उहिल्यै-उहिल्यै विज्ञानको कक्षामा बा पढाउनुहुन्थ्यो-
‘सुन उच्च घनत्व भएको पहेँलो रङको धातु हो’
मलाई पनि लाग्थ्यो सुन केवल धातु हो
अरु धातुजस्तै विद्युतको राम्रो सुचालक हो
जसलाई पिटेर पातलो र तन्काएर लामो बनाउन सकिन्छ।
तर,
सायद बालाई ऊबेलै थाहा थियो
सुन छोरीको दाइजो हो
सुन दमको ओखती हो
सुन घरको लालपूर्जा निखन्न
सक्ने अलौकिक जिनिस हो
अनि सुन वर्गीयताको दुई किनारा
जोड्न सक्ने बलियो पुल पनि हो।
बालाई थाहा थियो- किन कोही
त्रिशुलीमा बालुवा चाल्न तम्तयार हुन्छ
थाहा थियो- सुन जोड्न नसकेकाहरुलाई
नुन जोड्न कति हाहाकार हुन्छ!
र त बा घाँटी सुकिन्जेल कराइरहनु हुन्थ्यो
दोहोर्याइ, तेहेर्याइ पढाइरहनु हुन्थ्यो
‘सुन उच्च घनत्व भएको पहेँलो रङको धातु हो।’