हे आमा नेपाल, तराई हिमाल, रोएको कति भो
ऐंठन रोदन, वेदना तिम्ले, सहेको कति भो!
ए मातृभूमि, लत्याई तिम्लाई, किन जाऊँ परदेश
बसेर कति, म हेरूँ तिम्रो, दुर्दशा अशेष!
जे गरे पनि, हार्ने त रैती, झोपडी मर्दैछन्
सिन्को नभाँच्ने, भ्रष्टले जिती, अट्टहास गर्दैछन्!
नेताज्यू पाउ मोलेमा यहाँ अपराध माफी छ
बाँकीलाई चिसो चुल्हो बेरोजगार, अन्याय काफी छ!
खै के बनाए? नेता गन्हाए, ‘लाजनीति’ जमात
नातालाई मोज, कृपाको भोज, नाङ्गो छ उत्पात!
उद्योग धन्दा, भएका सके, बन्दैन बाटो रेल
कुर्सीको खेती, लुछाचुँडी छ, कस्तो यो सत्ताखेल
चाकडी गरे भर्यांङ चढ्छ, योग्य चाहिँ धुलिसात
शक्तिलाई चैन, सोझालाई ऐन, रैतीको खाली हात!
सक्नेले लुट्छ, लुटिने मर्छ, हजारौं राजा छन्
क्रान्ति भनेको, भ्रान्तिको घाउ, मनग्गे ताजा छन्!
म मूर्ख रैती, जनता बनिनँ, नागरिक कैले खै?
यो भीडतन्त्र, सहन्छन् रैती, खुर्सानी धुलो झैं !
जीर्ण ओरालो, लागेको ठाउँमा, भाषणको बाढी छ
युवा भनेका कि ‘नेता-भक्त’, कि बाँच्न खाडी छ!
सा’बको अफिसमा, जनताको काम, महिना झुल्दछ
यो कालो बादल र हाम्रो ढक्कन, कहिले खुल्दछ!
चाहे गुहार, रोऊ कराऊ, मालिक-मन बाङ्गो छ
माथिको आदेश, कुर्सीको भीड, निर्लज्ज नाङ्गो छ!
हे आमा नेपाल! प्रकृति राम्री, म छोरो बनिनँ
तिम्रो त्यो सपना साकार पार्न, मैले नि सकिनँ!
के गरूँ मैले, हे आमा नेपाल, के गरूँ भन त
कुर्सीले तीर, तिमीलाई रोपे, के गरूँ भन त ?!