यतिबेला बौलाएको छ सहर
बौलाएको बखत
उसको शत्रु गाउँ हो
त्यही शत्रु चाहार्दै
सहर अहिले जथाभावी टोक्छ गाउँ
प्रतिकार गर्न असक्षम गाउँ
निरीह थापिरहन्छ माटो
त्यसको चोक्टो सहरले नलुछुन्जेल
दुखाइरहन्छ घाउ
त्यसबाट नदी बगेर नसुकुन्जेल
वषौंदेखि उपचार नपाएको बिरामी गाउँ
तर्सिन्छ अहिले
धानका बाला झुलेको देख्दा
गाउँ हो या सहर त्यही भ्रमका भार
उसका आँखैभित्र परेड खेल्छन्
पूर्वजका सभ्यता ऐंठन बनेर
उसका निद्रा बिथोल्छन्
डण्डिबियो र कपर्दी
उसको मस्तिष्क फोरेर
हिउँ झैं विलीन हुन्छन्
बर्बराउँछन् उसका मुखबाट
समाजवादका नाराहरू
मृत्युशय्याको काखमा गाउँलाई सुताएर
गाउँ–टोकुवा सहर अहिले
दश नङ्ग्रा फिजाउँदै
पल्लो गाउँतिर दौडिएको छ
तर मलाई थाहा छ
अनियन्त्रित सहरले
टेकेका पाइला उसका आफ्ना होइनन्
ऊ मान्छेहरूका पाइला टेकेर दौडिएको हो
मेरै पाइला टेकेर दौडिएको हो
उसको शरीरमा उसको आफ्नै रगत बगेको होइन
ऊ मान्छेकै रगतले दौडिएको हो
म आफैं बहुला सहर भएर
गाउँगाउँ दौडिएको हुँ।