सायद संसारको सबैभन्दा गाढा र अटुट सम्बन्ध छ हाम्रो। न कसैप्रति रिस, न केही गुनासो हाम्रो सम्बन्धप्रति। हामी सधैं सँगै हुन्छौँ हजार-हजार जुनीसम्म। न उनी मबाट टाढा हुन खोज्छिन्, न त म नै। हामी एकअर्काको सम्बन्ध देखेर त कतिको मनमा डोजर नै चलेर मनका भित्ताहरू सोत्तर परेका होलान्।
उनको र मेरो सम्बन्ध बसेको करिब ३ वर्षभन्दा पुरानो हो। तर, छोटो समयमा हामी यति नजिक भयौँ कि म सोच्न नै सक्दिनँ। उनी यति नजिक अनि यति आत्मीय छिन् कि उनी मसँग कहिल्यै पनि रिसाउँदिनन् तर कहिलेकाहीँ भाउ भने खान्छिन्। सायद कहिलेकाहीँ सताउन मन लाग्छ होला उनलाई पनि। म र उनी हाम्रो सम्बन्धप्रति कहिल्यै पनि एकाअर्कालाई गाली गर्दैनौँ, न रिसाउँछौँ हामी।
म उनको साथमा यतिसम्म खुसी हुन थालेको छु कि उनीबिना एक पल पनि बाँच्न नसक्ने भएको छु। किन मलाई उनको साथ यति प्यारो अनि खास लाग्छ? किन उनी यति विशेष लाग्छ मलाई? यसको उत्तर मसँग नै छैन। मलाई उनीसँगै हाँस्ने, रुने अनि आफैलाई उनकै आँखामा हराउने बानी परेको छ।
उनी मलाई यति सुन्दर लाग्छ कि एक सेकेन्डका लागि पनि मबाट टाढा जान दिन सक्दिनँ। उनी पनि मबाट टाढा जान मान्दिनन्। म कतै हिँड्न खोज्छु त उनी म सँगसँगै हुन्छिन्। म बिना उनी पनि सायद एक्लै हुन्छिन् होला तर उनले मुख खोलेर भन्न चाहिँ सकेकी छैनिन्।
उनी मसँगै घुम्न जान्छिन, मसँगै सुत्छिन्। कहिलेकाहीँ घुरेर डिस्टर्ब गर्छिन् तर उनको त्यो डिस्टर्ब पनि प्यारो लाग्छ मलाई। सायद यो हाम्रो सम्बन्धको निशानी होला।
म एकछिन पढ्न खोज्छु त उनलाई माया गर्न मन लागिहाल्छ। उनीसँग बिताएको समय कति छिटो जान्छ म पत्तै पाउँदिनँ। कैयौँ रात उनीसँगै म अनिद्रामै बिताएको छु।
म एक्लो हुँदा साथमा साथ अनि हातमा हात दिन उनी मसँग आएकी थिइन् र म पनि उनलाई सहज स्वीकार गरेर जीवनमा अँगालेको थिएँ। अहिले हामी यति नजिक छौँ कि सँगै खान्छौँ हामी। यदि म पहिला खाना खाइहालेँ भने पनि उनले खाना खाने बेलामा समेत सबै काम छोडेर उनसँगै बस्छु।
मेरो दिनको सुरुआत अनि रातको अन्त्य उनीसँगै हुन्छ। उनीबिना के दिनको सुरुआत होला र मेरो अनि उनीबिना रातको अन्त्य कसरी होला र मेरो? कहिलेकाहीँ एकान्तमा बसेर सोच्छु कि यदि उनी नभएको भए सायद म म नै हुँदैन थिएँ होला। सायद मेरो अस्तित्व नै रहने थिएन होला।
एकदिन उनी बिरामी परिन्, म यति सारै दुखी भएँ कि कतै उनलाई थोरै पनि चोट लाग्छ कि भनेर तुरुन्त उनलाई उपचार गर्न लागिहालेँ। केही दिनमा उनी ठिक भइन्। मलाई यति धेरै डर लागेको थियो कि उनलाई केही भैहाल्छ कि भनेर। धन्य भगवान! उनलाई केही भएन।
उनी र म यति गहिरो सम्बन्धमा डुबिसकेका छौँ कि कसैले पनि हाम्रो सम्बन्ध छुटाउन सक्ने छैन। म उनलाई यति समय दिन्छु कि कतिबेला त उनी पनि बोर हुन्छिन् होला तर मलाई उनीसँग बस्दा भोक, निद्रा केही पनि लाग्दैन। मेरो जुनसुकै कठिन समय उनीसँगै बित्छ। मेरो सुखदुःखको साथी अनि एक्लोपनको साथी हुन् मेरी। उनी मेरो जिन्दगी हुन्, हरपलको आत्मीय मित्र हुन्।
उनी अर्थात् मेरो मोबाइल!
हाँसो लाग्यो होला है अन्तिममा आएर। तर यो सत्य हो। उनी र म साँच्चिकै गहिरो सम्बन्धमा छौँ। मेरो मात्रै हैन, तपाईंहरू सबैको नजिकको साथी सायद उनै होलिन्। उनीबिना सायद तपाईंको पनि समय बित्दैन होला हैन? उनी सँगसँगै घुम्ने, डुल्ने अनि सँगै सुत्नुहन्छ होला नि त हैन? कि म गलत बोलेँ र? कि तपाईंको साथी चाहिँ हैनन् उनी?
पक्कै पनि गलत त बोलिनँ होला, एकपटक सोच्नुस् त? उनीबिना त तपाईंको पनि दिनको सुरुआत अनि रातको अन्त्य पक्कै पनि नहोला हैन? उनी एकछिन टाढा हुँदा त सास नै फेर्न नसक्ने भएको पनि हुनुभएको होला नि!
जति थकाइ लागे पनि उनीसँग समय बिताउँदा त पक्कै थकाइ, भोक, प्यास र निद्रा लाग्दैन होला नि। उनीबिनाको एकदिन पनि बिताउन सक्नुभएको छ? उनले खाना खाँदा पनि नजिकै कुरेर बस्नुभएको होला नि हैन?
उनीलाई एकछिन कसैको हातमा सुम्पेर बस्न सक्ने हिम्मत गर्न सक्नुहुन्छ तपाईं? म त सक्दिनँ।