थुन्सेभरि जून बोकेर
वैशाख-जेठतिर
शीतल बाड्ने मेरी आमा
जब माघ कठ्याङ्ग्रिन्छ नि
काखभरि भर्भराउँदो आगो ल्याँउछिन्
र भन्छिन्- मेरो काख ताप्दै गर बाबु
बुवा छिट्टै घाम लिएर फिर्नुहुन्छ?
बुवा दुबई जानु भा हो आमा?
त्यहाँ त निकै तातो घाम पो हुन्छ रे नि?
हो बाबु!
त्यहाँको घाम कति धेरै तातो हुन्छ रे भने नि
सगरमाथा छैन रे त्यो देशमा
घामले पग्लिएर!
हो र आमा, बुवा कसरी बाँच्नुहुन्छ त त्यो देशमा?
जिउँदै त फिर्नु हुन्छ नि बुवा?
सगरमाथा भएको तेरो शीतल देशमा
मन मुटुभरि ज्वालामुखीहरू
बिस्फोटन भइरहन्छन् साँझ-बिहान
जिउँदै मृत्युहरू आउँछन्
अनि लान्छन् छोराछोरीहरूलाई
बुढी आमाहरूको आँखाभित्रबाट
ह्वाल-ह्वाल बगिरहन्छन् वेदनाको म्याग्माहरू
अनि तरुनी श्रीमतीको
सिउँदोबाट बगेको रातो लाभाहरूको
इज्जत र सपना पूरा गर्न
आफ्नै सपनाको मृत्युमा
सती गएका श्रीमानहरू
र आमाको चोर औंला समातेर
शिशुकक्षा पुगेका सन्तानहरूको
रहर पूरा गर्न
एक चपरी पुर्ख्यौली माटो
बैंकको चर्को ब्याजमा धितो राखी
आफ्नै देशको परित्याग गर्दा
मुटुमा गाडिएको पीडाजस्तै
पोल्ने अनि
पोलिरहने छैन बाबु
त्यो देशको घाम।
त्यो देशको घाम त
प्रिय छ बाबु!
जसले तेरो रित्तो कापीहरूमा
सुनौलो अक्षरहरू भर्छन्
तेरो रित्तो निधारहरूमा
उज्यालो भविष्यहरू कोर्छन्
तेरो बुवा नआए पनि
नयाँ नाना बनेर आउँछ दसैँमा
त्यो देशको घाम
यसैले त बाबु
भतभती पोल्ने त्यो घामले
तेरो बुवाको शरीर
रातो बाकसमा आए पनि
तँभित्र बाँचिरहनेछन् तेरो बुवा
जिउँदै रहनेछन् तेरो सगरमाथा।