म मान्छे बन्न हतारिरहेको
एक अमान्छे
यहाँ मान्छे बनेर बाँच्न
साँच्चिकै गाह्रो रैछ
मान्छे हुनु भनेको
सहनु रैछ, बगरले झैँ छालको कटान
रमाउनु रैछ, जुनकिरी जसरी आफ्नै उज्यालोमा
कुल्चिनु रैछ, पत्र-पत्र कोमल मनको
मेटाउनु रैछ प्यास, शीतको थोपाबाट
र सबैभन्दा ठूलो कुरा
मान्छे हुनु भनेको
गुमाउनु रहेछ आफ्नै भाग्य, हस्तरेखाबाट
भर्नु रहेछ टिलपिल इन्द्रसरोबर, आँखाहरूमा
काट्नु रहेछ अनगिन्ती रात, प्रतीक्षामा
साट्नु रहेछ कोमल सपनाहरू, अँध्यारोसँग
बाँच्नु रहेछ बित्ता-बित्ता नाप्दै, आफ्नै आयुको डारो
भुल्नु रहेछ आफ्नै हाँगालाई, झर्दै गरेको पातले जसरी
कुर्नु रहेछ कहिल्यै फर्की नआउने, अभागी छायालाई
डुब्नु रहेछ शोकमा, धिक्कार्दै अतीतलाई
र नाटक गर्नु रहेछ पलपल, जीवितै रहेको।
यहाँ मान्छे बनेर बाँच्न
साँच्चिकै गाह्रो रैछ
म बरु अमान्छे नै जाति रहेछु।