बाहिर रंगहरूको उत्सव छ, उमंग छ
तर जीवन त यता
श्यामश्वेत चलिरहेछ
रंगमञ्चमा प्रस्तुत भइरहेको रङहीन
नाटकको दृश्यजस्तै
हुन त मलाई जिन्दगी हर रङ
हर स्वादमा स्वीकार्य छ
तर मलाई यदि रोज्न लगाइयो भने
म श्यामश्वेत नै रोज्नेछु
किनकि रङहरूमा त विभेद जो छ
रातोले हरियोलाई हेप्छ
हरियोले पहेँलोलाई
तर श्यामश्वेत सधैँ समान
सधैँ एउटै, निरन्तर...
श्यामश्वेत र मेरो जीवनको परीभाषा पनि एउटै छ
आकाश र जूनजस्तै
एकबिना अर्को अपूरो
ठ्याक्कै तिमी र मजस्तै
सम्बन्ध पनि हाम्रो यस्तै नै रहिरहोस्
आकाश र जूनजस्तै
बिना अर्थ, बिना नाम
यो धर्ती र आकाश जस्तो नबनोस्
एक भएजस्तो भ्रम छर्न पनि क्षितिक्षहरूको सहारा लिनुपर्ने।