झरी परेको रात अदाले निकै टाउको दुखेपछि
अदा फुक्नलाई मेरी आमाले लागेको
त्यो सुपाडीको खलियान
खलियानमा घोप्टिएको डोको
डोकामा बेरिएको बुट्टे नाम्लो
खुर्पेटामा भरिएको बुट्टा
सुपाडीका बुट्टेदार खुट्टा देखेपछि मात्र मैले चिनेको हुँ सुपाडीलाई।
बाजोका काँडाले सुपाडीका हातमा कोपेपछि
बगेको उसको सपना
सन्तानको रहर
कोसौं टाढाबाट डाँठ बोकेरै भए पनि
गोठभरि बस्तुभाउ पालेर जीवन जीउने कहरले
उसको उमेर बढ्दै गयो
तर पनि उ झन्-झन् जवान बन्दै गयो।
बस्तुभाउका कानले उसको आवाज
हातले स्पर्श गरेपछि मात्रै झर्थे ताराहरू
अनि प्रारम्भ हुन्थ्यो
बस्तुभाउका आँखामा सुपाडीको दर्शन।
बस्तुभाउ पालेर गुजारा चलाउने सुपाडीको दर्शन
र सुपाडीको दर्शनले बाँच्ने चौपाया
हेर्दा लाग्थ्यो
चौपाया दाम्लाले बाँधिएका छन्
र सुपारी पौरखले
त्यसैले उसको दर्शन र बस्तुभाउको दर्शन उस्तै पनि हो।
जब उसले चौपायाको राष्ट्रिय गान सुन्थ्यो
तब सुरु हुन्थ्यो उसको भागदौड
तर उसको भागदौडलाई
न त बर्सादले रोक्यो
न त रोक्यो वसन्तले।
समयले उसलाई
न त सुस्त हिँड्न सिकायो
न त सिकायो समयसँगै सुस्ताउन नै
यसरी दौडिँदा पनि उसको ताप कहिल्यै रोकिएन
न त कहिल्यै रोकियो उसको पहिचान, संघर्ष र बलिदान।
त्यसैले पनि गाउँले सुपाडीलाई
पहाड, पसिना, पर्खाल, निर्मल पानी भन्थे
गाउँ र गोठमा बनाएको उसको दर्शन सबैले मान्थे।
यसरी ऊ बाँच्दा धेरैथोक बाँचे
बाँचे उसका सपना, रहर, बिहानी र जवानी।
आज एकाबिहानै चौपाया ट्वाल्ल सुपाडीलाई हेर्दैछन्
उसको स्पर्श कुर्दैछन्
उज्यालोको प्रकाश ऊमाथि पोखिँदै छ
बाजोमा बतास जोडले चलेको छ
अदाका बिरामी उसलाई सम्झिँदै छन्
आज राष्ट्रिय गान बजेको छ
सधैं राष्ट्रिय गानमा दौडिने सुपाडी आज रोकिएको छ
किनकि आज सुपाडी मलखादमा मरेको छ।