थें।
ऊ मेरो कुरा सुनेर हाँस्ने गर्थ्यो, अनि कहिलेकाहीँ केटाकेटीले पो हो त मिठाइ खाने, हजुर केटाकेटी होइन नि भन्ने गर्थ्यो।
अब हामी एकदिन भेट्ने सल्लाह गर्याैं। म धेरै उत्सुक थिएँ उसलाई आफ्नो आँखा अगाडि देख्न। मेरो खुट्टा भुइँमा थिएनन्। भेट हुने दिन पनि नजिक आउन लाग्यो। त्यो दिन म पाल्पाबाट बिहान ७ः३० बजेको बतासेको माइक्रोमा मेरी साथी मायासँग बुटवल आएँ। पाल्पा-बुटवल सडकखण्ड पहिलेदेखि नै दयनीय हो।
बुटवलको बसपार्क आउँदा १२ बज्यो। हामीले बुटवलका ठाउँ चिनेका थिएनौं,हामी दुवै जना पहिलोपटक त बुटवल आएका थियौं,त्यो पनि घरमा ढाँटेर।
बुटवलको घाम, खाना नखाएको पेट, टाउको दुखिरहेको थियो बेसरी। आफैंले आफैंलाई बिरामी भयौं भन्दै माया र म एकअर्कालाई हेर्दै हाँस्यौं। अनि हामीलाई जानु थियो फूलबारी, तर कहाँबाट जाने बाटो हामी दुवैलाई थाहा थिएन, न कहाँदेखि गाडी लाग्छ।
माया र म अल्मलियौं,एकपटक त हामी बाटो नचिनेर भैरहवा पुगेर फर्किर्याैं। हामी फेरि बसपार्क गयौं। एउटै उपाय थियो,मैले गोविन्दलाई फोन गरें। उसले मलाई फूलबारी जाने बाटो बतायो। धेरैबेरको दौडधुपपछि अन्ततः माया र म फूलबारी पुग्यौं। फूलबारी पुगेपछि हाम्रो र उसको भेट भयो। त्यो दिन मैले मेरो प्रेम,मेरो गोविन्दलाई प्रत्यक्ष रूपमा देखेको थिएँ। म यति खुसी थिएँ कि,बयान गर्नलाई मसँग कुनै शब्द नै छैन। पहिलो भेट अनि प्यारो मान्छे आफ्नो अगाडि देख्दा म यति खुसी थिएँ कि म व्याख्या नै गर्न सक्दिनँ।
लाजले भुतुक्क भएर गोविन्द र म बोल्नै सकेनौं, बस् एकअर्कालाई हेरेर मुस्कुराइरह्यौं। एकैछिन घुम्यौं र हामी खाजा खान एउटा खाजा पसलमा गयौं। तीन जनाले एक/एक हाप चाउमिन खायौं। भन्दिनँ भन्दाभन्दा पनि मुखबाट फुस्किहाल्यो, ‘घरमा ढाँटेर आएको हामी’ उसले मलाई घरमा नभनी कहीँ पनि नहिँड्न भन्यो,एकैछिन सम्झायो। म चुप लागेर उसको कुरा सुनिरहें, अनि मनमनै यही सोचिरहेकी थिएँ, ‘हजुरलाई भेट्ने रहरले त झूट बोलेर यहाँसम्म आएँ, नाइँ भने म कहाँ झूट बोल्ने मान्छे हुँ र’।
मैले उसलाई फेरि अबदेखि हिँड्दिनँ भने अनि अबेला भइसकेको थियो।
हामीलाई समयमै घर पुग्नुपर्ने थियो त्यसकारण हामी फर्कियौं।
पहिलो भेटको त्यो रमणीय क्षण कहाँ म भुल्न सक्छु र!
फेसबुकमा देखेभन्दा पनि गुणी थियो ऊ। मलाई राम्रोसँग याद छ,फर्किने बेला मायाले भनेको कुरा, ‘तिमीलाई यति धेरै खुसी त मैले कहिल्यै पनि देखेको थिइनँ।’
हुन पनि हो, त्यो दिनको खुसीका व्याख्या गर्न हर शब्द कम पर्नेछन्, म त्यति खुसी थिएँ। ऊसँगको त्यो भेट मलाई पत्याउनै मुस्किल भएको थियो।
भेट त त्यसपश्चात पनि भयो तर त्यतिबेला ऊ पूरै बदलिसकेको थियो। सायद बदलाव नै प्रकृतिको नियति थियो। त्यही फूलबारीको अविस्मरणीय भेट नै ऊसँगको अन्तिम भेट हो। किनकि पछिल्ला भेटहरूमा ऊ बदलिसकेको थियो।
पहिलो भेटपछि झन् नजिकिएका हामी यतिका महिना बित्दा एक शब्द पनि बोलेका छैनौं। केही समय पहिले उसले मलाई विदेश जान्छु भनेको थियो। ‘विदेश जानुभन्दा यही स्वदेशमै केही गर्नु राम्रो हुन्छ जान्छौ भने त म के भन्न सक्छु र। सकेसम्म यही केही गरौं।’ भन्दा उसले मेरा कुरा सुनेर केही पनि नभनि फोन काटेको थियो। त्यसपछि पनि कहिलेकाहीँ त कुराहरू भइरहेको थियो।
विस्तारै विस्तारै ऊ हराउन थाल्यो। दिनदिनै हुने कुरा हप्तामा पुगे अनि हप्ता त के महिनामा पनि कुरा हुन छाड्यो। आज यत्तिका दिन भए तर ऊ बोलेको नै छैन। ऊ हराउँदै थियो त्यही बेलामा मैले गरेको फोन उठाएर उसले झर्किंदै ‘तेरा नानाथरी कुरा सुन्नु छैन मलाई,जतिबेला पनि नानाथरी कुरा गर्छेस्’ भन्यो।
झर्केको मात्र होइन उसले त्यही दिन मलाई पहिलोपटक तँ भनेको थियो।
सायद केही पिर चिन्ताले होला भन्ने सोचें। मेरो फोन एसएमएसको कुनै रिप्लाइ आउन छाड्यो।
कसरी आफ्नो मन सम्हाले मलाई थाहा छैन। एकदिन मैले फोन गर्दा उसले भन्यो, ‘तैंले मलाई डिस्टर्ब गर्छेस्,अबबाट तँसँग कहिल्यै पनि बोल्दिनँ।’
वास्तवमै त्यस्तै भयो, ऊ साँच्चिकै मसँग बोल्न छाड्यो, न आफूले मलाई बोलायो, न मैले बोलाउँदा नै बोल्यो।
मैले केहीदिन अघि उसको दिदीलाई म्यासेज गरेर सोधें, गोविन्द खै?, ‘उसको त बिहे भयो, भागेर बिहे गरेको हो’ दिदीले भन्नुभयो।
यस्तो सुन्दा म छाँगाबाट खसेजस्तै भएँ, मुटु रोकिएजस्तै भयो र पूरा ज्यान नै चिसो भयो। मलाई विश्वास लागेन दिदीको कुरामा। उसलाई फोन गरें तर फोन उठेन। अब त फोन हान्ने हिम्मत पनि छैन ममा।
२ दिन अगाडि फेसबुकमा उसको नयाँ आइडी देखें प्रोफाइल खोलेर हेरें मैले राख्न भनेको फोटो नै प्रोफाइलमा राखेको रहेछ। प्रोफाइलमा त उसको सबै आफ्ना मात्र फोटा थिए। मेरो मन केही हल्का भयो र म्यासेज नगरी मेरो मनले मानेन। तर म्यासेजको रिप्लाइ आएन। १५ मिनेटपछि हेरेको मलाई ब्लक हानिसकेको रहेछ। मेरा भ्रम अब वास्तविकता भइसकेका थिए।
पहिले लाग्थ्यो सायद ऊ थोरै व्यस्त भएर हो तर ऊ त्यति धेरै व्यस्त पनि रहेनछ। मैले मेरी साथी दयालाई उसको प्रोफाइल हेर्न भनें। दयाले मलाई अरू केही नभनि एउटै कुरा भनि- तिमी अब मुभ अन होऊ। मैले उसलाई सबै कुरा सोधें तर उसको जवाफ केवल एउटै थियो।
मलाई लाग्छ सायद ऊ मसँग बोल्न चाहँदैन र आफ्नो जिन्दगीमा खुसी छ,अब मैले उसलाई कल, एसएमएस गरेर डिर्स्टब गर्नुहुँदैन। उसलाई नचाहेका मान्छेसँग नबोल्ने स्वतन्त्रता छ,मैले कसैको स्वतन्त्रता भंग गर्नुहुँदैन।
जसरी भए पनि सम्हाल्न छ मैले यो मनलाई अनि मेरा नानाथरी कुरालाई। अब मेरो मन जति दुखोस्, जति पीडा होस् मलाई, म उसलाई फोन एसएमएस गर्ने छैन। भित्रभित्र जति जलन र पीडा भए पनि म कसैलाई सुनाउने छैन मेरो मनको अवस्था, पीर, व्यथा र चिच्याहट, हाँस्ने छु सबैको अगाडि यसरी कि जसरी केही भएको थिएन, केही भएको छैन।
यसरी कि म यस्तो मान्छे हुँ, जसमा कुनै मानवीय बानीहरू छैनन्, यसरी कि जसरी म रूँन भुलें, हाँस्न भुलें,केवल आफ्नो बारेमा मात्र सोचिरहें अनि स्वार्थी बनें। केवल आफूलाई मात्र देखें, केवल आफूलाई मात्र गनें अनि सधैं केवल आफ्ना बारेमा मात्र सोचिरहें।
हो म अब त्यस्तै बन्ने छु जसकारण मलाई उपनाम दिनेछन् यहाँका मान्छेहरू ‘ऊ त्यो त यन्त्रमानव (रोबट) जस्ती छे, केही कुराले फरक पर्दैन उसलाई। हो मान्ने छैन यहाँ कसैको मनले मलाई रोबटको उपनाम नदिई, किनकि मान्छेहरू अरूको नाम राख्न खप्पिस छन्, खुट्टा तान्न जागरूक छन्, गिराउन माहिर छन्, अरूको कुरा काट्न सिपालु छन्, अनि आफ्नो नजरमा यहाँ खराब पनि असल छन्, चोर पनि पुलिस र अपराधी पनि निर्दाेष छन्।