मलाई माटोले श्राप दियो वा
आशीर्वाद दियो थाहा छैन
मलाई मातृत्वले काख लगायो
वा पाखा लगायो थाहा छैन
यी मेरा रगत पोतिएका भित्ताहरूले
मलाई स्पर्श गर्यो वा गरेन थाहा छैन
तर यति थाहा छ
मलाई स्वदेशले परदेशिने हैसियत दियो
अग्रगमनले मलाई राहदानी दियो
समाजवादले मलाई वितृष्णा दियो
अनि लोकतन्त्रले मलाई
श्रम बेच्ने मौका दियो
मात्र दिएन त
अवसरको खोजी गर्न
क्षमताको परीक्षण गर्न
यही माटोमा लडिबुडी गर्न
मातृत्वलाई अंगालो मार्न
प्रकृतिको मनोरमता स्पर्श गर्न
आमाको खाकमा न्यानोपनको आभास गर्न
अनि बाबाको काधमा शिर ठाडो पार्न
आखिर म के गर्न सक्छु र
आमाको फाटेको चोली
बाबाको फाटेको स्टकोट अनि
घरको चुहिने टिन फेर्नको लागि
पासपोर्टको साहरा लिनुबाहेक!
थाकेको मन, हतासिएको तन
आँखाको उदासीन भाव
ओठको फिक्का हाँसो
मुहारको मलिनता
भविष्यको एकोहोरो चिन्ता
बस्, योबाहेक केही छँदै छैन
सुनौलो भविष्यको खोजीमा
कैयौं चाहनाहरू टुटे
कैयौं सपनाहरू फुटे
कैयौं आशाहरू अधुरा बने
कैयौं प्रयासहरू क्षीण बने
र पनि भविष्यको खोजी
जीवित राख्नबाहेक अरु केही छँदै छैन
आँखाको आँसुले मलाई
रुझाइमा तातो महसुस गर्न सिकायो
मनको पीडाले कठोर बन्न सिकायो
अनि उदासिएको मेरो मानसिकताले
दुःखमै खुसी हुने पाठ सिकायो
अब त म धेरै खुसी छु
किनकि प्लेनका पंखाहरूमा
म आफैंलाई हावाको स्वरुप दिँदैछु
जबसम्म हावाको बेग कायम रहला
जबसम्म अक्सिजनका कणहरू बाँकी रहला
तबसम्म
ती पंखाहरू अनवरत चल्नेछन्
क्षितिजका कोसौं दूरहरू पार गर्नेछन्
जब बेग हराउँदै जान्छ
जब अक्सिजनका कणहरू
क्षीण बन्दै जान्छ
पंखाले आकाश छाड्नेछ
अनि प्लेनको ठूलो आकार
केवल एउटा सानो बाकस बनेर फर्कने छ
माटोलाई चुम्न
मातृत्वमा समाहित हुन
अनि प्रश्न गर्न
आखिर यो देशले मलाई के दियो?