वार्षिक परीक्षाफल कार्यक्रममा आमन्त्रितहरू हलमा खचाखच भरिएका थिए। छिटफुट रुपमा अभिभावक र बालबालिकाहरू स्थान अभावको प्रवाह नगरी उभिएरै मञ्चतिर एकाग्र देखिन्थे।
छोटो मन्तव्यपछि उमेश सर नतिजा सुनाउन स्टेजमा देखा परे भने अघिसम्म सल्बलाइरहेको सानातिनो आवाज पनि एकाएक निःशब्द हुन पुग्यो। मानौँ पानीमा देखिएको भूमरीले आफूतिर पानी सोहरे झैं सबैको ध्यान चुम्बकले फलाम ताने जस्तै गरी उमेश सरले नै तान्नु भएको थियो।
नतिजा सुनाउने क्रम कक्षा एकदेखि सुरु भयो। छैटौं कक्षाको काले विद्यालयकै प्रथम भएपछि भने माहोल अलि फरक देखियो। गरिब र कथित पानी नचल्ने जातका छोरा अरुभन्दा अग्रपंक्तिमा देखिँदा मुखभित्रै नाच्न रमाउने जिब्रो पनि दुई दाँतको अन्तरमा आफूलाई च्यापेर बाहिर निस्क्यो।
कहलिएका साहु महाजनका छोरा फेल हुँदा दलितका छोरा विद्यालयकै प्रथम हुनु चानचुने कुरा थिएन। मानिस ठूलो दिलले हुन्छ भन्थे, दिलको अर्को रुप कर्म पनि रहेछ। त्यो दिनको नतिजाको माहोलले नै सुखद् अनुभूति गरायो।
उसको न्वारनको नाम मान बहादुर रे। तै पनि उसकी आमाले विद्यालयमा काले नामै टिपाइन्। काले नाम उसकी आमा पुतलीको मुखमा झुण्डिएको प्यारो शब्द रे। यो सन्तानभन्दा अघिका ६ सन्तान खेर गएपछि जन्मिएको सन्तानलाई काले नामले नै बोलाउन थालिछन्। यही शब्द नै उनको मुखमा झुण्डिन थालेपछि कालान्तरको लागि पनि यही नाम जुराएर आफैले न्वारान गरिदिइछन्।
उसलाई ‘नेपाली’ थर राख्न पनि कतिपयले नसुझाएका हैनन्। फेरबदल विचारमा हुनुपर्छ, जातमा हैन। यही पुर्ख्यौली थरबाट नै पृथ्वीमा पदार्पण भएपछि मेरा पितापुर्खाको पहिचान जीवित राख्न पनि मलाई मेरो थर नै प्यारो छ भनेर जिद्धी गर्थिन्।
कालेकी आमाको नाम पुतली दमाइ थियो। घरमा श्रीमान भए पनि सबैले उसलाई घरमुलीको रुपमा नै चिन्ने गर्थे। गाउँ समाजमा सानातिनो सरसल्लाहमा सबैले उसको नाम लिने गर्थे।
सम्पत्तिको नाममा एक रोपनी बारी थियो। माटो मलिलो भएकोले सागपात तरकारीले जेनतेन घर धानेकी थिइन्। नपुग खाने अन्न र लुगा फाटोको लागि हुने खानेको लुगा सिइदिए बापत वर्षे बाली उठाउने गर्थिन्। उनी निरक्षर भए पनि छोरालाई चाहिँदो ज्ञान दिएर विद्यालय परिवारमा पनि मर्यादाको शिखरमा पुर्याउन सकेकी थिइन्।
धान, मकै, गहुँ, मुसुरो जो भएको बालीको सिजनअनुसार उठाउन चलन थियो। यस काममा उनका पति गोरे अग्रसर हुन्थे। सिएको लुगा पट्याइवरी खांग्रे डोका बोकेर खुइयऽऽ गर्दे लागे उनीहरू पण्डित बाजेकहाँ।
पण्डित बाजे घरको छानोमुनि मकै केलाउँदै थिए। हलक्क बढेका बोट विरुवाले हावालाई सर्लक्कै छेकेको थियो। त्यसैले भदौरे महिना, रापमा ताप थपिँदा खपिनसक्नु थियो। एकसुरमा काममा जोतिएका पण्डित बाजेलाई दुवैले जधौँ गरे। काममा लागेका हातलाई चटक्क छोडी पंखा हम्कँदै बस्ने इसारा गरे। तर उनीहरू आँगनको डिलमा नै उभिरहे।
पण्डितनी बज्यैलाई सिलाएको लुगा जिम्मा लगाएपछि पण्डिततिर फर्कँदै भने- ‘हामी तल्लो जातका मुन्छे, हजुरको पिँढीमा टेक्न त भएन नि हजुर।’
‘तिमीलाई काटे पनि रगत रातै हो, हामीलाई काटे पनि रगत रातै हो। मेरो सन्तानको रक्त समूह मसँग नमिलेर तिमीसँग मिल्न पनि सक्छ। त्योबेला तिमीले दिएको रगतले म बाँच्न सक्छु भने मानिस-मानिसबीच कसरी तल्लो जात र माथिल्लो जात भयो भन त। तिम्रो सीप र विचार चल्ने तर भात भान्सा नचल्ने हुन्छ?’
दुवै श्रीमान-श्रीमती पहिले त अक्क न बक्क परे। काँधको काँधमै रहेको डोको बिसाउँदै पुतलीले भनिन्- ‘त्यति सुन्दा पनि पाथी भात खाए जस्तो भयो हजुर।’
‘व्यक्तिले समाज बनाउँदै जाने हो, तर यहाँ त समाजले पो व्यक्तिको सभ्यता निर्धारण गर्दो रहेछ। त्यसेले रहेछ, राजा महाराजाले पनि समाजका गतिलाई हत्तपत्त बदल्न सक्दा रहेनछन्। हाम्रो कारणले तपाईंको जजमानी बिग्रन दिन्नम्। जहिले समाज बदलिन्छ तहिले यो पिँढीमा टेकम्ला’ भन्दै तिनै मैला हातले अनुहारका पसिना पुछ्न थालिन्।
पण्डित बाजे राजनीतिभन्दा सामाजिक कार्यमै ध्यान दिन्छन्। बल्लतल्ल कुलो ल्याउन बजेट के पारेका थिए त्यसैमा कुरो के नमिलेर भ्रष्टाचार देखे अरुले। भ्रष्टचारलाई पो जरै खि उखेल्ने हो त। त्यो बजेटको के दोष थियो र कोल्याप्स पारेका! नेपालका महत्वपूर्ण आयोजनहरूमा पनि त यस्तै भागबण्डा र स्वार्थको खेल त होला नि।
त्यस उप्रान्त सामाजिक कार्यभन्दा पत्र सुधारतिर नै लागे पण्डित बाजे। दैवसंयोग नै मान्नुपर्छ, बाजेले मनमैजुतिर ५ आनामा माटोको जोडाइमा कच्ची इँटाले बनेको दुई तले घर समेत दानमा पाएछन्। त्यति मात्रै कहाँ हो र, ऐलानी जग्गा पनि तिनै दाताले कमाउँदै आएका रहेछन्।
तर के गर्नु, पण्डित बाजेका तीनै भाइ छोरा देशको बिग्रँदो अवस्थाले उद्योगधन्दा धमाधम बन्द हुन जाँदा काम नपाएपछि अमेरिका र अष्ट्रेलिया धसिसकेका थिए। दान पाएर पनि त्यो सम्पत्ति रक्षा गरिदिने कसले? बुढा विखलबन्दमा परिरहेका थिए।
२०५६ सालतिरको कुरा थियो। घरको आधा घण्टा जतिको दूरीमा रहेको एनटिसीको टावरमै बम पड्किएपछि सेना र प्रहरीको संयुक्त गस्तीमा सर्च अपरेशन भयो। निर्दोष धेरै युवाहरू सुरक्षाकर्मीको कोपभाजनमा परे। भाग्यवश त्यो दिन काले र उसको बाबु मामाघर निम्ता मान्न गएका रहेछन्।
दुई दिनअघि नै निम्ता मान्न गएको कुरा पुतलीले जति भन्दा पनि सुरक्षाकर्मीले र्याखर्याख्ती पार्न छोडेनछन्। सुरक्षाकर्मी आफ्नो बाटो लागेलगत्तै पुतली असिनपसिन हुँदै तिनै पण्डितकहाँ पुगिछन्। पण्डित बाजेले सान्त्वना दिँदै यसको समाधान गरिदिने बताए।
आठ कक्षा पढ्दै गरेको, जुँगाको रेखीसम्म बस्न नभ्याएको, आँसु पुछ्दापुछ्दै त्यही आँसु पुछ्न सघाउन आएको एक्लो सन्तान। घर छाडेर एकछिन पनि बाहिर नपठाएको। आज आफैँलै घचेटेर पठाउनु पर्दा कुन आमाबाबुको मनमा गाँठो पर्दैन र?
ऊ त भन्छ, मरे पनि घर छाडेर जान्न। मरे पनि यही जन्मे हुर्केको माटोमा मर्छु। तिमीले यहाँ मर्न हुने, मैलै किन नहुने भन्दै उल्टै आमासँग जिद्धी गर्दैछ। तर आमाबाबु भने छोराको भन्दा आफ्नै मृत्यु अगाडि चाहन्छन्। त्यसैले पनि छोरालाई सहरमा स्थानान्तरणको लागि गाउँ छाड्न बाध्य पारिँदै थियो।
‘नरो छोरा,’ आँसु पुछ्दै आमाले भनिन्, ‘काठमाडौंमा पण्डित बाजेकोमा सबै व्यवस्था भैसकेको छ। हाम्रो आयु लम्बिएको हेर्न चाहन्छस् भने तँ बाँच्नुपर्छ। तेरो मार्कशिट हेरेर बोर्डिङ स्कुलले पनि कापी-कलमसहित फ्रीमा पढाइदिने भएको छ। बस्नको लागि पुरानै भए पनि घर छ। सफा-सुग्घर गरेर बसेस्। खानको लागि त्यही ऐलानी जग्गा कमोत गरेर खान मिल्छ रे। तँ एकजनाले कति पो खाने हो र। बनिबुतो गरेर भए पनि पाकेट खर्च पुर्याइदिम्ला।
पण्डितको मान्छेको फोन नम्बर दिएको छु। बसबाट ओर्लिएपछि फोन गर्नू, तँलाई लिन आउँछन्। त्यो दिन पण्डितको मान्छेकहाँ बस्नू। भोलिपल्ट सफासुग्घर गरेर उतै बस्नू। २/४ दिनका लागि साथी बसिदिन्छन् भनेका छन। त्यसपछि त बानी परिहाल्छ नि।’
बिहान ४ बजे नै आमा उठ्दा थाल कचौराको आवाजसँगै कालेका तन्द्रा खुलेछन्। लाउने लुगा र किताबले झोला भरियो। भर्खर देखिँदै गरेको खुर्पे चन्द्रमा पनि अस्ताइसकेको थियो। तारा आकाशमा झलमल्ल देखिए पनि त्यसको ज्योति पृथ्वीसम्म प्रयाप्त थिएन।
घरबाट निस्कने बेलामा काले सुक्क-सुक्क गर्यो, बाबुआमा, घर र साथीसंगी सम्झेर।
‘यसरी पनि रुन्छन् त, यस्ता समस्या त कति आउँछन् कति। ती सबैसँग रोएर हैन, मुकाबिला गर्नु नै जीवन हो,’ बुवा सम्झाउँदै थिए।
यति भन्दै लाइट बाल्दै बाबु अघि लागे। छोरो पछि-पछि। आमा ढोका थुनेर वलिन्द्र धारा बगाउन लागिन्।
ऊ गएपछिको हप्ता-दिन पछिबाट भने सुरक्षकर्मी आउन छाडे। जब सुरक्षाकर्मीको उपस्थिति हुन छाड्यो त्यसपछिका दिन त विद्रोहीतर्फ पो जगजगी बढ्न थाल्यो। विद्रोहलाई साथ दिन कालेको पनि जरुरत देखियो। दुवैको चेपुवामा पर्ने डरले त्यो वर्षको दसैंमा पनि घर आएन। दसैंमा त पक्कै आउँछ भनेर विद्रोहीहरूका तर्फबाट एक-एक जना मान्छे पुतलीकहाँ बुझ्न पठाउँथे। त्यही भएर अर्को दसैंमा पनि उतै बस्यो, घरै गएन।
अब भने विदेहीहरू आए पनि कालेको खोजी हुन छाडिसकेको थियो। उता काले नौको अन्तिम परीक्षा दिएर फुर्सदिलो भैसकेको थियो। सेनाको अनुपस्थिति र विद्रोहीको पनि चासो नरहेकोले दुई वर्षसम्म नहेरेको आमाको मुख एकै पटक हेरेर अघाउने रहर जागिसकेको थियो। आमालाई पनि छोराको मुख हेर्ने उस्तै रहर जागिसकेको। कालेको पनि खोजी हुन छाडिसकेकोले आइदिए हुन्थ्यो भन्ने चाहनाबीच मनभित्रै द्वन्द्व भने चलिरहेकै अवस्था थियो।
रातको नौ बजेतिर ढोका ढकढक्याएको आवाजले कालेको बुवाले सानो स्वरमा भने, ‘को हो?’
कालेले पनि उसैगरी सानो स्वरमा आफू आएको बतायो। काले भित्र पसिसकेपछि ढोका बन्द गरेर तीनै जना ओदान जस्तो भएर धित मरुन्जेल रोएँ। खाना खाएर सुत्ने तर्खर गर्दै थिए। उसैगरी सानो स्वरमा फेरि ढोका खोल्न आवाज आयो।
अब भने आशाको दियो बनेर आउने कालेजस्तै अरु कोही थिएनन्। ७ जनामध्ये ३ जना भित्र पसेर कालेलाई समातेर बाहिर निकाले। बाबुआमाको रोदनलाई सुनेनन् तिनले। नेपथ्यतिर पो डोर्याए। बग्न छोडेको आँसु फेरि बग्न सुरु गर्यो। पर्सिपल्ट छापामार युद्दमा भर्ति भएको खबरले मर्नुभन्दा त बौलाउनु नै निको ठानेर चित्त बुझाएछन्, ती बाबु-आमाले।
सेना समायोजन हुने भयो। ऊ पनि सेनामा दरियो। त्यही बुर्जुवा शिक्षाको योग्यता नभएकाले माथिल्लो पदमा जान नसक्ने भयो। त्यसैले जो भएको रकम लिएर केही गर्ने सोंचले जागिरे मनस्थितिबाट बाहिर निस्कियो। बाँकी रहेको रकमले सानोतिनो लगानी गर्यो।
यही लगानीबाट भएको फाइदाले घरजम गर्ने सुरसार गरेको थियो। त्यसबाट पनि उपलब्धी नहुँदा प्रतिफल शून्य रह्यो। कसैको अधियाँ पधियाँ गरुँ त भएको जाँगर पनि पहिला नै मरिसकेको थियो। योग्यताअनुसारको जागिर खाउँ देशमा उद्योगधन्दा छैन। भएका उद्योग पनि द्वन्द्वको चपेटामा परेर चौपट भए। त्यसपछिको विकल्प भनेको खाडी नै देख्यो।
वैदेशिक रोजागार विभागको प्रांगणमा कालेजस्तै थुप्रै युवाहरू विदेश जाने कागजपत्र मिलाउँदै थिए। उसले केही लडाकु साथीलाई चिन्यो पनि। दुःखले चिनेको मित्रता सबैभन्दा प्रगाढ र आत्मियता हुँदोरहेछ। एकले अर्कालाई सहयोग गरे।
त्यो दिन छुट्टिने क्रममा एउटाले भन्यो- ‘अब कहिले भेट हुने नि कम्रेड?’
कालेले जवाफ फर्कायो, ‘खाडी पुगेपछि।’
बिहान सबेरै कुखुरोको पहिलो डाँकमै उठ्यो। साथमा लैजानुपर्ने कागजात सम्झी-सम्झी झोलामा राख्यो। बुवाआमा दुवैले साइतका टीका लगाइदिए। जीवनसँग संघर्ष गर्न आँसु झार्न हुन्न भनेर सिकाउनेहरूकै आँखामा त्यही आँसुका बलिन्द्र धारा देख्यो उसले।
गह्रुंगा पाइला अघि बढाउँदै झोला काँधमा राख्न दाहिने हातले उठाउँदै थियो। झोला काँधमा राख्न नभ्याउँदै देब्रे छातीतिर देब्रे हातले मुसार्न थाल्यो। रणभूमिमा सामेल हुने क्रममा उसलाई त्यही देब्रे छातीतर्फ छर्राले लागेको रहेछ। सामान्य उपचारपछि ठिक भए पनि बेलाबेलामा यसले यसरी नै झस्का दिइरहन्थ्यो। यो कुरा बाबु आमालाई भनेको थिएन। सत्य कुरा सधैँभर लुकाएर कहाँ लुक्ने रहेछ र!
कालेले सान्त्वना दिँदै भन्यो- ‘केही हुन्न आमा, विदेश पुगेपछि पैसा कमाएर राम्रो अस्पतालमा उपचार गरेपछि सबै ठिक भैहाल्छ नि।’
दुखाइ अलि कम भएपछि झोला टिपेर काँधमा राखी भुकभुके उज्यालो नहुँदै गन्तव्यतिर लम्कियो।
खाडी त पुग्यो। साहुको ऋण, कामको अझै अनिश्चितता, त्यहाँको चर्कौ घामले एकैसाथ कमजोर छातीलाई झन् कमजोर बनायो। आयात गरिएका मालवस्तुजस्तै काठको बाकसभित्र प्याक भएर महिना दिनमै उसको मृत शरीर फर्कियो।
एक महिनापछि उडेको साथीले त्यो विदारक खबर पाएछ- ‘फेरि भेट हुन नै लेखेको रहेनछ कम्रेड। म यता आउँदा तिमी कहिल्यै नफर्किने गरी फर्किसकेका रहेछौ।’
माछा दिनुभन्दा माछा मार्ने बल्छी दिएर माछा मार्न सिकाउनु बुद्धिमानी हुनेछ। भएका उद्योगधन्दालाई टिकाउँदै थप उद्योगधन्दा सृजित हुन सकेको भए कालेजस्ता जुझारु युवाको अकाल मृत्युवरण र ऊ जस्तैको हजारौं आश्रित परिवारले तड्पी-तड्पी दुःखद् दिन भोग गर्नुपर्ने अवस्था आउने थिएन होला।