बाले पुरानो थोत्रो साइकल
चार सय पचास हाली किनेर ल्याए
तर मिटर ब्याजमा
विद्यालयको जामा, कपी-किताब अनि भर्ना शुक्ल
सबै मुस्कुराउँदै भर्थे
त्यो पनि मिटर ब्याजमा
एक दिन पैसाले फिटफिटी भो
बा बोल्दै थिए
काम गर्ने ठाउँमा भनेको
पहिलेकै तिर्नु धेरै छ, मिल्दैन भन्यो
तर फलानोलाई दुई सय दिएको छु
एक/दुई दिनमा मिलाउँछु भन्या छ
टाउकाको टोपी फुकाल्छन्
अनि पसिना पुछ्दै मुसुक्क हाँस्छन्
जुन मान्छे, जसले गर्ने शारीरिक मेहनत तुलना गर्ने हो भने
सायद त्यो गर्न एउटा साधारण मान्छेलाई कैंयन जुनी लाग्छ होला
तराईको उखरमाउलो गर्मी
न दिन, न त रात
उनी थाक्दैनन्, मैले त कहिल्यै देखिनँ उनी थाकेको
फेरि पनि तनखा थापेको अर्को साता
विभिन्न बहानामा ऋण लिने लाइनमा उभिन्थे
म छक्क पर्थें यी सब देख्दा
न त कुनै कुलत छ, न त फजुल खर्च
यति धेरै पसिना बगाउँदा पनि
एउटा मान्छे कसरी यति अभावमा छ
सायद मिटर ब्याजले!