केही वर्षयता रामपुर गाउँमा बाँदरहरूले आतंक मच्चाइरहेका थिए। गाउँका किसानहरूका बालीनाली सबै नष्ट भइरहेको थियो। फलफूलका रुखहरूमा मुना पलाउन नपाउँदै बाँदरहरूले भाँचिदिन्थे।
गाउँलेहरूलाई वर्षभरि अन्न-सागपात समेत खान धौँ-धौँ परेको थियो। उनीहरूलाई बाघ, भालु, हात्तीको डरभन्दा पनि बाँदरको आतंकको डर बढी भएको थियो। कति किसानहरूले बसाइँ समेत सारिसकेका थिए।
दिउँसो त आउँथे आउँथे, रातमा पनि आएर कौसीतिर बसेका हुन्थे। बाँदर धपाउन गाउँलेहरूले विभिन्न किसिमका उपायहरू लागाए तर पूर्ण रुपमा सफल हुन सकेन।
कहिले ग्याटिसले हान्ने, कहिले बन्दुक पड्काउने, कहिले थाल ठटाउने, कहिले भालुको मुकट लगाएर तर्साउने जस्ता विविध प्रविधि अपनाए पनि केही दिन बाँदरहरू कम भएको देखिए पनि फेरि महिना, दुई महिनामा आइहाल्थे।
यसरी गाउँलेहरू केही गर्दा पनि बाँदरबाट स्थायी रुपमा छुटकारा पाउन सकेका थिएनन्।
यो क्रम लामो समयदेखि चलिरहेको थियो तर केही दिनयता रातको समयमा बाँदरहरू आउन छाडे। अब रातको समयमा सुत्न, खान, पिउन अलि सहज भएर आयो। गाउँलेहरूमा केही खुसी माहोल छायो।
आखिर बाँदरहरू रातमा कहाँ हराए भनेर गाउँलेहरूको चासोको विषय बन्यो। उनीहरूले यसको खोजी गर्न थाले, अन्तमा गाउँकै प्रवेशद्वार नजिक रहेको रामको मन्दिर वरपर बाँदरहरू बस्न थालेको जानकारीमा आयो।
मन्दिरमा कहीँकतैबाट एक ज्ञानी महात्मा जोगी र उनकी पत्नी आएका रहेछन् भन्ने पत्ता लाग्यो। जसले अन्य गाउँहरूबाट दैनिक रुपमा मागेर ल्याएको खाने सामाग्रीहरू बाँदरलाई बाड्दा रहेछन् र बाँदरहरू त्यही खानेकुराहरू खाएर महात्माको वरपर सुत्दा रहेछन्।
महात्माद्वय मन्दिरमा रहुन्जेल बाँदरहरू त्यही बस्थे र हिँडेपछि बाँदरहरू पनि गाउँमा पस्थे। बाँदरहरूले रातमा दुःख नदिए पनि दिउँसोको समयमा ताण्डव मच्चाउन छोडेका थिएनन्। गाउँलेहरू पनि धर्मकर्ममा विश्वास राख्ने भएकोले बाँदरलाई मार्ने काम गर्दैनथे तर समाधानका उपाय भने खोजिरहेका थिए।
गाउँलेहरू बाँदरबाट अति भएपछि एक दिन समय मिलाएर सल्लाह गरी महात्मालाई भेट्न गए। उनीहरूले आफ्नो समस्या महात्मा समक्ष राखे, बाँदर धपाउन गरेका हरेक प्रयासहरू महात्माद्वय बुबा र आमा समक्ष राखे।
सबै कुरा सुनेपछि महात्माले ‘तपाईंहरू भोलि आउनुस्, म यो समस्याको स्थायी समाधानको उपाय भन्छु’ भनेर भने। गाउँलेहरू खुसी हुँदै घर फर्किए।
भोलिपल्ट गाउँलेहरू महात्माले बोलाएको समयमा राम मन्दिरमा पुगे। महात्मा ध्यानबाट उठे। गाउँलेहरू उनका अगाडि चुप लागेर बसिरहेका थिए। महात्माले एउटा सानो प्रवचन दिए र भने- ‘तपाईंहरूको समस्याको स्थायी समाधान त हुन्छ तर तपाईंहरूले केही दिन दुःख र परिश्रम पनि गर्नुपर्छ। के तपाईंहरू तयार हुनुहुन्छ?’
गाउँलेहरूले ‘हामी जस्तोसुकै दुःखकष्ट गर्न र लाग्यो भने केही खर्च गर्न पनि तयार छौँ’ भने।
त्यसपछि महात्माले भने- ‘तपाईंहरू तयार हुनुहुन्छ भने एउटा कुरा राख्न चाहन्छु, पूरा गर्नुहुन्छ?’
गाउँलेहरूले हुन्छ भनि सहमति जनाए।
महात्माले भने- त्यसो भए म यदि तपाईंहरू मध्ये कसैको घरमा लामो समयसम्म बसेँ भने मलाई खाने, पिउने व्यवस्था मिलाउनु सक्नुहुन्छ?’
सबै गााउँलेहरूले खुसी हुँदै सक्ने जानकारी दिए।
‘ल ठिक छ, त्यसो भए आजदेखि नै तपाईंहरू सबैले बाँस काटेर बाँसको एक-एक वटा घर/खोर बनाउने तयारी गर्नुस्। त्यसपछि म केही उपाय लगाउँछु।’
गाउँलेहरूले महात्माको निर्देशन बमोजिम १० दिनभित्रै आ-आफ्नो घर अगाडि एक-एक वटाको दरले चार/पाँच सय वटा घर/खोर बनाएर राखे। त्यसपछि सबै घर/खोरमा केही फलफूल राख्न लगाए। एकैदिन सबै घर/खोरको ढोका खोलियो। बाँदरहरू गाउँ पस्नेवित्तिकै विभिन्न घर/खोरहरूमा प्रवेश गरे जुन खोरमा एउटा पस्यो त्यसलाई बन्द गरियो र जसमा बढी पसे त्यसबाट सबै निस्कन लागेपछि अन्तमा एउटा बाँकी रहँदा त्यसलाई बन्द गरियो।
यसरी विविध तरिका अपनाएर प्रत्येक घर/खोरमा एउटा बाँदर रहने व्यवस्था महात्माले मिलाए। बच्चा बाँदरलाई माउसँगै राखियो।
दिन बित्दै गयो। कुनै नयाँ बाँदर भेटिए त्यसलाई एउटा घर/खोरमा हाल्ने व्यवस्था मिलाइयो र लगभग १० दिनभित्र सबै बाँदरहरूलाई समाएर खोरमा राखियो।
अब बाँदरहरू खोरमा थुनिँदा गाउँलेहरू खुसी भए। सबैले एक-एक वटा बाँदर पाल्न थाले। गाउँमा शान्ति छायो। घरमै भएको खाना फलफूल आदि गाउँलेहरूले बाँदरलाई दिन थाले। गाउँमा कुनै आतंक थिएन, सबै खुसी थिए। केटाकेटीहरू बाँदरसँगै रमाउन थाले।
महात्माले गाउँलेहरूलाई बाँदरलाई नियन्त्रमा लिई काम पनि गर्न लगाउँने उपाय पनि सिकाए। कति गाउँलेहरूले बाँदरलाई रुख चढ्न, फलफूल टिप्न, नरिवल सुपाडी झार्न लगाउँथे भने कतिले परिवारजस्तै भएर घरायसी काम सघाउन लगाए।
केही दिनपछि गाउँमा कुनै खबर नदिई महात्माद्वय बुढाबुढी गाउँबाट निस्किए। यो कुरा थाहा पाएपछि गाउँलेहरू दुखित भए। महात्वद्वय अब गाउँमै बसिदिए हुने भन्ने गाउँलेहरूको चाहना थियो।
दिन बित्दै गयो, लगभग १० वर्षको अवधिमा बाँदरहरूको आयु सकिँदै गयो र सबै बाँदरहरू मरे। हिजोसम्म बाँदरले दुःख दिँदा मार्न खोज्ने गाउँलेहरू पछि बाँदर पाल्दा उनीहरूसँग रमाउन थालेका थिए। आज बाँदर नहुँदा उनीहरू दुखी भएका थिए। अब बाँदरहरू मेरो घरमा आइदिए, देखा परे हुन्थ्यो भन्ने चाहना भएको थियो गाउँलेहरूलाई।
एकदिन अचानक महात्माद्वय त्यस गाउँको मन्दिरमा आएको खबर थाहा पाएर सबै गाउँलेहरू खुसी भए र भोलिपल्ट भेट गर्न गए। गाउँलेहरू आएको देखेर महात्माले अब के समस्या आइपर्यो भनि सोधे। गाउँलेहरू आँखाबाट आँसु झार्दै बाँदर नहुँदाको खिन्नता पोखे। कति जना केटाकेटीहरूको खेल्ने साथी गुमेको थियो।
महात्माले भने- ‘हेर्नुस्, तपाईं हामाीले उनीहरूको बासस्थान उजाडेका छौँ, उनीहरू बस्ने जंगल, रुख, बोट-विरुवा छैन, खाने फलफूल छैन। हामीले प्रकृतिको अत्याधिक दोहन गरेका छौँ। साँच्चै उनीहरूको हामीले संरक्षण गरेको भए आज यो अवस्था आउने थिएन।
हो, हामीले बाँदर त पाल्यौँ तर तिनीहरूलाई उनीहरूले चाहेको वातावरण दिन सकेनौँ। जे होस् खान नपाएर मर्नुभन्दा समय पुगेर बाँदरहरू मरेका छन्। ठिक छ भोलि बिहान ६ बजे आउनुहोस् म केही उपाय बताउँछु।’
गाउँलेहरू दुखित मनले घर फर्किए तर एउटा झिनो आशा बाँकी थियो।
बिहान भयो, व्याकुल गाउँलेहरू राम मन्दिरमा पुगे। चारैतिर हेरे, महात्माद्वय बुबाआमालाई कतै पनि देखेनन्। अन्त्यमा सुत्ने कोठामा गए, दुवै प्राणीलाई सुतिरहेको अवस्थामा देखे। एक जना गाउँलेले महात्मा महात्माजी भन्दै बोलाए तर बुढाबुढी कोही पनि उठेनन्।
अन्तमा एकजनाले उनको ओढ्ने चादर हटाएर उठाउने प्रयास गरे तर उनीहरूको शरीर चलमल भएन। सबै गाउँलेहरू अलमलमा परे, यो के भएको हो भन्ने कसैले बुझन सकेनन्।
वास्तवमा महात्माद्वय बुढाबुढीले देह त्याग गरिसकेका थिए र उनीहरू नजिक दुई वटा बाँदरका बच्चा थिए जो चुप लागेर महात्माद्वय बुढाबुढीको टाउको निर बसिरहेका थिए।