राजधानीले बिर्सिएको गरिब गाउँले म
विकासमा पिछडिएको
जातभात र अन्धविश्वासमै अल्झिएको
दुर्गम ठाउँको गाउँले म
जनयुद्ध र राणा शासण कालमा मारिएका
राष्ट्रले नचिनेको सहिद गाउँलेको छोरो हुँ म
कामको खोजीमा भौतारिँदै राजधानी छिरेको छु
गाउँमा मेरा खेतबारी बाँझै छन्
तर विवश भएर रोजीरोटीको लागि राजधानी पसेको छु।
गाउँमा राम्रो अस्पताल नहुँदा बीच बाटोमै
देह त्यागेकी सुत्केरी आमाको सन्तती हुँ म
सपना त थियो डाक्टर पढेर गरिब गाउँलेको सेवा गर्ने
तर निरक्षर छु म, त्यसैले त
मजदुरीको डाक्टरी सेवामा लागेको छु
र
यसैले नै जीविकोपार्जन गर्दैछु।
त्रासपूर्ण र कठिन दिनहरू
गाउँको सम्झनाले बिताइरहेको छु
कहिलेकाहीँ घरधनीबाट सास्ती भोगेको छु त
कहिलेकाहीँ तन्दरुस्त ठालुहरूबाट लात खाएको छु
झन् त्यसमाथि बजारमा आउने गरेको
महँगाइको भीषण बाढीले
म झन् छटपटाइरहेको छु
र
सुन्ने गरेको छु समाचार
न्याय माग्न जाँदा सिंहदरबारबाट
झन् अन्यायमा परेका पीडितहरू उल्टै हेपिएका छन् रे!
मजस्तै दुर्दशा भोगेका भोका नांगा जनताहरू
गाँस-बासको विकराल समस्याबाट पीडित छन् रे!
खाडीमा गएका जोशिला र फूर्तिला
युवाहरूको लास बाकसमा फर्किँदा
निर्दोष र सर्वहाराहरूले ठालुहरूबाट
भोगेको दर्दनाक ज्यादती सरकारसामु प्रकट गर्दा
र
आफ्नै देशबाट दिनदिनै दिदीबहिनीहरू बेचिँदा
राज्य मौन छ रे!
उसको कठोर मन पग्लिँदैन रे!
यो सब सुन्दा
यस्तो पीडा हुन्छ कि जिउँदै
कसैले मेरो छाती चिर्दैछ
र
आफ्नै देश पनि विरानो लाग्दैछ
न्याय माग्न जाने सहास मरिसकेको छ
केही गर्न सक्दिनँ म
सुनेको छु यहाँ मजस्ता कयौँ गरिब जनताहरूको
बर्खाको बेला विशाल झरी छेक्ने पक्की घर छैन रे
मुटुनै बरफ बनाइदिने हिउँदको जाडो छेक्ने
एउटा थाङ्ना न्यानो लुगा समेट किन्ने पैसा छैन् रे
तर जसले सहारा र राहत दिनुपर्ने हो
ऊ भने मौन र मस्त छ रे आफ्नै दुनियाँमा
जति वेदना सुनाए पनि सरकारको कठोर
मन पग्लिँदैन रे!