त्यो लज्जास्पद घटनालाई कथाको रूप दिएर मैले यसरी सार्वजिनक गर्नुहुँदैन थियो। यसले नम्रता र मेरा केही मित्रहरूको खाटा बसिसकेको गहिरो घाउ उप्काइदिनेछ। घाउमा नुनचुक छर्किएसरी उनीहरूलाई ऐया र आत्थु पार्नसक्नेछ।
उहिलेको मुखुन्डो अहिले उघारिँदा उनका सन्तान र इष्टमित्रले शरमले अनुहार छोप्नेछन्। समाजले लान्छना लगाउन सक्नेछ। कतै सार्वजनिक नगर्ने सर्तमा घटाइएको त्यो गुपचुप घटनाको सर्त उल्लंघन गर्नु करार कानुनको दृष्टिले दण्डनीय हो भन्ने जान्दछु। त्यो दुर्भाग्यपूर्ण घटनाको घाइते भनौँ वा भागिदार, म आफैं पनि हुँ।
मैले जानीजानी त्यही घटना कोट्याउन खोज्दैछु। अतः यो कथा नम्रता, माला, विजयलगायतका मेरा भुपु मित्रहरू र भुपु हाकिमबाहेक अरूले मात्र पढून्। करार कानुनका व्याख्याता र अर्काको निजी मामलालाई मजाक ठान्दै खित्का छोड्नेहरूसम्म यो कथा कदापि नपुगोस्।
मलाई थाहा छ नम्रतालाई मेरो नामउपर औधी घृणा छ। मेरो व्यवहारउपर तीव्र आक्रोश छ। मेरो लेखाइउपर अत्यन्तै वितृष्णा छ। उनी मेरो नाम सुन्नसम्म सक्दिनन्। यस कथाको प्रमुख पात्र उनी नै हुन्। सायद यो कथा विजयले लेखेको भए उसले प्रमुख पात्र मालालाई बनाउँथ्यो होला। नम्रता वा मालाले लेखेको भए प्रमुख पात्र कसलाई छान्थे होलान्?
यो अप्रिय घटना घटेको पनि एक दशक नाघिसकेको छ। मैले लोक सेवाबाट शाखा अधिकृत पदमा स्थायी नाम निकालेर कास्कीको इलाका प्रशासन कार्यालयमा नियुक्ति लिएको थिएँ। विजय पनि यसै कार्यालयमा एक वर्ष पहिलेदेखि शाखा अधिकृत पदमा कार्यरत थियो।
हामी दुवै लक्का जवान थियौँ र काममा उम्दा पनि। अफिसको चल्तापूर्जा कर्मचारीमा गनिन्थ्यौँ। हामीमा फ्याट्टै लोक सेवा पास गर्न सकेको अभिमान थियो। त्यो कुकुरबैँसे उमेरमा कतिलाई जिस्काइयो, कतिबाट जिस्काइमागियो कुनै लेखाजोखा भएन। विपरीत लिङ्गीतिरको आकर्षणमा विजय धेरै अगाडि थियो।
त्यस कार्यालयको नासु पदमा एक दिन नम्रता पुरी सरुवा भएर आइन्। नम्रता रुपमा जति सुन्दर थिइन् सारमा उत्तिकै व्यवहारिक थिइन्, बोली उत्तिकै मिठो थियो। नामजस्तै उनी सबैसँग नम्ररूपमा प्रस्तुत हुन्थिन्। नियमितरुपमा अफिसमा हाजिर हुन्थिन् र लाएअह्राएको काम खुरुखुरु गर्दथिन्।
उनको आगमनपछि अफिसको माहोल नै अर्कै भएको थियो। गुलियो चिजको वरिपरि माहुरी भन्किएझैँ उनका वरिपरि पुरुष कर्मचारीहरू फन्का मार्न थालेका थिए। कर्मचारीहरू उनको नजिक पर्ने केही न केही निहुँ खोज्दै हिँड्थे। विजयले त पहिलो दिनदेखि नै उनलाई लाइन मार्न थालिहालेको थियो।
स्टोरकिपरले के चाहियो म्याम भनी दिनको चार चोटि सोध्थे। लेखापालले उनले पेश गरेको बिल चेकजाँच नै नगरी भुक्तानी दिन्थे। हाकिमले त झन् दिनमा सात चोटि आफ्नो कार्यकक्षमा नम्रतालाई बोलाइरहन्थे। अरूलाई नटेर्ने कार्यालय सहयोगीले उनले अह्राएको काम तत्काल फत्ते गर्न तँछाडमछाड गर्थे।
यद्यपि त्यसको असर नम्रतामा परेको देखिँदैनथ्यो। उनी सबैको समदूरीमा थिइन्। जोसँग पनि विनम्रता र मुस्कानका साथ काम र कुरामा सहभागी हुने र जसले अफर गरे पनि चिया खाजा खाइदिने उनको स्वभाव अनौठो थियो।
यसैको फाइदा उठाउँदै विजयले भने अति नै गर्न थालेको थियो। काम नपरी उनको कार्यकक्षमा बारम्बार पस्थ्यो, उनको शरीर छोइने गरी नारिएर बस्न खोज्थ्यो र कुरा घुमाएर अश्लील अर्थ लाग्ने बनाइदिन्थ्यो।
उसले नम्रतालाई अफिसबाहिर पुर्याएर चिया तथा खाजा खुवाउने क्रम बढाउँदै लगेको थियो। विजयले प्रस्ताव गरेको बाटोमा नम्रता खुरुखुरु हिँडिदिँदा उसलाई स्वर्गै जितेको जस्तो भएको थियो।
त्यस कार्यालयको नासु दरबन्दीमा अर्को वर्ष माला नामकी कर्मचारी पनि सरुवा भएर आइन्। माला नम्रताभन्दा पनि सुन्दरी र फरासिली थिइन्। अब विजय मालातिर आकर्षित हुनथाल्यो। चियापान तथा भलाकुसारी कार्यक्रममा विजयले माला र नम्रता दुवैलाई निमन्त्रणा दिन थाल्यो र त्यो कार्यक्रममा मलाई पनि सहभागी गराउन थाल्यो।
विजयका अल्लारे व्यवहार मैले पनि सिक्दै गएँ। विजय मालातिरै समर्पित हुन थालेपछि नम्रताउपर मेरो एकलौटी हक कायम हुन पुग्यो।
मैले नम्रताको चियाखाजाको पैसा तिर्न खोज्दा नम्रता भन्थिन्, ‘विनय सर, मलाई खाजा खुवाउन यसरी किन मरिहत्ते गरिरहनुहुन्छ? चिया खाजाको पैसा त म पनि त तिर्नसक्छु।’
मैले भन्थेँ, ‘होइन, तपाईंको तलब कम छ, तपाईं घरखर्चमा र लोक सेवा तयारीमा खर्चनुहोस्। जाबो चिया खाजाको पैसा मलाई के ठूलो भयो र?’
नम्रताउपर मेरो आशक्ति बढ्दै गयो। उनलाई नजरले पछ्याउने, भेटमा कुरैले छेक्ने र उनको अनुपस्थितिमा फोन तथा मेसेज गर्ने क्रम उत्कर्षतिर पुर्याउँदै थिएँ। उनी भने मदेखि टाढिन र टेढिन खोज्थिन्। विस्तारै मेरो फोन कम उठाउन थालिन् र मेसेजको रिप्लाई गर्नै छोडिन्। म उनको कार्यकक्षमा धाउँदा पनि विभिन्न निहुँले यताउता फुत्कन थालिन्।
यस बारेमा मैले एक दिन उनीसँग गुनासो पोख्दा उनले झर्कँदै भनेकी थिइन्, ‘सरको बारम्बारको फोन र मेसेजले मलाई नियमित काम र पढाइमा डिष्टर्ब भैरहन्छ। मलाई इरिटेट हुन्छ। मैले पनि प्रगति गर्नुछ सर। हजुरहरूसँग अनावश्यक गफमा भुलेर मात्र त भएन? अन्यथा नसोचेकै राम्रो सर।’
जेसुकै भनून् उनलाई उम्कन दिनुहुँदैन भन्ने आशयका साथ मैले झिज्याउन छोडिनँ।
एक दिन मैले मेसेन्जरमा 'लभ साइन' पठाएँ। उनले वास्ता गरिनन्। मैले लभ साइन पठाको पठाई गरिरहेँ।
बल्ल उनको रिप्लाइ आयो, ‘विनय सर, यो के हो?’
मैले निर्धक्क जवाफ दिएँ- ‘यो वाणले घोचेको घाइते मुटु हो। नम्रताको मृदुल वाणले विनयको मुटु घोचेर घाइते छ। मर्नु न बाँच्नको अवस्थामा गुज्रिरहेको विनयको उपचार नम्रताबाट मात्र सम्भव छ भन्न खोजेको हो।’
‘एऽऽ मलाई त थाहै थिएन। नघोचेरै घोचिने विनयजीको कपटी मुटुलाई भनिदिनुहोला, यस मामलामा नम्रताले केही गर्न सक्दिन।’
त्यसपछि मैले दिएका व्याख्या विश्लेषणको उनले कुनै जवाफ फर्काइनन्।
उता मेरो गुरू विजय त यो मामलामा निकै अघि पुगिसेकेको थियो। घरी विजय र मालाको झगडा पर्दथ्यो। घरी मेलमिलाप हुन्थ्यो। बारम्बार उजुरी हाकिमकहाँ पुगिरहँदा कार्यालय-प्रमुख कक्ष मेलमिलाप आयोगजस्तो भैदिएको थियो। उनीहरूबीचको लफडाको हल्लाले अफिसको पर्खाल नाघिसकेको थियो।
यता नम्रताको माया पाउने मलाई उत्तिकै हतारो थियो। एक साँझमा मैले मेसेन्जरमा मनको कुरा राखिहालेँ, ‘नम्रताजी, साँच्चिकै म हजुरलाई प्रेम गर्छु।’
उनको रिप्लाइ आयो, ‘आखिर मैलाई किन प्रेम गर्नुहुन्छ सर?’
‘म मेरो भविष्य हजुरकै हातमा राख्न चाहन्छु। हजुरलाई मेरो जीवनरथको सारथी तुल्याउन चाहन्छु।’
‘उसोभए तपाईंको घरकीलाई के गर्नुहुन्छ त सर?’
उनको अप्रत्याशित जवाफले म झस्किएँ।
सोधेँ, ‘कसले भन्यो तपाईंलाई यो कुरा?’
‘कसैले भन्नुपर्दैन सर। हजुर कुण्ठित मनले मेरो पिछा गर्न थालेपछि त्यतिसम्म त मैले खोजी गर्नैपर्यो नि!’
मैले होइन भन्न सकिनँ। बरू लेखेँ, ‘त्यसले केही फरक पार्दैन। ऊसँग त डिभोर्स हुने अवस्थामा छु। कदाचित् डिभोर्स भएनछ भने पनि ऊ गाउँमै हुन्छे। हामी सहरमै बस्छौँ।’
‘हजुर समझदार हुनुहुँदो रहेछ। तर मलाई दिने माया, प्रेम, सदभावना जम्मै आफ्नै श्रीमतीलाई दिए हुँदैन र?’
‘नम्रताजी फूल गमलामै सुहाउँछ, झाडीमा होइन। तपाईं मेरो प्रेम पाउन लायक जँचेकोले नै मैले यो प्रस्ताव राखेको हुँ।’
‘ओके सर!’ यति भनेर उनी अफलाइन भइहालिन्। उनले दिएको ग्रीनसिग्नलले म आल्हादित हुन पुगेँ।
त्यसपछिका दिनहरूमा उनी मसँग बोल्न त के मेरो मुखै हेर्न छोडिदिएकी थिइन्। तर उनको अफिसियल व्यवहारमा उस्तो परिवर्तन देखिएन। मैले अनुमान गरेँ उनले सोचविचार गर्दै होलिन्। मजस्तो सर्वज्ञान र सर्वगुणले सम्पन्न शाखा अधिकृत भेट्न उनलाई मुस्किलै पर्ला।
एक दिन म एक्लै भएको बखतमा नम्रता मेरो कानमा खुसखुसाइन् ‘विजय सर र मालाको त बिहे हुनेभयो नि!’
‘हो र?’ विजय मभन्दा पहिल्यै गन्तव्यमा पुगेको खबर सुनी म ईर्ष्याले जलेँ। मैले खुसी भएझैँ गरी थपेँ, ‘आखिर उनीहरूको विशुद्ध प्रेमले सफलता प्राप्त गरिछोडेछ। मालाले त विवाहित विजयलाई सहजै स्वीकार गरी भने तपाईंले मलाई स्वीकार गर्न किन महाभारत भैरहेको नि?’
‘मैले स्वीकार गर्दिनँ कहिले भनेँ र सर? बरू विजय सर र मालाको बिहे हुने कुरा बिहेअगाडि कसैले सुइँको नपाओस्। एकदमै गुपचुपमा बिहे सम्पन्न हुँदैछ।’
उनको कुराले म पुलकित भैहालेँ। उनलाई अँगालो मार्न हात फैलाउँदै भनेँ, ‘साँच्ची? अब हाम्रो बिहेको पालो कहिले आउँछ त?’
‘यो बिहेको लगत्तै सरकै पालो भयो,’ उनले मबाट पर भाग्दै भनिन्।
‘पक्का?’
‘शत प्रतिशत पक्का,’ उनी फितफिताउँदै ओझेल परिहालिन्।
मैले जे सुन्न चाहेको थिएँ त्यही जवाफ पाउँदा म रोमाञ्चित भएँ। भुइँमा खुट्टा टेकिनै छोडे।
त्यसै बेलुका मेरी पत्नी विनिताको फोन आयो। उनले मेरो कुशल मङ्गल सोधिन्। घरको खर्चपर्चको समस्या बताइन्। एक्लैले बुहार्तन धान्दै बच्चा हुर्काउनुका अनेकौँ कठिनाइको बेलिविस्तार लगाइन्। बच्चाहरूको पढाइको निम्ति बच्चा लिएर आफू पोखरा छिट्टै आउने योजना समेत सुनाइन्।
मैले उनलाई फकाएँ, ‘एक वर्षजति एकान्तमा बसेर लोक सेवा पढ्न पाए उपसचिवमा नाम निस्कन्थ्यो कि! एक वर्ष गाउँमै धैर्य गर। एक वर्षमै बच्चाहरूको पढाइ बिग्रिहाल्ने पनि होइन!’
भोलिपल्ट विजय भेटियो। यति छिट्टै लक्ष्य प्राप्त गर्न सफल भएकोमा उसलाई बधाई दिँदै अँगालोमा कसेँ।
उसले भन्यो- ‘यार, आगोमा हात त हालियो, हात मात्र जले त केही थिएन शरीरै जल्ला भन्ने डर पो लाग्न थाल्यो।’
मैले उसलाई धाप मार्दै भनेँ, ‘तँ पनि लास्टै डरछेरूवा छस् यार्। हुन्दे। सुन्दरता, सुशीलता र स्थायी पेसा भएकी लक्ष्मीलाई आफ्नो तुल्याउँदै छस्। साह्रै भाग्यमानी रहिछस् तँ।’
त्यस दिनपछि ऊ बिहेको तयारीमा जुट्यो। साथीभाइसँग सरसापट लियो, सञ्चय कोष र लगानी कोषबाट ऋण लिएर कपडालत्त र गहनापातको जोहो गर्न थाल्यो। मलाई पनि सापटी माग्दै थियो, मलाई पनि त केही हप्तामै यस्तै काममा चाहिनसक्छ, तँ त्यति छिटो फर्काउन सक्दैनस् भनी टालटुल पारेँ।
विजयको बिहेको दिन आइपुग्यो। सुटपाइन्टमा ठाँटिएर आमन्त्रण गरिएकाहरू पूर्वनिर्धारित समयमा तोकिएको होटेलमा पुग्यौँ। होटेलको एउटा सानो हलमा एक दर्जनजति कुर्सीहरू लहरै राखिएका थिए। बीचमा पूजा सामग्रीरहित र पण्डितबिनाको मण्डप थियो। हलको सिलिङमा एक दर्जनजति बेलुनहरू झुन्ड्याइएका थिए। अघिल्तिर सानो मन्च थियो जसमा सोफासेट राखिएको थियो। भित्तामा शुभ-विवाह लेखिएको ब्यानर टाँगिएको थियो।
बिहेमा उति धेरै निम्तालु आएका थिएनन्। यस मामलामा जो-जो नजिक थिए उनीहरूलाई मात्र निमन्त्रणा गरिएको रहेछ।
विजय बेहुलाको भेषमा बिहे मण्डपमा पदार्पण गर्यो। पाल्पाली ढाकाका दौरा-सुरुवाल र टोपीमा उल्कै तन्नेरी देखिएको थियो। गलामा स्वयम्बर माला र कम्मरमा खुकुरी लर्किएको थियो। विजयको अनुहारमा विजेता मुस्कान देखिन्थ्यो।
केही बेरपछि महिलाहरूको एक समूहले दुलहीलाई मण्डपतिर डोर्याउँदै ल्याए। झिलझिले पछ्यारीले अनुहार र झिलिमिली गह्रौँ सारीले बाँकी आङ ढाकिएकोले दुलहीको सौन्दर्य मात्र अनुमान गर्न सकिन्थ्यो।
कौतूहलताले व्यग्र विजय आँखा नझिम्क्याएर उतैतिर हेरिरहेको थियो। मैले पनि त्यो समूहमा नम्रतालाई खोजेँ। दुलहीबाहेक अन्य महिलाहरू एउटै ड्रेसमा सजिएकाले को नम्रता थिई र को अन्य महिला थिए भनी छुट्याउनै हम्मेहम्मे परेको थियो।
दुलहीलाई घेरेर घाँगर लतार्दै महिलाहरू मण्डपको नजिक नजिक आए! विजय आँखा मिचिमिची हेरिरहेकै थियो। दुलही आफ्नो समीपमै आइपुगेपछि ऊ हतासिएर जुरुक्कै उठ्यो। विजयको अकस्मात् बिग्रिएको मनोदशा देखेर हामीहरू पनि झसङ्गै भयौँ।
माला नै दुलही होली भन्ने हाम्रो अनुमानको विपरीत माला त अर्कै दुलहीलाई डोर्याउँदै पो आउँदै थिई। ऊ त कुटिल मुस्कान छोडिरहेकी थिई। दुलही तुल्याइएकी को हो त उसोभए? मेरो दिमाग चक्करायो। अनुमानविपरीतको दृश्यले जन्तीहरू स्तब्ध भए।
रिसले काम्दै उठेको विजयका पाखुरा समात्दै मालाले आसनमा बस्न कर गरिरहेकी थिई। पछि अरू महिलाहरूको करबलले गर्दा उसको केही जोर चलेन। ऊ थुचुक्कै भुइँमा बस्यो र उँधोघोष लगायो।
दुलहीको लागि विजयले ल्याएका सबै कपडालत्ता र गहनापात दुलहीको हातमा राख्न लगाउँदै दुलहीको घुम्टो उघार्न लगाइयो। दुलहीको घुम्टो उघार्दा विजयको मुख निलोकालो भेसकेको थियो। अनुहारबाट खलखल्ती पसिनाको धारो छुटिरहेको थियो। उसका हातहरू थरथर काँपेको परैबाट देख्न सकिन्थ्यो।
जब घुम्टो उघारेर दुलहीको अनुहार हेर्यो विजय झनै अत्तालियो। हामीले पनि दुलहीको अनुहार पुलुक्क हेर्न पायौँ। दुलही भेषमा सजिएकी उनलाई हामीमध्ये कसैले पनि खुट्याउन सकेनौँ।
बिहेको कार्यक्रम एउटा हाँस्य नाटकमा बदलिएपछि हाकिमलाई भाउन्न भएछ। उनी अफिसको काम थन्क्याएर यस्तो उटपट्याङ नाटक हेर्न लगाइएको भनी झर्कँदै ढोकातिर लम्किए। तर हलको एउटै मात्र ढोका बाहिरबाट चुकुल लगाइएको थियो।
उनले ढोका खुलाउन धम्की दिएपछि महिलाहरूले पनि एकमुखले स्वर दोब्बर पारे, ‘खबरदार हाकिमसाब्, तपाईंको धम्कीले यहाँ कुनै अर्थ राख्दैन। बढीमा आधा घण्टामा यो बिहेको कार्यक्रम सम्पन्न हुनेछ। उहिले हाम्रो असहजतालाई नजरअन्दाज गरिदिनुभयो। त्यसैको परिणामस्वरुप आयोजना गरिएको यस कार्यक्रममा हाम्रो कुरा सुनिदिएर मात्र जान पाउनुहुनेछ। त्योभन्दा दायाँबायाँ गर्न थाल्नुभयो भने परिणाम राम्रो हुनेछैन।’
हाकिम लुसुक्क आफ्नो स्थानमा आएर बसे।
दुलहीको मुखै हेर्न नसकेर दुलाहाले वरमाला पहिर्याइदिए। औँठी साटासाट भयो। सिन्दुर हाल्ने काम सम्पन्न हुनेबित्तिकै परिचयको लागि दुलहीलाई मञ्चमा उकालियो। हाम्रा कानहरू ठाडाठाडा भए।
मञ्चमा उक्लिएकी दुलही केही बेर डाँको छोडेरै रोइन्। रुवाइ बन्द भएपछि हिक्का छोड्दै भनिन्, ‘तपाईंहरूलाई धेरै-धेरै धन्यवाद! मेरो हातबाट फुत्किसकेका मेरो पतिसँग पुनर्मिलन गराइदिनुभयो। तपाईंहरूको यो गुण म कहिले बिर्सनेछैन।’ यति भनेर भक्कानिँदै उनी मन्चबाट ओर्लिहालिन्।
एऽऽ यिनी त विजयकै पत्नी पो रहिछन् भन्ने अनुमानका साथ हामीले जिब्रो टोक्यौँ। कसैले भनिहाल्यो, 'कति सोझी श्रीमतीउपर सौता हाल्ने साहस गरेछ। बहुविवाहको कारण दुवैको जागिर जान्छ भन्ने चेतै नहुने कति दुस्साहसी।'
दोस्रोमा बोल्ने पालो विजयको आयो। उसको अनुहार हावा फुस्किएको भकुन्डोजस्तै कच्याककुचुक परेको थियो। ऊ सम्हालिँदै भुइँतिर मात्र हेरेर भन्यो- ‘मलाई परिबन्दमा पारेर तपाईंहरूले यो लज्जाजनक अवस्थामा पुर्याइदिनुभयो। वास्तवमा मैले मालालाई बिहे गर्न चाहेकै थिइनँ। उनले नै कर गरेकी हुन्।’
यो सुन्नेबित्तिकै मालाले आक्रोश पोखिन्, ‘के उसोभए हामीलाई पुतलीजस्तै खेलाउनुसम्म खेलाएर दोबाटोमा मिल्काइदिने मकसद थियो?’
उनको प्रश्नले मेरो मुटु छेड्यो।
विजयको गला अवरुद्ध भयो। नम्रताले मालालाई थामथुम पारिन्।
विजयले एकछिन रोकिएर भन्यो, ‘तर पनि म आफ्नो गल्तीलाई स्वीकार गर्दछु। मलाई यो परिबन्दले फाइदा नै गरोस्। मलाई सच्च्याउन पहल गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’
ऊ मञ्चबाट ओर्लिँदा लटपटिएर भुइँमा पच्छारियो। उनकी पत्नीले झटपट उठाएर आफ्नै छेउमा बसालिन्।
त्यसपछि बोल्ने पालो मालाको थियो। उसले मलाई केही बोल्नुछैन भनेर पालो नम्रतालाई दिई। नम्रता मन्चमा उक्लिनेबित्तिकै मेरो सातोपुत्लो उडिसकेको थियो। म पनि विजयकै हालतमा पुगिसकेको थिएँ।
उनले बोल्न थालिन्-
‘यो कार्यक्रम किन गरियो भन्ने कुरा सबैलाई छर्लङ्गै भैसकेकोले थप बेलिविस्तार लाउनुपर्ने आवश्यकता छैन। हामीले अफिसमा पुरुष कर्मचारीहरूबाट निकै दुर्व्यवहार खेप्नुपर्यो। अरू त अरू हाकिमले पनि हाम्रो उजुरी सुन्नुको सट्टा उल्टै हाम्रो दोष देख्नुभयो। एक्लाएक्लै प्रतिक्रियामा उत्रिएको भए हामी कदापि सफल हुन्नथ्यौँ। जसले बोल्यो, उसैले दुष्परिणाम सहनुपर्थ्यो। हामी संयमित भैरह्यौँ। जतिसुकै प्रताडना भोगे पनि अफिसको वातावरणमा कुनै धुमिलता सिर्जना हुन दियौँ।
मान्छेको जीवनमा एक-एक मिनेटले पनि ठूलो महत्त्व राख्दछ। तर तपाईंहरूको व्यवहारले हाम्रो जम्मै अफिसियल समय बर्बाद भयो भयो, घरमा समेत सुख मनले बस्न पाएनौँ। हाम्रो प्रगति गर्ने अमूल्य समय तपाईंहरूकै लहडको शिकार हुन पुग्यो।
घरमा हुँदा समेत तपाईंहरूको फोन तथा मेसेजहरू आइरहँदा हाम्रो घरपरिवारबाट खप्की खानुपर्यो। विवाहित श्रीमतीहरूको गृहकलह निम्त्याइदिनुभयो। समाजले टेढो नजरले हेर्नेसम्म तुल्याइदिनुभयो। हामीबाट अनाहकमा लुटिएको समय, अवसर र इज्जतको क्षतिपूर्ति कसैगरी हुनसक्दैन।
बिन्ती छ महिलाहरूलाई अफिसमा पठाउँदा अभिभावक सशंकित हुनुपर्ने स्थिति सिर्जना नगरिदिनुहोस्।
अरू भए तपाईंहरूलाई उतिखेरै थुक्ने थिए। गालामा थप्पड मार्ने थिए। दुर्वाच्य बोल्नेथिए। हामीले एउटा लक्ष्यका साथ तपाईंहरूका दुर्व्यवहारहरू खेपिरह्यौँ। किनकि तपाईंहरूको पनि आफ्नै सुन्दर भविष्य छ। हामी तपाईंहरूको व्यवहारको विरोधी भए पनि तपाईंहरूको सुन्दर भविष्यको विरोधी होइनौँ।
हामी तपाईंहरूको निःस्वार्थ मित्रता र सहयोगी भावनाको उच्च कदर गर्दछौँ। हामीले सार्वजनिक रूपमा तपाईंहरूको बेइज्जत गरिसकेका छैनौँ। यो कार्यक्रममा सबै प्रताडना भोग्ने र भोगाउनेहरू मात्र छौँ। सबै परिवारभित्रकै छौँ।
यो घटना कतै कसैले पनि चुहाउने छैन भनी कसम खाऔँ। सार्वजनिक बेइज्जती होला भनी कोही पनि डराउनुपर्ने छैन। बरू अबदेखि तपाईंहरूले महिला कर्मचारीसँग उचित व्यवहार गर्न सिक्नुहोस्।
मेरो चाहना छ विनय सरको घरायसी सम्बन्ध पनि सुमधुर होस्।’
नम्रताको मुखबाट आफ्नो नाम उच्चारण हुनेबित्तिकै मेरो मुटु उफ्रिएर भुइँमै झर्लाजस्तो गर्यो। कट्ट चिसो भयो। मेरो अनुहार पनि विजयको जस्तै देखियो होला। मेरो अनुहारतिर हेरेर नम्रता खित्का छोडेर हाँसिन्।
मैले 'हे भगवान, ऊउपर मैले गरेका हर्कतहरूको पर्दाफास नगरोस्' भनी प्रार्थना गर्न थालेँ।
‘तपाईंहरू बुद्धिमान हुनुहुन्छ। बोल्नुभन्दा पनि यो कार्यक्रमबाट गतिलो पाठ सिकिसक्नु भयो होला, धन्यवाद’ भन्दै उनले मन्तव्य अन्त्य गरिन्। मेरो गुम हुन थालेको होस ठेगानमा आइपुग्यो। मैले लामो सास फेरेँ।
अन्तमा हाकिमसाबलाई मन्तव्यसहित कार्यक्रम विसर्जन गर्न लगाइयो।
उहाँले भन्नुभयो, ‘आज तपाईंहरूले नौलो नाटक मन्चन गरिदिनुभएकोमा म खुसी छु। यो कार्यक्रमको रुपरेखा कोरी सञ्चालन गर्ने भाइबहिनीहरूलाई धन्यवाद छ। हामीहरू सरकारको काम गर्न प्रतिवद्ध कर्तव्यपरायण कर्मचारी हौँ। भोलिको दिनमा यो कार्यक्रमले अफिसियल वातावरण नबिगारोस् भन्दै यो सभा यहीँ बिसर्जन भएको जानकारी गराउन चाहन्छु।’
मन्चबाट ओर्लिएपछि हाकिमसाब अघिअघि लाग्नुभयो। हामीहरूले उहाँलाई यन्त्रवत् पछ्यायौँ। निस्कने ढोका खुलिसकेको थियो। हामीले बोल्न त परै जावस् एकले अर्कोको अनुहार च्याउनसम्म सकेनौँ।
होटेलबाहिर निस्किएपछि को कता लागे केही पत्तो भएन। विजयले पत्नीलाई कसरी आफ्नो कोठामा पुर्यायो होला भनेर एक कल फोन गरेर बुझ्ने हिम्मत समेत आएन।
नम्रतालाई छिट्टै आफ्नी तुल्याउने मेरो उत्कट चाहना सदाको लागि अन्त्य भैसकेको थियो।