गाउँ ‘गाउँ’ जस्तै थियो ऊ बेलामा
ग ‘गाइने’, ग ‘गाउँले’, ग ‘गोरेटो’, ग ‘गाउँ’
पिपलबोटको चौतारीमा गाइने गुनगुनाउँदा
गोरेटो हिँड्ने गाउँले गाग्रो बिसाउँदै शीतलमा बस्थे
सारङ्गी रेट्दै गाइनेले सिङ्गो गाउँलाई गाउँ बनाइदिन्थे
जीवित गाउँ
गाउँमा सहर पस्यो या फेरि सहरिया पसे
गाउँले सहर पस्न थाले अनि गाउँ नै सहर पस्यो
गाउँलेहरू जो गोरेटोमा देखिन्थे, जो पँधेरोमा भेटिन्थे
उनै गाउँले राजमार्ग हुँदै सहर छिरे
चौतारी सुनसान भयो अनि गाउँले जङ्गल छिर्न छोडे
गाइबस्तु लखेटिए
सायद जङ्गल छिर्नेहरू सहर छिरे अनि खाली भयो गोठ
सँगै खाली हुँदै गयो गोरेटो, पँधेरो, दोबाटो
गाउँलेले जीवित राखेको गाउँले प्राण त्याग्नै लागेको छ
गाउँले साथ बिर्सियो
आश गर्ने बाटोमा अब झाडीहरू लागिसकेका छन्
अनि गोरेटो?
गोरेटोले दोबाटो भेट्न बिर्सिसक्यो।
अब गाउँमा प्राण भर्न गुहार माग्दै हिँड्ने बाटो छैन
गाउँ दोधारमा छ
गुहार मागौँ कि प्राण त्यागौँ?
गुहार मागौँ त कसलाई मागौँ?
गाउँले?
अहँ, गाउँले सहरिया भए
सहरिया गाउँलेले गाउँ बिर्सिए
ठाउँ बिर्सिए
गाउँको नाउँ बिर्सिए
गाउँलेले बिर्सिएको गाउँ आज गाउँ नै छ तर गाउँले?
गाउँले सहरिया भए।
जति गाउँले गाउँ बन्न सोचेको थियो
त्यति गाउँलेले गाउँ छोड्न सोचेको हुन्थ्यो त
आज गाउँ जीवित हुन्थ्यो
गाउँ हाँस्दै हुन्थ्यो
गाउँ रमाउदै हुन्थ्यो
गाउँले आज यो दुःखको कथा लेख्दै हुन्थेन
ऊ बेलाका गाउँले स्वयम् गाउँ थिए सायद
गाउँलेले बनाएका गाउँ आज गाउँलेले बिर्सिए
ऊ बेलाका गाउँलेले टुकीमा पढे
अहिलेका गाउँलेले बिजुलीमा पढे
गाउँमा बिजुली आएको हेरिरहे
चौतारीको स्कुल हाइस्कुल भएको हेरिरहे
जसै गाउँ उज्यालो भयो गाउँलेले सहरको बाटो देखे क्यारे
नयाँ गाउँलेले गाउँ बिर्सिए
स्कुलमा ढोका हालुन्जेल गाउँ जीवित थियो
खरको छाना फेरुन्जेल गाउँ जीवित थियो
घरका थामहरूले दिनरात नभनी दुःख गरेर
जब छाना फेरे तब घर खाली भयो
बार्दली एक्लियो, चुलो चिसियो
थाम ढल्न थाल्यो
न थाम फेर्न कोही आयो
न छानाले घर थेग्न सक्यो
अनि एउटा, दुइटा, तीन वटा घर रित्तिँदै गए
थामको पसिनाले घर बन्यो तर दैलो?
अहँ, तर दैलो पोतिएन।
आज गाउँ एक्लो छ
घरहरू सयौँ छन्
पँधेराहरू बटुवाको बाटो हेरिरहन्छन्
तर अब गोरेटो देखिँदैन
गाउँलेले गाउँ बिर्सँदै गए
गाउँ टाढा हुँदै गयो या गाउँले टाढा भए?
गाउँहरू हराउँदै गए
हराएको उजुरी दिने पनि कोही छैनन् अब
गाउँ हराउँदै छ
सहरले गाउँ भेटे पनि चिन्दैन अब
अनि सहरियाले गाउँ भेट्न सक्दैनन् अब
पसिना बगेको गाउँ अब कता-कता एकान्तमा हराइसक्यो
कुनै दिन सहरिया गाउँलेले गाउँ खोज्न चाहेमा
गाउँ भेट्न नसक्लान् अनि तिनका सन्ताले गाउँ देख्न नपाउलान्
फेरि गाउँको मन न हो, पग्लिहाल्छ
कुनै दिन भेट्न मन लागेमा जानू है सहरिया गाउँले
गाउँ पर्खिरहेछ उहीँ
बाजेले जोडेको खेत कुर्दै अनि बाले ठ्ड्याएको घर हेर्दै
गाउँ एक्लै छ
पर्खिरहेछ गाउँलेहरू फर्किने आशमा।
आज पनि गाउँ बाँच्न खोजिरहेछ
कहिले गाउँलेलाई सम्झिँदै त कहिले आफैंलाई
बाटो खोज्दै आएका बटुवालाई
जबर्जस्ती बास बसाउँछ आज गाउँले
घरी बार्दली उनीहरूलाई लोभ्याउँछ
घरी पर्खालले केटाकेटीलाई खेलाउँछ
विदेशी गाउँले बन्न खोजिरहन्छन्
तर गाउँले विदेशी...
गाउँलाई भेट्न टाढाबाट एक हुल आउँदैछन्
गाउँका आँखाले खोजिरहन्छन् उहीँ गाउँलेलाई
आँखा रसाइरहन्छन्
गुनासो गरिरहन्छ-
‘नानी, मेरा गाउँलेलाई भनिदिनु है?
म पर्खिरहेछु, अनि बाँचिरहेछु आशैआशमा।’