स्नातक पहिलो वर्ष पढ्दै गर्दाको वैशाख महिना मेरो लागि जीवनकै खास रहन पुग्यो। वसन्त ऋतुको आगमनसँगै मेरो जीवनमा पनि नव पल्लवको आभास भएको थियो। एक्लै बस्न र आफैंमा रमाउने म अब कसैको लागि हाँस्न थालेको थिएँ।
आफ्नो भविष्यभन्दा पनि उनीसँगैको सुनौलो जिन्दगीको परिकल्पना गर्न थालिसकेको थिएँ। कोही यति चाडो मेरो नजिक भएको पत्तो पाउनै सकेको थिइनँ। उनी मेरो बानी बनेकी थिइन्। मेरो जीवनको अभिन्न सदस्य बनेकी थिइन्। उनीबिना म मेरो परिकल्पना पनि गर्न असमर्थ थिएँ।
खासै रुपभन्दा पनि उनको सामीप्यताले मलाई लोभ्याएको थियो। तर पनि ती कोमल नयनमाथि शृंगारिएको चस्मा, हल्का घुम्रिएको कपाल, निधारको रातो अक्षताको टीका, बतासको स्पर्शसँगै चलबलाउने ती ओठ, अनि सबैभन्दा प्यारो उनको आवाज; मलिन तर कानमा गुन्जिरहने।
उनलाई म कुनै बाधाबिना मेरा हरेक दुःखसुखका कुरा सुनाउन सक्थेँ। दिउँसोभरिको थकान र पीडा हरेक साँझ उनीसँग साट्दा शरीर र मन हलुका हुन्थ्यो। सारा कुरा सजिलो हुन्थ्यो। म उनको प्रेममा थिएँ।
उनी पनि मसँग प्रेममा भएको आभास थियो। न उनले केही बोलिन्, न त मैले नै केही भन्न सकेँ। हामी प्रेमको उपनाम नपाएका प्रेमी जस्तो लाग्थ्यो। उनी मेरी र म उनको नै हो सम्झिएर त्यो चन्द्रमा पनि उनको अगाडि फिका लाग्न थालेको थियो।
मैले उनलाई मेरो मनको कुरा भन्न सकेको थिइनँ। उनलाई पनि यस्तै भएको होला भन्ने बुझेको थिएँ।
समय बित्दै गयो। दिन महिनामा बदलिए। मैले पनि हिम्मत जुटाएर मनको कुरा ओठमा ल्याउन प्रयास गर्दै थिएँ तर कुन अदृश्य शक्तिले मेरो ओठमा ताला लगाएको थियो।
उनी बारम्बार मलाई सोध्ने गर्थिन्- ‘तिमीलाई कस्तो केटी मनपर्छ?’
‘तिमीजस्तो’ भन्ने उत्तर त भित्र मनबाट आउँथ्यो तर अन्य कुरा गरेर टार्थेँ। उनी मेरो प्रार्थनामा समावेश हुन थालेकी थिइन्।
समय बित्दै गयो। उनको र मेरो सम्बन्ध झन्-झन् प्रगाढ बन्दै गएको थियो। तर एक्कासी एकदिन म कलेजबाट फर्कँदा उनको म्यासेज आएको रहेछ- ‘मलाई आजबाट म्यासेज नगर ल।’
म अचम्ममा परेँ। मलाई जिस्क्याएकी होलिन् भन्ने सोचेँ र रिप्लाई गर्न खोज्दा म उनको ब्लक-लिस्टको पुगेको थाहा पाएँ। मलाई दुःख दिन होला भन्दै भोलिपल्ट प्रयास गर्दा पनि म अनब्लक भएको थिइनँ।
मैले त्यस्तो के गरेँ भन्ने कुरा बारम्बार मेरो दिमागमा आइरहेको थियो। म पुरै बेचैन भएको थिएँ। ब्लक गरिएको इनबक्समा मैले म्यासेजको लस्कर लगाएको थिएँ। उता नपुग्दै मेरा मनका भावना बीच बाटोमै अदृश्य भएका थिएँ।
भोलि क्लासमा त पक्कै भेट गरेर सोध्छु भन्ने मनाशाय बनाएर मनलाई बुझाउँदै बसेँ। राम्रो बोलचाल हुँदा त खासै अरुले भेउ नपाएका हामी, पछि उनीसँग बारम्बार क्लासमा बोल्न प्रयास गर्दा उनीसँग कुराकानी हुन सकेन।
उनले मलाई पूर्ण बेवास्ता गरेकी थिइन्। अब चाहिँ म पनि पछि हटेँ। उनको सुन्दर संसारमा म बाधा भएँ भन्ने सोचेर म उनीबाट टाढै बस्ने निर्णय गरेँ।
जति टाढा हुन खोजे पनि उनलाई देख्ने बित्तिकै मेरो मन उनीतर्फ लम्किहाल्थ्यो। जसोतसो मनलाई बुझाएर राखेको थिएँ। ब्याचलरसम्म त सामान्य देखादेख भइरहन्थ्यो। केही महिनाको त्यो अघोषित सम्बन्धको समाधान गर्न चार वर्ष लागिसकेको थियो। तैपनि माया अझै प्रगाढ हुँदै थियो।
यस अन्तरालमा कयौँ प्रेम प्रस्ताव नआएका होइनन्, धेरै आए तर मेरो लागि प्रेम नै उनी र मात्र उनी थिइन्। सायद उनको नजरमा मेरो कुनै अस्तित्व थिएन तर उनी नै मेरो अस्तित्व बनेकी थिइन्। मेरो यो गुपचुप रहस्य कसैलाई थाहा नभएर मलाई सहज र असहज दुवै भएको थियो।
स्नातक सक्काएर म मेरो उच्च शिक्षाको लागि विदेश गएँ। त्यहाँ आफ्नो सम्पूर्ण शिक्षा सकिएपछि नेपाल फर्कँदासम्म मैले उनीसँग कयौँ प्रयास गर्दा पनि भेट त छोडौँ, आवाज पनि सुन्न पाएको थिइनँ।
नेपाल आएकै वर्ष मैले निजामती सेवा प्रवेश गरेँ। नेपालमा सरकारी जागिर भएपछि विवाहको लागि उत्तम वर-वधुको रुपमा लिइन्छ। त्यसैगरी मलाई पनि विवाहको चौतर्फी कुराहरू आउन थाले। चौतर्फी प्रयास टाल्न म सक्दो प्रयास गरेको थिएँ।
उमेर ढल्कियो भन्ने धेरै कुरा आएको थियो। तर मेरो मनमा उनको लागि बाहेक कसैको लागि ठाउँ थिएन। यी विवाहको कुराबाट टाढा भाग्न म अलि परभन्दा पनि मेरी उनको जन्मभूमि सरुवा हुने निर्णय गरेँ। काम त बाहना थियो, म उनको बारेमा जान्न जाँदै थिएँ।
उनी सबैबाट यसरी टाढा भइन् मानौँ संसारमै छैनन्। अब मैले उनको जन्म जिल्ला गएर हेर्दा साँच्चै उनले कुरा गरेको भन्दा राम्रो रहेछ। त्यो गुल्मीको बेसी, चुचुराहरू, त्यो उनले श्वास लिएको हावा, आहा कत्ति राम्रो। तर मनमा एउटै कुरा थियो- उनी कहाँ छिन?
समय बित्दै थियो। म मेरो काममा व्यस्त थिएँ। एकदिन कार्यालय समयको पहिलो सत्रमै मेरो कानमा एउटा आवाज पर्यो। त्यो आवाज म कसरी झुक्किन सक्छु? मेरो मनको आवाज, त्यो गुन्जिरहने आवाज।
मैले मेरो कार्यालय सहयोगी भाइलाई बोलाएर ‘ती को हुन्? किन कराउँदै छिन्? भित्र पठाइदेऊ’ भनेँ।
भाइले पनि त्यहाँ गएर नकराउन भन्दै भित्र सरले बोलाउनु भएको छ भन्यो। आवाज मात्र होइन, उनको त्यो मलिन अनुहारको दर्शन भयो। मेरो आँखाबाट आँसु आउन थाले। मैले हत्तपत्त ती आँसु रोकेँ र उनको प्रतीक्षा गरेँ। यो प्रतीक्षा पनि अझ कठिन बन्यो।
काखीमा सानो बच्चा बोकेर उनी भित्र प्रवेश गरिन्। उनका ती ओठ कलेटी परेका रहेछन्। कपालको के कुरा गर्नु, धेरै दिनदेखि नकोरेको जस्तो थियो। आँखामा आँसुका धर्का थिए अनि मनभरि त्रास र रिस।
उनीसँग यसरी भेट होला सोचेको थिइनँ। उनको सबै कुरा सुनेँ, गहभरि आँसु भए। उनले मलाई चिनिनन् तर मैले उनलाई बिर्सेकै कहाँ थिएँ र? मैले चिनाउन पनि जरुरी ठानिनँ।
उनको स्नातक सक्किने बित्तिकै भागी विवाह भएको रहेछ। सुरुका दिनहरू राम्रा थिए रे। पहिलो सन्तानको रुपमा लक्ष्मीको आगमन भएछ। त्यसपछि सम्बन्ध बिग्रन थालेछ। उनको श्रीमान कुलतमा लागेर जाँडरक्सी र जुँवाको पारखी भएछन्। घरमा दिनदिनै उनको शरीरले त्यो छालाको बेल्टको प्रहार सहनु परेको रहेछ। बोलीले त के नै बाँकी राखेको रहेछ र!
मैले त्यसलाई त्यहाँ भेटेको भए मलाई कसैले रोक्न सक्ने थिएनन्, तर त्यो त्यहाँ थिएन। मैले मनमा ढुङ्गा राख्दै पूरै कुरा सुनेँ। आँखाबाट पक्कै आँसु झरेका थिए होलान्।
सबै कुरा सुनाइसकेपछि उनले प्रस्ताव राखिन्- मेरो यो मनको टुक्रा, यो छोरीलाई मेरो बुबाआमाको हात सुम्पिन पाए आनन्दले मर्ने थिएँ।
मैले उनलाई बुझाउँदै त्यसो नगर्न भनेँ। सहायक प्रमुख जिल्ला अधिकारीको हिसाबले मैले जिल्ला प्रहरीलाई ताकेता गर्दै त्यो दोषीलाई पक्राउ गरेर सोधपुछ गर्न आदेश दिँदै उनको आमाबुबालाई पर्सिपल्ट जिल्ला प्रशासन कार्यालय आउन सम्पर्क गरेँ।
त्यो रात र भोलिको शनिबार म ‘म’ थिइनँ। मेरो मन पूरै व्याकुल थियो। आइतबार आयो। जिल्ला प्रहरीबाट पनि त्यो कुकर्मी अपराधी भएको रिपोर्ट पेश भयो र जिल्ला अदालतमा मुद्दा चल्न आदेश आयो।
मैले मेरो वरिष्ठ वकिल साथीलाई त्यस कुकर्मीलाई हदैसम्मको सजाय दिलाउन भनेँ। तर मनमा कुरा अर्कै थियो। उनको त्यो अवस्था। आमाबुबा दुवै आउनु भयो। साथमा मेरी उनको भाइ पनि आएको रहेछ। चारै जना राखेर कुराकानी गरेँ।
उनले पनि विवाहपछि घरमा कुराकानी गरेकी रहिनछिन्। एक्कासी त्यस्तो अवस्थामा यतिका वर्षपछि छोरीलाई भेट्दा आमाबुबामा के भएको थियो होला! सबै कुरा गरिसकेपछि अब उनलाई घरै लैजाने निर्णय भयो र ती सानी नातिनीलाई आमाबुबाले पाल्ने निर्णय गर्नुभयो। त्यो दिन यति नै रह्यो। उहाँहरू घर जानुभयो।
अब मेरो मन भारी भएको थियो। मैले सबै कुरा केलाएर उनीसँग आफ्नो परिचय दिँदै विवाहको प्रस्ताव गर्ने निर्णय गरेँ। ती सानी नानीलाई आफ्नै सन्तानको माया दिने निर्णय गरेँ। भोलि प्रस्ताव लिएर जान्छु भन्दै त्यो दिन व्याकुलतामै बित्यो। भोलि के होला? भोलि के होला?