२०७४ साल जेठ/असार महिनाको कुरा हो। गाउँघरमा हरियाली रुखबुट्टा, डाँडाकाँडा, छङछङी बग्ने खोलानाला अनि चिरबिर-चिरबिर गर्दै चराचुरुङ्गी कराएको मनमोहक वातावरण थियो।
म एक बिहान उठेर आफ्नो दाइको छोरीको विवाह समारोहमा जान तयार हुँदै थिएँ। त्यसबेला मलाई कता-कता रमाइलो त कता-कता दिक्क लागिरहेको थियो। मेरो घरदेखि लगभग एक घण्टाको दूरीमा रहेको मेरो दाइको छोरीको बिहेमा जान खोलानाला र सानाो जंगल पार गर्दै जानु पर्थ्यो।
बिहे घरमा पनि पुगियो। त्यहाँ धेरै मानिसहरूको जमघट थियो। पुगेको केही समयपछि एउटी राम्री युवतीमा मेरो आँखा पुग्यो। जसलाई देखेर मेरा मनमा धेरै कुराहरू खेल्न थाले। यतिसम्म कि मैले दिउँसै उनीसँग बिहे गरेर आफ्नो जिन्दगी बिताएको समेत सोच्न भ्याइसकेको थिएँ।
विडम्बना! उनी मेरो लागि अपरिचित थिइन्। न म उनीसँग गएर कुरा गर्न सक्थेँ, न त कसैलाई उसको बारेमा सोध्न नै सक्थेँ। मात्रै उनलाई हेरेर बस्न सक्थेँ। म यतिमा मात्रै सीमित रहिनँ, मैले कसैले थाहा नपाउने गरी उनको केही तस्बिर समेत मोबाइलमा कैद गर्न भ्याइसकेको थिएँ।
मेरो मनभित्र धेरै कुराहरू खेल्ने क्रममा कुनै कमी आएको थिएन। यत्तिकैमा बेहुलीकी बहिनी अर्थात् मेरी भतिजीको मोबाइल हरायो। ‘कसैले कल गरिदिनु न कहाँ रहेछ, मलाई फेला पार्न सजिलो हुन्छ’ भनेर भतिजीले आफ्नो मोबाइल नम्बर भनेको सुनेँ।
मेरो भतिजी भए पनि उनले मलाई चिनेकी थिइनन्। मैले उनलाई बेहुलीकी बहिनी भएकोले सजिलै चिन्न सक्थेँ। घर केही टाढा भएकोले गर्दा हामीबीच आवतजावत एकदम कम हुने र केही समयदेखि म वैदेशिक रोजगारीमा भएकोले गर्दा पनि उनले नचिन्नु स्वभाविक थियो।
उनले आफ्नो नम्बर भनेपछि मैले पनि मेरो मोबाइलमा सेभ गरेँ। कसैले उसको नम्बरमा फोन गर्यो र मोबाइल पनि फेला पारिन्। यति बेलासम्म बेहुली अन्माउने बेला भइसकेको थियो। बेहुली अन्मिएको केही समयपछि बिहेमा आएका पाहुनाहरू पनि विस्तारै आफ्नो घर फर्कने तयारीमा लागे।
उनी पनि आफ्नो घरतिर लागिन्।उनको र बिहे घर नजिकै रहेछ, पछि आएर थाहा भयो। म पनि आफ्नो घर फर्किएँ। बाटोभरि त्यही बिहेमा देखेकी युवतीको तस्बिर मेरा आँखामा आइरहे। यी सबै कुराहरू मैले घरमा पुगेर मेरो साथीलाई सुनाउनु थियो।
साथी र म हामी दिउँसो जता गए पनि बेलुकी प्रायः सँगै हुन्थ्यौँ। त्यो रात पनि हामी सँगै बस्यौँ र मैले मेरो त्यो दिनको बारेमा सबै सुनाएँ। हामीलाई उनको बारेमा जान्नु नै थियो। त्यो रात हामी यस्तै कुराहरू गर्दै केही योजनाहरू बनाएर सुत्यौँ।
भोलिपल्ट हामी भूकम्पले तहसनहस बनाएको घरहरूको पुनर्निर्माण गर्दै थियौं। ती राम्री युवतीको फोन नम्बर पत्ता लगाउनै पर्ने थियो। मैले एकदिन भतिजीलाई फोन गरेँ र चिनजान गरेँ। त्यसको केही दिनपछि मैले मेरो साथीलाई मेरो भतिजीको नम्बर दिएर फोन गरी नम्बर मागिदिन अनुरोध गरेँ।
साथीले मेरो अनुरोधअनुसार ती युवतीको नम्बर माग्यो तर भतिजीले दिन अस्वीकार गरिछिन्। तर पनि मेरो साथीले धेरै पटक प्रयास गरेको भएर उनीले नम्बर दिन्छु तर मेरा केही सर्तहरू छन् भनेर आफ्ना सर्तहरू सुनाइछन्।
ती सर्तमा मन्जुर भएर नम्बर लिनसाथ साथीले तिम्रो लागि खुसीको खबर छ भनेर मलाई सन्देश पठायो। मैले सजिलै अड्कल गर्न सकेँ, उसैको नम्बर थाहा भयो भनेर। मैले त्यसको केही दिनपछि उनलाई फोन गरेँ र केही कुराहरू गरेँ। तर उनले खासै कुरा गर्न मन गरिनन् र फोन काटिन्।
यस्तै-यस्तै गर्दा पनि मैले दैनिक फोन गर्दै कुरा गर्दै गएँ। उनी राम्रो गीत गाउन सक्ने भएकोले मैले उनलाई धेरैजसो गीत गाउन कर गर्थें। उनले गीत गाउन लगाउँदा सहज मान्थिन् र कुरा पनि गर्थिन्। मलाई गीत सुनाउँथिन्। हामी यतिबेलासम्म धेरै नजिक भइसकेको थियौँ।
यदि मैले एकदिन फोन, म्यासेज गरिनँ भने उतैबाट फोन म्यासेज आउँथ्यो। ‘कता बेपत्ता हो निष्ठुरी मान्छे...’ यस्तै धेरै कुराहरू भनेर म्यासेज आउँदा मलाई धेरै खुसी लाग्थ्यो। मेरो पनि खोजी गर्ने कोही छ जस्तो लाग्न थालेको थियो। उनी त झन् मैले मन पराएको अनि यतिबेलासम्म आउँदा माया गरेको मान्छे।
मलाई उनको यस्तो व्यवहार देखेर धेरै खुसी मिल्थ्यो। खुसीले मेरो मन भुक्क परेर फुल्थ्यो। हाम्रो दिनहरू यसरी नै बित्दै थियो। कुरा हुन थालेको लगभग एक वर्ष पुग नपुग भएको थियो। मैले उनलाई प्रेम प्रस्ताव राखेँ।
मैले उनीसँग विवाह समेत गर्ने सपना देखिसकेको थिएँ। मेरो उमेर पनि पुगिसकेको भएर घरमा सधैंजसो बिहे गर्नुपर्छ भनेर दबाब आउँथ्यो। मैले मेरो कोही छ उसैसँग बिहे गर्छु भन्दै उसैको आशमा बसेको थिएँ।
उनले मेरो अरु कोही छ भनेर त्यतिबेला भनिन्। मलाई लाग्यो कि उनले झुट बोलिन्। उनले यति भन्दाभन्दै पनि मैले फोन, म्यासेज गर्न छोडेको थिइनँ। यदि मैले फोन म्यासेज गरिनँ भने पनि उतैबाट आउँथ्यो।
फोन, म्यासेजमा ‘नक्कले, काले’ जस्ता शब्द जुन शब्दले मेरो मनमा धेरै खुसी मिल्थ्यो। प्रेम प्रस्ताव राखेको केही समयपछि उनीले धेरै कुराहरूको व्याख्या गर्दै धेरै कुराहरूमा सर्त राखिन्। मलाई जसरी नि उनीसँग जिन्दगी कटाउनु र जिन्दगीभर सधैँ उनको हात समातेर हिँड्न मन थियो।
मैले उनका हरेक प्रस्तावलाई मेरो यथार्थमा राख्दै उत्तर दिँदै उनको परीक्षामा पास भएँ। हाम्रो सम्बन्ध अघि बढ्दै गयो। उनले मलाई भनिसकेकी थिइन्, पाँच वर्ष कुर्नुपर्छ बिहे गर्नको लागि भनेर। मलाई भने घरबाट दैनिक दबाब आउँथ्यो तर नि मैले त्यही उत्तर दिने गर्थें- पाँच वर्षपछि बिहे गर्छु।
घरमा बुबाआमा मसँग दुखी हुनुहुन्थ्यो, मैले प्रष्ट उहाँहरूको मुहारमा देख्थेँ। तर के गर्ने, मैले पाँच वर्ष उनलाई कुर्ने वाचा गरिसकेको थिएँ। मेरो लागि पाँच वर्ष केही थिएन। भनेको भए दश वर्ष नै कुर्न तयार थिएँ।
हाम्रा दिनहरू सुखदुःखका कुराहरू गर्दै बित्ने गर्थे। दुवैजना गाउँमा नै बस्ने भएर दैनिकजसो गाईबाख्रा चराउन जाने गर्थ्यौं। उनको घर पारि र मेरो घर वारि भएकाले हामीले एकअर्कालाई सजिलैसँग देख्न सकिँदैन थियो।
उनले फोन गरेर म यहाँ छु हेर्नू त भनेपछि मैले उनलाई देख्थेँ। हामी फोनमा कुरा गर्दै वारिपारि हेराहेर गर्थ्यौं। कहिलेकसो उनी उताबाट गीत गाउने र म यता नाच्ने गर्थें। फोनमा बोल्दै यसो गर्दा साह्रै रमाइलो लाग्थ्यो। हामी सधैंजसो सँगै भएको अनुभूति गर्थ्यौं।
२०७५ सालको जेठ महिनामा हाम्रो गाउँमा गाउँपालिकाको बजेटमा वडास्तरीय भलिबल, सांस्कृतिक कार्यक्रम, र उमाकुण्ड गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि भनेर इतिहासकै पहिलो पटक प्याराग्लाइडिङ उडान गराउने कार्यक्रम थियो। जहाँ हाम्रो पहिलो भेट हुने समय थियो।
म त्यो दिन कुरेर बसेको थिएँ। नभन्दै उनी त्यहाँ कार्यक्रम हेर्न भनेर आइन्। मलाई लाग्यो कि खुसीहरू देख्न मात्र हैन भेट्न नि पाइँदो रहेछ। उनलाई देखेपछि मेरो ध्यान मात्रै उनीमा थियो। मैले सोचेको थिएँ उनलाई यो बेला यति धेरै मानिसको अगाडि गीत गाउन लगाउने।
कार्यक्रम संचालक मेरो साथी भएकोले मलाई झन धेरै सहज भयो। उसको लागि गीत गाउने वातावरण बनाउन मैले साथीलाई भनेँ। उसले सहजै त्यो वातावरण मिलायो। तर उनले गीत नगाउने भनेर भनिन्। केही करकाप पनि गरेँ तर पनि उनी तयार भइनन्।
उसले अस्वीकार त गरेकी हैनन् तर धेरै मानिसको बाहुल्यता भएको र उसले गीतको तयार नगरेकोले गाउन सकिनन्। यति बेलासम्म दिनको समय बित्न लागिसकेको थियो। हामी खाजा खाएर केही तस्वीरहरू खिच्यौँ। त्यसको केही समयपछि हामी छुट्टियौं र आआफ्नो घरतिर लाग्यौं।
हाम्रो सम्बन्ध झन् मजबुत हुँदै गयो। हामी एकअर्कालाई धेरै विश्वास गर्न लाग्यौं। तर विडम्बना! यस्तो दिन आयो कि उनी मसँग टाढा हुँदै जान थालिन्। मलाई थाहा छैन उनी के कारण मदेखि टाढा भइन्, किन टाढा भइन् एकाएक?
'तिमी मेरो सबैथोक हो, म मात्र तिम्रो हो, पाँच वर्षपछि हामी बिहे गरेर सुखमय जीवन बिताउने' भनेर आश्वासन दिएकी थिइन्।
मैले उनको सपना नै मेरो सफलता हो भनेर हौसला दिने गर्थें। उनलाई जसरी नि गायिका बन्नु थियो। त्यसैको लागि उनले मलाई पाँच वर्षको समय दिएकी थिइन्। तर मेरो एकदिन उनले मेरो कारण देखाउँदै उसको सपना पूरा नहुने कुरा बताइन्।
हामी सधैंजसो कुरा गर्दा 'मेरो जीवनको महत्त्वपूर्ण कुरा भनेको बुबा-आमा, संगीत अनि हजुर' भन्ने उनी परिवर्तन भइन्। जब उनी संगीत सिक्न भनेर काठमाडौं आइन् र संगीत सिक्न थालिन्, तब उनले मेरो कारण देखाउँदै उनको जीवनमा म हुँदा/नहुँदा केही फरक नहुने बताइन्।
उनको जीवनमा म नसुहाउने भएँ। कुनै बेला हजुरको साथ बिनाको जिन्दगी सोच्न पनि सक्दिनँ भन्ने उनी एकाएक मबाट अलग्गिन्। जब उसले संगीत सिक्न सुरु गरिन् तब उनले भनिन्- तिमी मेरो लायक रहेनौ। म मेरो बाटो लाग्छु, तिमी तिम्रो बाटो लाग।
उनको अन्तिम सन्देश मेरो लागि नै यही थियो। यति बेलासम्म हाम्रो प्रेम सम्बन्ध चार वर्ष पुगिसकेको थियो। जसलाई मेरो जिन्दगी सम्झेको थिएँ, लाखौं बिन्ती गरेँ अन्ततः मेरो हार नै भयो।
उनले मलाई सबैबाट ब्लक गरेर सम्पर्क विहीन भइन्। मेरो मन टुट्यो, दिनदिनै मेरो हालत खराब हुँदै गयो। कयौं दिन बन्द कोठामै बिताएँ। माया नै सबथोक सम्झिने म त्यही मायाले जिन्दगीमा नबिर्सने चोट दियो।
मेरो घरमा बुबाआमाको खुसी खोसियो। उनैका लागि समय बर्बाद पारियो। मनभरि चोट र बेदना बोकेर हाल बिरानो मुलुकमा ती अतीतका दिन सम्झेर रगत र पसिना बगाउँदै छु। जुन कुरा चाहेर नि बिर्सन सकिँदैन रहेछ।