सगर चुम्ने सपनाहरूले कतै
भुइँको धुलो चाटिरहेछ
अक्सर भुइँमान्छे भएर
आकाश मापन गर्ने इच्छा नै फगत रहेछ
आँखै अगाडिबाट अचेल के-के दौडिन्न र
उमेर दौडन्छ
हौसला दौडन्छ
उर्जा दौडन्छ
मोह, सपना, प्रेम, इच्छा हरेक दौडिन्छ
अनि ड्याम्म बजारिन्छ
आफूले बनाएको कच्ची अनि कमसल सडकमा
समाजले बनाइदिएको खड्डाहरूमा
मन भित्रबाट गुहार पनि ननिस्कने गरी
कहिले-कहिले खुट्टा न हो
दौडने प्रयासमा हिँड्न भुल्दो रहेछ
आखिर मन न हो
बृहत् सपनाबीच दैनिक बाँच्न भुल्दो रहेछ
आखिर आँखै न हो
टाढा क्षितिज नियाल्दा नियाल्दै
परिस्थितिमा रुनै भुल्दो रहेछ
यो हात जति नै मुठी कसेर दरिए पनि
कहिले-कहिले कर्मै भुल्दो रहेछ
हुन त बिधाता पनि साँचोमा मान्छे हाल्दा-हाल्दा
कहिले-कहिले भाग्य राख्नै भुल्दो रहेछ।