म हराएको कहीँ छैन
छैन म स्वयमले आफैलाई भेटाएको पनि
म त अल्झिएको छु सपनाको लहराहरूमा
घेरिएको छु आफैद्वारा सृजित परिबन्दहरूमा
मेरो ओठमा तिमीले देख्ने मुस्कान
मुहारको चमकता
नयनका चञ्चलता
बोलीको कोमलता
अनि आदि इत्यादि जे-जे तिमी देख्दछौ
ती सब यो भ्रामक दुनियाँको अघि
मेरो वास्तविक्ता लुकाउने
भावनात्मक वस्त्र मात्र हुन्
तिमी तिनलाई तिम्रा मस्तिष्कमा
परिकल्पित मेरा यथार्थ कोर्ने यन्त्र नबनाऊ
त्यसो भए के हो त तिम्रो वास्तविकता?
थाहा छैन म स्वयमलाई नै
त्यो त लुकाइको छ मबाट
मेरा कोमल पाउहरूले
पृथ्वीको छातीमा उभिएर
कस्तो रहेछ
म जन्मिएको संसार भनी हेर्नै लाग्दा
पिठ्युँमा लादिएको पुस्तकको भारी
बोक्न नसकी म लडेको थिएँ
अझै उठ्ने प्रयत्न गर्दैछु
देखे कसैले मेरा निम्ति सपना
अनि सामेल गराइयो मलाई
सपनाको दौड प्रतियोगितामा
दौड कहाँ सकिन्छ?
थाहा छैन मलाई
कति टाढा छ लक्ष्य?
अनभिज्ञ छु म
यति थाहा छ म दौडिरहनु पर्छ
विश्राम मेरो विकल्प होइन
यसलाई पूरा गर्नु मेरो संकल्प हो अरे
मेरा पाउ रोकिनु हुन् रे
सोच्छु म कहिलेकाहीँ
कसैले देखाइदिएको सपना
मैले भेटाइदिएको दिन
खुसी को हुन्छ होला?
म कि त्यो सपनाको रचनाकार?
दौडमा भाग्दा-भाग्दा गलेका मेरा पाउले
त्यो दिनदेखि आराम पाउँला त?
देख्दै नदेखेको भविष्यको आशामा
म आफू बाँच्दै गरेको वर्तमानको हत्या गरिरहेछु
रगताम्मे हातलाई हेर्दै
त्यस दिन के म मनैदेखि रमाउँला त?
यत्रतत्र सर्वत्र छरिएका छन् मेरा आफ्नै इच्छाहरूको भग्नावशेष
तिनैलाई जमिनमा लखतरान पारी हिँडेको म
त्यस दिन सबै विरहलाई बिर्सिएर
सफलताको सुसेलीमा आन्नदको गीत गाउँला त?
अनुत्तरित छु
प्रश्नका चाङहरू माझ मौन छु
म आफू आफ्नै निम्ति बाँचिरहेको छु
कि बाँचिरहेकाहरूको निम्ति बाँचिदिएको छु?
अहँ थाहा छैन
शरीर त मेरै हुन् तर इच्छा अरुको
हिँडाइ मेरा अनि गोरेटो कसैको
अब भनिदेऊ न मलाई, म को हुँ?
उसले रुचाएको म कि आफैले चाहेको म?