आज भैँसी ब्याउँछ, बिगौती खाने हो। झुत्ता पारेको सबैभन्दा ठूलो मकैको घोगा हेरेर मैले एउटा ठूलो खोस्टा (मकैको बाहिरी पत्रा) च्यातेँ।
ममीले ‘आज भैँसी ब्याउँछ, स्कुलबाट कहीँकतै नखेली आइज, तातो बिगौती खायो भने बलियो हुन्छ र खानुपर्छ’ भन्नुभएको थियो।
म त्यसैगरी तयार भएँ। ममीले घाँस काटेर लेराउनु भएको थियो, बेलुका सुत्केरी भैँसीले मीठो खान्छ भनेर। सायद उहाँलाई थाहा थियो होला सन्तान जन्माउँदा एउटा आमाले के सोच्छे र कस्तो खान मनपर्छ भनेर।
म हतार-हतार स्कुल गएँ। गाउँका साथीहरू हामी लगभग सबै जना गरेर ६/७ जना थियौँ। सबै जना लगभग एउटै उमेर समूहका। मलाई त्यो दिन साथीहरूको गफ सुन्नु थिएन। मलाई स्कुलमा गएर पढ्नु पनि थिएन। मलाई लाग्छ मैले स्कुलमा पढ्नको लागि भनेर कहिल्यै पढिनँ।
गाउँको स्कुल पढाइभन्दा ज्यादा त हामी खेल्ने गर्थ्यौँ। सहरको जस्तो बिहान होम ट्युसन र बेलुका कोचिङ भन्ने हुन्न थियो। यो सुनेको नै मैले आफैले पढाउन थालेदेखि हो। दिनभरि के पढेँ, के गृहकार्य थियो केही मतलब थिएन। घर फर्कँदा चैत वैशाखमा फलेका अङ्गेरी फल खाँदै विस्तारै जाने मेरा पाइला आज हतार-हतार चलिरहेका थिए।
मलाई मेरो बुवाले २२ हजारमा किनेर लेराएको कालो भैँसी (मुर्रा) को बिगौती खानु थियो। मैले देखेको थिएँ त्यो अरु भैँसी जस्तो थिएन। हाम्रो घरमा भएको अर्को भैँसीको थुन ठूलो थिएन तर त्यो कालो भैँसीको थुन ठूलो थियो। ममीले भन्नुहुन्थ्यो- यसको एउटा थुनबाट तीन गिलासभन्दा बढी दूध आउँछ।
म सोच्थेँ हामीले खाने दूध त एउटा थुनले पुग्ने रहेछ। त्यत्रो अरु तीन वटाबाट आउने दूधले त दिनकै खिर खाए नि पुग्छ। मही पार्यो भने त झन् कति दिन मही र मकै खान पाउने। पल्लो घरको आमालाई नि दिनपुग्छ।
म खुसीले गद्गद् थिए। म खुसी खिरको लागि थिएँ, म खुसी कुरौनीको लागि थिएँ, म खुसी मही मोथेपछि ममीले दिने एक चम्चा जति नौनीको लागि थिएँ, म खुसी नौनी पगालेपछिको घिउमा लाग्ने बिलौनीको लागि थिएँ।
म घर पुगेँ। घर पुग्दा भैँसीले बच्चा पाएको थिएन। ममीलाई सोधेँ- ‘ममी खै भैँसी ब्याएको?’
ममीले भन्नुभयो- ‘अब ब्याउँछ होला नि, भन्ने बित्तिकै हुन्छ त। जा बाख्रा चराएर आइज, आउँदा भैँसीलाई आराम हुने एउटा मुठा वनमारा पनि लेराइज।’
म अलि मलिनु अनुहार बनाएर बाख्रा फुकाएँ। ममीले भन्नुभएको थियो- स्कुलबाट छिट्टै आइज, बिगौती खानुपर्छ। उहाँले भनेको कुरा किन भएन? म एकछिन ममीसँग रिसाएँ। तर फेरि उहाँले भन्नुभएको कुरा सम्झिएँ। बाख्रा चराएर लेराउने बेलामा त ब्याइहाल्छ। अनि बिगौती खाँदै बस्न पाइन्छ।
म खुसी भएँ। घर नजिकैको खरबारीमा बाख्रा फुकाएँ। नजिकै रहेको आँपको रुखमा चडेँ, ठाडो जाने हाँगाहरू तेर्सो गएको भएर म धेरैजस्तो त्यही आँपको रुखमा भएको तेर्सो हाँगोलाई आफ्नो बस्ने ठाउँ बनाउँथेँ। त्यही रुखबाट बाख्रा कहाँ पुगे पनि थाहा हुने र भुइँमा बस्न पनि नपर्ने भएकाले म त्यही हाँगोमा बस्थेँ।
एक घण्टापछि एक मुठा वनमारासहित म घर आएँ। बाख्रा बाँधेँ, पानी खुआएँ थोरै नुन मिसाएर, बाख्राको पेट ठूलो देखियो।
ममीलाई भनेँ- ‘ममी आज त बाख्रा एक घण्टामै अघाए, हेर्नू त पेट।’
ममीलाई थाहा भैहाल्यो- पानी दिएछ, भोलि बाख्रालाई पखाला लाग्यो भने आफै जा नि औषधि लिन।
मैले भनेँ- ‘ममी, आज बाख्राले घाँस धेरै खाए।’
मैले झुट बोलेँ। ममीले झुट थाहा पाएर पनि पत्याइदिनु भयो। लगत्तै सोधेँ- ‘ममी ब्यायो त भैँसी?’
ममीले झर्किँदै भन्नुभयो, ‘ब्याइसकेसी त देखिहाल्छस् नि। भर्खर बसेको छ ब्याउँछ होला बेलुकापख।’
म यो सुनेपछि भैँसी भएको ठाउँमा गएँ। बुवा भैँसीलाई निगरानी गर्दै अलि पर बस्नु भएको थियो। उहाँले भैँसीलाई नहेरेको जस्तो गरेर केही काम गर्दै हुनुहुन्थ्यो।
बेलुकाको ८ बज्यो, जंगलको बीचमा घर थियो। गाउँको ठाउँ बत्ती थिएन, टुकी बालेर बुवा गोठमा हुनुहुन्थ्यो। ममी खाना बनाउन थाल्नुभयो। म विद्यालयको होमवर्कतिर लागेँ। होमवर्क भ्याइसकेपछि ममीलाई सोधेँ- ‘ममी भैँसी कतिबेला ब्याउँछ?’
ममीले भन्नुभयो- ‘अहिले ब्याउला जस्तो छैन, बेलुका हुन्छ होला राती। तँ सुत भात खाएर। बिहान तँलाई मैले बोलाउँछु।’
ममीले त्यति भनेपछि म खाना खाएर सुतेँ।
बिहान झिसमिसे उज्यालोमै निद्रा ब्युँझियो। हल्का गुनगुन आवाज मन्द तवरले कानमा आइरहेको थियो। मैले केही बुझिरहेको थिइनँ। बार्दलीमा सुतेको म तल टाउको निहुँराएँ। आँगनमा एकजना दाइ चिया खाँदै थिए, पिर्कामा बसेर।
म हतार-हतार अघिल्लो दिन ठिक्क पारेको ठूलो पत्ता खोस्टा लिएर तल झरेँ। ममी भएको ठाउँमा गएँ र भनेँ- ‘ममी, मलाई बिगौती यसमा राख्दिनू, मुख धोएर आइहालेँ।’
ममीले केही भन्दै हुनुहुन्थ्यो, मैले केही नसुने झैँ गरी धारामा गएँ। फर्किने बित्तिकै ममीले भैँसी बिरामी भयो, अहिले बिगौती छैन भन्नुभयो।
मैले अचम्म मानेर सोधेँ- ‘बिरामी भएपछि बिगौती आउँदैन हो?’
ममीले बुवालाई गएर सोध् भन्नुभयो।
बुवा एकजना गाउँको काकासँग कुरा गर्दै हुनुहुन्थ्यो। म बुवाको नजिक गएर नसोधी भैँसीलाई हेरेँ। भैँसी सुतेको देखेँ। मैले भैँसीको थुन हेरेँ। भैँसीको थुन गिलास जत्रो मोटो भएको थियो। पेट ठूलो।
मैले बुवालाई भनेँ- ‘बुवा बिगौती खै त?’
बुवाले भन्नुभयो- ‘अब यो भैँसीले बिगौती दिँदैन। अर्को भैँसी लेराएपछि खाने।’
म एकदमै दुखी हुँदै भनेँ, ‘त्यत्रो थुन छ, त्यो थुनको दूध निकाल्नू न।’
बुवाले आँखाभरि आँसु बनाउँदै भन्नुभयो- ‘भैँसी बच्चा पाउन नसकेर मर्यो, मरिसकेपछि दूध आउँदैन।’
म अचम्ममा परेँ। त्यत्रो दूध छ, यो खोसेल्टा भरिने गरी त जसरी नि आउनु पर्ने। म दुखी हुँदै बसेँ।
बिहान भएपछि गाउँका सबै मान्छे आए, सबैले सकेसम्मको अनुहार निन्यारो बनाए। ठूलो खाल्डो खनियो, त्यो ठूलो भैँसी त्यही खाल्डोमा गाडियो।
त्यहाँ केही वर्ष पछिसम्म पनि माथि हिँड्दा तल केही खाली छ जस्तो आवाज आउँथ्यो। त्यो खालीपन सायद मेरो बिगौती खाने रहरको हुनसक्छ। त्यो भैँसीको हड्डीले केही वर्षसम्म पनि माफी मागिरह्यो। मेरो सपनासँग, मेरो आशासँग, मेर इच्छासँग।
यो सँगसँगै त्यो मकैको खोस्टामा घुन लाग्यो, सुकेर गयो। त्यसको एक महिनापछि ब्याइसकेको भैँसी लेराइयो। तर कालो भैँसीको बिगौती मकैको खोस्टामा हालेर खाने कुरा पूरा भएन। आजसम्म पनि भएन। हुने बेला पनि सायद त्यही याद आएर भएन। थाहा छैन खोस्टामा बिगौती खाँदा कस्तो हुन्थ्यो, तर त्यो इच्छा त्यही भैँसीसँगै सती गयो।