'पापा! क्यान यु टेल मि अ न्यू स्टोरी?'
अङ्ग्रेजी बोल्न रुचाउने एक कक्षामा पढ्दै गरेकी मेरी छोरीले मलाई कथाका लागि अनुरोध गरिन्।
मैले ‘नो, तिमी नै सुनाऊ न त' भनेँ।
छोरीले फेरि प्रश्न गर्दै तपाईंलाई कुन कथा मनपर्छ भनेर सोधिन्।
मैले छोरीको लागि भर्खर बजारबाट ल्याइदिएको 'मोरल स्टोरिज' नामको स्टोरी बुकमा रहेको 'द गुज द्याट लेड गोल्डेन एग्स' भन्ने कथा सुनाउन भनेँ।
छोरी ओकेई भन्दै कथा सुनाउन तयार भइन् र आफ्नो कथाको पुस्तक खोल्दै कथा वाचन गर्न थालिन्।
लामो समय भइसकेको थियो बालबालिकामा नैतिक चरित्र निर्माणमा महत्त्वपूर्ण हुने यस्ता नीति कथा सुन्न नपाएको।
आफूले पढ्ने बेलामा निम्न माध्यमिक तहमा समाहित यस्ता नैतिक मूल्यमान्यतामा आधारित कथाहरू भाका हाली-हाली घरको बार्दलीमा आएर ठूलो स्वरमा पढ्दा कम्ता आनन्द आउँदैन थियो।
पछि यस्ता कथा समाहित भएका नैतिक शिक्षा र विश्वको सबैभन्दा समृद्ध भाषा संस्कृत भाषा शिक्षा विषयलाई नीतिकर्ताले बुर्जुवा र पुरातन शिक्षाका नाममा पाठ्यक्रमबाट हटाइदिएको थाहा पाउँदा कम्ती मन दुखेको थिएन।
छोरी यता कथा भन्दै थिइन्, उता म भने आफ्नो बाल्यकालको स्मृतिमा पुगिसकेको थिएँ। मीनपचासको जाडो बिदामा दिनभर जंगलमा झिझा बटुल्दै बेलुकाको कथा सुन्ने वातावरणको प्रबन्धमा बित्ने हाम्रो जिन्दगी बेलुका गाउँभरिका केटाकेटी भेला भएर पालैपालो आफ्ना पढ्ने पुस्तकमा भएका तथा अन्य लोक कथा सुनाउने गर्दथ्यौं।
अधिकांश साथीहरू पूरै कथा सम्झन नसक्ने कारण कथाको मज्जा नै बिग्रन्थ्यो र हरेक रात पूरा कथा सुनाउने जिम्मा मेरो नै हुन्थ्यो।
मेरा कथा भने धेरैजसो पञ्चतन्त्रका र बाँकी आफूले पढेको पाठ्यपुस्तकमा समाहित यस्तै कथा हुन्थे जसमा चतुर स्यालका कथा सुनाउँदा रोमाञ्चाकता झन् बढी थपिन्थ्यो, बीच-बीचमा उन्मुक्त हाँसो र तालिको गडगडाहट पनि।
हामीले भन्ने कथाहरूमा केही मौलिक कथा पनि हुन्थे। तीमध्ये पनि 'केसलडिको' कथाले हामीलाई रुवाउँथ्यो पनि जुन कथा मैले मेरी आमाबाट सुनेको थिएँ। म केशलडिको कथा सम्झिँदै थिए। उता कथा पढदै गरेकी छोरीले 'हाउ मच मनि फारमर ह्याज पे फोर घूस भनेर सोधिन'।
म छोरीको प्रश्नबाट अनुत्तरित भए किनकि कथामा हाँसको मूल्य उल्लेख थिएन। यस बाल जिज्ञासको उत्तर दिन मलाई अप्ठ्यारोमा पार्यो हुन त हामीहरू पनि कथा सुन्दै र सुनाउँदै गर्दा यस्ता तमाम प्रश्नहरू गर्थ्यौं। हामीबीच थुप्रै तर्क बितर्क पनि चल्दथे। यसपटक मैले छोरीको प्रश्न टार्न 'तीन हजार जति तिर्यो होला' भनेर टारेँ।
छोरी पनि 'ओ' भन्दै कथा वाचनतर्फ लागिन्, म भने बाल्यकालको स्मृतिमै फर्किएँ।
हाम्रा खेल्ने कुरा, पढ्ने शैली कति फरक कति। मौलिक बिहानै बार्दलीमा आएर चर्को स्वरमा चिच्चाई-चिच्चाई पढेर रट्टा मार्ने हामी ‘रटन्त विद्या मथन्त पानी’ भन्ने लोकोक्तीको फिलोशपीले गाइडेड थियो अनि अभिभावक र स्कुल ‘लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत्। प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत्’ भन्ने उक्तीमा पूर्ण विश्वस्त।
त्यही भएर होला स्कुले जीवनमा कति कुटाइ खाइयो खाइयो तर नैतिक चरित्र निर्माणमा आधारित त्यो शिक्षा प्रणालीले पूर्वीय दर्शनलाई केही हदसम्म जीवन्त पनि राखेकै थियो।
बाल मनोविज्ञानमा आधारित भनिएको वर्तमान शिक्षालाई चुनौती पनि। सामाजिक अनुशासन कायम राख्न र बालबालिकालाई सक्षम बनाउन त्यो शिक्षा प्रणाली काबिल नै देखिन्थ्यो। त्यही भएर होला अहिले पनि बुढापाकाहरू 'तिम्रोजस्तो पढाइ हो र हाम्रो' भनी छाती फुलाउँछन्।
केटाकेटीले पूर्ण स्वतन्त्रता पाउने भनेको त्यही मीनपचासको लामो बिदा थियो। त्यसमा हरेक केटाकेटी स्वच्छन्द विचरण गर्दे मनलाग्दी उपद्रो पनि गर्न भ्याउँथे। चोर-पुलिसको खेलमा ठूला-ठूला कान्ला माथिबाट हाम फालेको सम्झँदा अहिले पनि आङ सिरिंग हुन्छ। त्यो चोर पुलिसको खेल त अहिले पनि जीवितै रहेछ।
एकदिन स्कुलबाट घर फर्केकी छोरीले त्यही खेल खेल्ने भनिन् तर उनको सर्त चाहिँ आफू साइकल चढेर आउने कब्स (पुलिस) हुने र मलाई बैंक रबरी गरेर भागेको डाकाको भूमिका दिइन् किनकि उनले मोबाइल स्क्रीनमा त्यो खेल त्यसरी नै खेलेको देखेकी थिइन् होलिन्, मैले लख काटेँ।
अघि-अघि मैले दौडनु पर्ने, पछि-पछि छोरी साइकलमा पक्रिन आउनु पर्ने अनि छोरीले ह्यान्ड्स-अप भन्दा मैले सरेण्डर गर्नुपर्ने। छोरीको स्प्ष्ट निर्देशन थियो मलाई। आफ्नो बाल्यकालको खेल बढो उन्नत र प्रविधियुक्त भएकोमा म धेरै हाँसेँ पनि।
तर किन हाँसेको पापा भनेर छोरीले सोध्दा त्यसै भनेर टारेको थिएँ।
'ह्वाई फार्मर कट गुज स्टोम्याक' भनेर छोरीले सोध्दा झल्यास भएँ किनकि मैले कथा पूरै नसुनी पुरानै स्मृतिमा भुलेको थिएँ।
मेरो मौनता बुझेर होला छोरी आफैले उत्तर दिइन्- ‘बिकज फार्मर बिकम मच मोर ग्रिडी सो दे वान्ट्स अल गोल्डेन एग एट वान्स।’ अनि कथाको मोरल लेसन पनि सुनाउन भ्याइन्- 'टु मच ग्रीड अलवेज लिड्स टु ग्रेट लस।'
मैले ‘हो र?’ भनेँ।
छोरीले धेरै लोभ नगर्न उपदेश पनि दिइन्।
मैले 'हस्' भनेर जवाफ फर्काएँ।
त्यसपछि छोरी मोबाइल कोट्याएर कार्टुनतिर लागिन्, म भने पुरानै स्मृतिमा फर्किएँ।
सबै धनी/गरिब, सबै समुदाय, सम्प्रदाय अनि जातका बच्चाको एउटै छानो हुने ती स्कुल र अहिलेका वर्गीय विभाजन जस्तो देखिने सहर र गाउँ छुट्टाएको जस्तो देखिने यी विद्यालयहरू पनि सम्झिएँ। अनि पढाइ पनि सम्भ्रान्तको पेवा पो हुने हो कि भन्ने चिन्ता पनि।
कस्तो रमाइलो थियो त्यो समयको विद्यालय उपस्थिति, चार जात छत्तिस वर्णको साझा फूलबारी जस्तो अनि त्यसले दिने समाजशास्त्रीय ज्ञान कुनै विश्वविद्यालयलले दिने ज्ञानभन्दा बढी हुन्थ्यो होला। तर अहिलेको अवस्था निकै भिन्न, भित्र-भित्र मन पोल्न थाल्यो।
मैला थोत्रा टालेका लुगा लाउने हुन वा सुकिलामुकिला लगाउने हुन एकै आँगनमा एक आपसमा खेलिरहेका हुन्थे, आफ्नो दुःखसुख साटिरहेका हुन्थे। सुदामा र कृष्णको कथालाई जीवन्त बनाइरहेका हुन्थे।
आजभोलि मजस्ता न्यून मध्यम वर्गीयहरूलाई छोराछोरीको शिक्षाका लागि बढी पिरोलिरहेको देख्छु, घरपरिवारको कमाइको ठूलो हिस्सा शिक्षामा खर्च भैइरहेको देखिन्छ। तर जीवन उपयोगी शिक्षाको अभावमा शैक्षिक बेरोजगारको ताती लाग्दा शिक्षाको लगानी बालुवामा पानी पनि भने जस्तो पनि भएको छ।
एकदिन मेरी छोरीले आफ्नो म्याथको शिक्षकलाई स्कुलबाट हटाइएकोमा दु:ख मनाउ गरिरहँदा किन हटाइएको भनी सोधेँ। छोरीले थाहा नभएको अबोध जवाफ फर्काइन्। पछि बुझ्दै जाँदा ती शिक्षक लगातार एक हप्ता अनुपस्थित भएकाले कारबाहीमा परेका रहेछन्।
उतातर्फ सामुदायिक विद्यालयका सरहरूले वर्षौं सट्टा शिक्षक राखेर तलव पचाइरहेका तथा राजनीतिक दलको झन्डा बोकी महिनौँ गायब भएका समाचार हेरी सुनेको मलाई सार्वजनिक शिक्षाको यो दुरावस्थाले झन् बढी पीडाबोध भयो।
'मैले चिन्ता लिएर के हुन्छ होला र नीति निर्माताहरूले ध्यान नदिए?' आफैलाई सम्झाउन खोजेँ। शिक्षालाई महत्त्व किन दिन नसकेका होलान् हाम्रो समाजमा? किन सार्वजनिक विद्यालयको यस्तो हालत बनाइएको होला?
म बिलखबन्दमा परेका बेला आफ्नो गृहकार्य गर्न थालिसकेकी छोरीले फेरि अनायसै प्रश्न गरिन्- ह्याज योर म्याम इभर गिभन यु अ स्माइल फेस ह्वाइल चेकिङ होमवर्क?
मैले मलाई पढाउने म्याम नभएको सरले मात्र पढाएको भनेँ तर उनले 'बट ह्वाई' भनेर प्रतिप्रश्न गरिन्। मैले मेरो जमानाको शिक्षामा भएको लैङ्गिक विभेदको कथा कसरी सुनाउने भनेर सोचमग्न भई चुपचाप बसेँ।
छोरी मलाई छोड्नेवाला थिइनन्। त्यही कुरा बुझेर मैले विषयान्तर गर्न खोजेँ र छोरीलाई कुनै गीत सुनाउन भनेँ। उनले तोते लवजमा 'सातै बार सातै दिन' भन्ने बाल गीत कनिकुथी गाइन्।
म भने आजभोलिका सहरी विद्यालयले अङ्ग्रेजीलाई यति किन महत्त्व दिएका होलान्? किन आफ्नो मौलिक भाषा, कला, संस्कृति र रहनसहनलाई प्राथमिकता नदिएको होला भन्ने कुराले सोचमग्न भएँ।