जब भित्ताले पनि झिजो मानेर
अर्कोपट्टि फर्कन्छ
मेरुदण्ड दुखेको बहाना गर्दै
म एक थान कपी र कलम लिई
मस्तिष्कका उखुहरू खोज्दै कोलमा हाल्छु
निर्चोछु र निचोरिन्छु
झर्छ तिर-तिर दुई थोपा रस
जो आँखाबाट झर्न सकेका थिएनन्
लाग्यो कि
कविता रुन्चे विलौना हुनु हुँदैन
अनि जोत्न थाल्छु जिन्दगीका बाँझो अनुभवहरू
जहाँ केबल भेटिन्छन्
डोबैडोब बनाएर बसेका गिर्खे ढुंगाहरू
ढुंगाहरू उप्काएर कविता लेख्नु हुँदै हुँदैन
घाउ नै घाउ कसलाई मनपर्छ
बरु म सपनाका बुट्यानहरूबाट
एक भारी स्याउला निकाल्छु
र छोपिदिन्छु घाउको संसार
दुखाइको कविता लेख्नै हुँदैन
अनि पर्खिरहन्छु
कतै स्याउलामुनि उम्रन्छन् कि
खाँदिएका गुम्फनहरूबाट
रहरलाग्दा अदुवा र पिँडालुका सुइराहरू
अचाक्ली पट्यारलाग्दो हुन्छ
पर्खाइका कविता लेख्नुहुँदैन
मिटरब्याजको पीडाजस्तो
देशको जाँतो र समाजको रोटेपिङ कसरी घुमिरहेछ
अनकनाइ-अनकनाइ केही लेखुँ
यदाकदा स्कुल जाने
दुब्लो विद्यार्थीको भद्दा चित्रजस्तो
दुःख लतपताएर
भो दुखीका क्रन्दन वर्षाउन मन छैन
लुकाउन पनि मन छैन
विदेशमा ठगिएपछि फर्कँदा
बाटोबीचै सँगीसँग भक्कानिए झैँ
खोलेर धरधरी रुवाउन पनि मन छैन
ठूला कुर्सीहरू, तिनका आकार र रंगहरू
अनि रमाइ-रमाइ दगुर्ने गणेशका मुसाहरूको खेल
बयान गर्दै भजनजस्तो केही
लेखुँ कि त
केही मनहरू सुमसुम्याउने जमर्को गरुँ
दूध दुहुन हरियो घाँसले लैनो भैंसीलाई सुमसुम्याएजस्तो
यस्तो गर्नु हुँदैन
भजन लेखेर कविता लेखेँ भन्नु पनि हुँदैन
भो कलम बन्द गर्छु
कविता लेख्नु हुँदैन।