देवीदेउता भाकल गरेर
छोरा जन्मने अड्कल गर्दा
म जन्मिएकी अरे
काली पूजा गर्ने घरमा
काली मान्छे जन्मँदा
सकस जमेको मझेरीमा खुसी जम्न पाएन
वंश बढाउन त छोरा पो चाहिन्छ
मर्दापर्दाको छोरो नहुँदा
के भन्लान् अरूले?
छिमेकमा मेरो पुन्टे भाइ भुन्टे छ
नक्कल पार्दै छमछमी नाच्न मनपर्छ उसलाई
डान्सर बन्ने उसको सपना
लाज, भाव, रूप, रङ उसका लागि हुन् र!
काका भन्नुहुन्छ- मर्दको छोराले केटीको जस्तै सपना देखेपछि
अरुले के भन्लान्?
जीवनको गोरेटोमा
म भेट्छु एक अपरिचित परिचित
कुराकानी गर्दै जाँदा
उसले शारीरिक सम्पर्कको प्रस्ताव राख्छ
बहकैमा नाईं भन्न सक्दिनँ म
लहैलहैमा हामी एकअर्काका हुन्छौँ
भोलिपल्ट हाम्रो गोप्य भिडिओ
भाइरल बन्छ
मलाई अत्यासको आकाशले थिच्छ
गडबडीको हडबडीले बिझ्छ
छोरामान्छेको लागि यो रवाफ हो
इज्जत फालेर धर्म छाडेर पुलिसमा जाँदा
के भन्लान् अरूले?
चरित्रको बजारमा
दाइजोले मूल्य चुकाएपछि
विवाह हुन्छ मेरो
मेरो म भत्काएपछि
मेरो पति अर्कीसँग पल्किन्छ
नीलडामको मेहन्दी लगाएर
सेता दाँतका काला दागको श्रृंगार गरेर
म सुखी छु, म खुसी छु भन्छु
मानिनँ भने
अरुले के भन्लान्?
केटी बच्चा जन्माउने मेसिन ठानिन्छ
मैले पनि जन्माउनु पर्छ छोराछोरी
सपना, जागिर अनि छोड्नुपर्छ आफूलाई
आमा बनेपछि अब केही बन्दा
के भन्लान् अरूले?
नजानेको, नपढेको भन्दै
आफ्नै छोराछोरी आफ्नो हुँदैनन्
आफ्नै रगतले मनमा स्वागत गर्दैनन्
के गर्नु अब बाँचेर?
के गर्नु आश साँचेर?
आत्मा हराएको शरीर मर्न खोज्छ
पहिलोपटक आफ्नो इच्छा गर्दा
अरुले के भन्लान्?
सक्दिनँ म अब अरूका लागि बाँच्न
आफ्नो भनाइभन्दा अरुको भनाइ किन जरुरी मानिन्छ?
आफ्नो अस्तित्व किन अरूको बन्धकमा हुन्छ?
अरुको भनाइमा मेरो मनाई हुनसक्छ नि!
मलाई कमजोरीहरू जोडेर जोशले जोत्नुछ सक्षमताका पाटाहरु
आफू आफूजस्तो भएर बाँच्नु छ
आत्माको पहिचान गरेर स्वाभिमान स्वतन्त्र राख्नुछ
सोच्नु छैन मलाई
के भन्लान् अरूले?
अरूले के भन्लान्?