बिहानीको प्रकाशका किरणसँगै उठेर तातो चियाको चुस्की लिई सहरको यात्राको लागि तयार भएँ। गाउँका भिरपाखा र गल्छेडाहरू पार गर्दै पैदल यात्रालाई तीव्रता दिँदै गएँ। सधैँ मानिसका लर्कोले स्वागत गर्ने गाउँ अचेल सुनसान भएछ।
अनेकौं बाध्यताले गर्दा कोही गाउँलाई चटक्कै भुली सहर पसेछन्, कोही मुग्लान भासिएछन्। बिहानै घन्ट र शंखको धुनले बिउँझाउने साइँला काका त ओछ्यानमै परेछन्। कठै! रेखदेख गर्ने कोही छैनन्। काकीका हातपाउ पनि सुरैले चल्दैनन्।
छोरा मुग्लान भाँसिएको पनि वर्षौं भइसक्यो, फोनमा बोली सुनेको भर मात्र छ। बा-आमालाई राम्रो घर बनाएर राख्दिन्छु भन्ने साइँला काकाको छोराको सपना पनि सपनै हुन्छ जस्तो छ। यस्तै अनेकौं गन्थनमन्थनलाई मनमै गाँठो पारेर छिट्टै फर्कनेछु भन्ने अठोट गरी झरेँ बेसीतिर।
बेसीका तातो घामलाई स्पर्श गर्दै गन्तव्यमा पुग्ने व्यग्र आकांक्षाले बेसीका फाँटहरू हुँदै अघि बढेँ। कतै समथर थली र कतै स-साना गह्राले सुशोभित भएका फाँटहरू देख्दै मनमोहक देखिन्थे। धानका बालाहरू लहलह झुलेका, तोरीका फूलमा भमराहरूको गोलो घुमिरहेको, देख्दै स्वर्गमा आएको अनुभूति हुन्थ्यो।
फाँटका तिनै अविस्मरणीय क्षणलाई बिट मार्दै बेसी गाउँको बस स्टेसनमा आइपुगेँ। बसहरू यात्रुको पर्खाइमा कुरिरहेका थिए। सपनाका पोकाहरू बोकेर गाउँलेहरू बजार झर्ने मेसो कसी बसेका थिए।
म पनि एउटा बसमा चढेर अन्तिमभन्दा अघिल्लो सिटमा बसेँ। केहीबेरमा बसले पनि धुवाँ छुटाउँदै त्यहाँबाट रफ्तार लियो। बेसीका फाँट, जङ्गल, खोलानाला हुँदै बिसाउँदै नबिसाई गन्तव्यका लागि हिँडिरह्यो।
बाहिर हेर्ने क्रममा मेरो नजर सिटको चेपमा रहेको एउटा खाममा पर्यो। सिटको चेपमा एउटा खाम च्यापिएको रहेछ। कसको रहेछ त्यो बेवारिसे खाम? बस्न त सुरुवातदेखि नै म नै यहाँ बसिरहेको छु, मनमनै सोचेँ।
एउटा मनले त्यो खाम नहेर् भन्दै थियो भने अर्को मनले हेर्नैपर्यो, मैले नहेरे पनि अरुले हेरिहाल्छन् भन्ने लाग्यो।
खाम उठाएँ, त्यसको बाहिर जानी-नजानी कोरिएका चित्रहरू थिए जसले प्रेमका भावहरूलाई झल्काइरहेको थियो। खाम बडो अचम्मको थियो। के रहेछ भन्ने मनमा खुलदुली चलिरह्यो। यत्तिकैमा मैले खाम खोलेर हेरेँ।
त्यहाँ त चारैतिर बुट्टा भरिएको एउटा अनौठो चिठी थियो। मैले आफ्नो कौतूहलतालाई लगाम लगाउनै सकिनँ र चिठी पढ्न थालेँ। चिठीमा यस्ता शब्द र भावहरू उल्लेख गरिएको रहेछ-
प्रिय मायालु,
मिठो माया र सम्झना।
कुन शब्दले सम्बोधन गरौं र कुन हैसियतमा चिठी लेखौँ? मसँग तिमीलाई सम्बोधन गर्न सकिने त्यस्तो अमर शब्दहरू छैनन्। मेरो चोखो मायालाई साक्षी राखी तिमीलाई यो पत्र लेख्दैछु। तिमीलाई पहिलोपटक देख्दा नै मनमा आएका भावहरू आजसम्म प्रस्तुत गर्न सकेको थिइनँ। मैले यो चिठी लेखेर गल्ती गरेको भए माफी गरिदेऊ।
एकबिहानै आकाशका गल्लीहरूवाट निस्केका प्रकाशका थोरै किरणहरू पनि डाँडाको पारि परेको देख्दा कस्तो आनन्दको अनुभूति हुन्छ है? हो, त्यस्तै तिम्रो नामको कल्पनाले मात्रै पनि मेरो मनलाई आनन्दित तुल्याउँछ।
तिमीलाई भेट्दा संसार जितेजस्तै लाग्छ अनि छुटिँदा सबै लुटिएजस्तै रित्तो-रित्तो लाग्छ। सायद तिमीबिना म अधुरो पो छु कि? कहिलेकाहीँ मनलाई प्रश्न गर्छु। तिमीबिनाको मलाई सोच्दा पनि किन-किन मन आफैं आत्तिन्छ। ढुकढुकी बढ्न थाल्छ। सायद यही हो माया, सायद यही हो प्रेम।
तिमी र म एकै रथका दुई पाङ्ग्रा बनी गन्तव्यलाई पूरा गर्न सके थाकेको अनुभव नि हुँदैन होला है? तर तिमीलाई के भनुँ, तिमी त हजारौँ अप्सराहरूको भन्दा दिव्य देह, मृगनयनी आँखा, कोहिलीको जस्तो स्वर र बाघको जस्तो कम्मर भएकी छौ।
तिमीले त मभन्दा राम्रो, सुन्दर अनि सर्वसम्पन्न केटा पाउँछौ। मलाई थाहा छ मजस्तोलाई तिमीले हेर्न, देख्न र बोल्न पनि रुचाउँदैनौ। तर मैले तिम्रो बाह्य सुन्दरताको लागि मात्रै प्रेम गरेको हैन, म त तिमीभित्र आफूलाई पाउँछु।
तिम्रो सोझोपन, संस्कार र संघर्षले मलाई तिमीतर्फ आकर्षित गरेका हुन्। भोलि कुनै दिन तिम्रो बाहिरी सुन्दरतामा अरुको आँखा लागेछ भने पनि म तिमीलाई अपनाउने छु। किनकि ममा तिमीप्रति अथाह प्रेम छ जसलाई फगत बाहिरी रुपको मखुन्डोले छेक्न सक्दैन।
तिमी गाउँमा हुर्किए पनि सुखसहेलसँग जिएकी छौ। तिमीलाई सम्पत्तिले ढाक्न नसके पनि मायाको न्यानो स्पर्शले सधैँ ढाकिरहने छु। तिमीलाई थाहा छ, तिमीलाई पहिलो पटक पल्लाघरे दाइको बिहेमा देख्दादेखि नै मनले आफ्नै ठानेको थियो।
तिम्रा दुःख सबै लिलाम गरेर ती ओठमा मुस्कानको वर्षा गराउनु थियो। त्यस दिन तिमीलाई देखेदेखि रातको चैन सबै उडेरै गएको थियो। कहिले भेट होला र तिमीसँग प्रेमिल वार्तालाप गरौँला भनेर मन आत्तिरहेको थियो।
तिमी बेलामौकामा चाडपर्वमा गाउँ आइरहन्थ्यौ। तर तिमीसँग बोल्न मेरो हुतीले भ्याएको थिएन। अर्कोचोटि पक्कै बोल्छु भनेर साच्दासाच्दै कयौं दिन, महिना र वर्ष बिते पत्तै भएन।
तिमीलाई भन्नैपर्छ, तिम्रो हाँसोलाई मैले यी मनका भित्ताहरूमा सजाएर राखिसकेको छु। अब कसैले त्यस हाँसोलाई मनमा कैद गर्न खोजे पनि कपिराइट लगाएर आफूसँग मात्र हुनदिनेछु। तिम्रो नम्र बोली-वचन, ठूलालाई गर्ने सम्मान, सानालाई माया र प्रेमले तिम्रो चरित्रको बयान गरिरहेका थिए।
तिमी जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दुःखलाई लुकाएर दुनियाँको लागि खुसीको पात्र बनिदिन्छौ। साँच्चै तिमी दैवले सिर्जना गरेको अनुपम उपहार हुनुपर्छ। जसलाई मैले पाएँ भने स्वर्ग यहीँ प्राप्त गरेसरह हुनेछ। अब तिमी र म मिलेर प्रेमको एक नयाँ अध्याय कोर्नुपर्छ प्रिय।
तिमी मेरो सुखदुःखको सारथी बन, म तिम्रो खुसीको कारण बन्नेछु। अनेकौं कष्ट र ठक्करहरूमा पनि तिम्रो साथ बराबर मलाई केही हुनेछैन। तिमीले म खडा हुन्छु तिमीसँगै, तिमी गर मेहनत भनेर त हेर तिम्रो लागि जून-तारा एक गरिदिन्छु। मलाई बस् तिम्रो साथको खाँचो छ।
मेरो मनका भाव गाँसिएको यस चिठीलाई अर्कोपटक तिमी गाउँ आउँदा अवश्य दिनेछु। यस चिठीको प्रतिउत्तर अवश्य सकारात्मक आउने आशा बोकेको छु। यदि गल्ती भए माफ गरिदेऊ ल!
उही प्रेमको प्यासी
......................
चिठीका यी बातहरूलाई सुन्दा लागिरहेछ, यसले एउटा असल प्रेमको जोडीलाई मिलाउँदै थियो। चिठीले त बाटो मोडेछ तर उसको प्रेमले कहिल्यै बाटो नमोडोस् भनि प्रार्थना गरेँ।
उसको त्यो चिठीलाई आफूसँगै राखी मनमा अनेकौं तर्कहरूसँग जुध्न थालेँ। त्यत्तिकैमा बस टक्क रोकियो। चिठी र म दुवै बीचमा अलपत्र भयौँ।