सहरको रहर सकिएपछि
त्यो भिडबाट एक्लिएपछि
फर्की आएँ आफ्नै गाउँ
गोजीहरू रित्तिएपछि
जब म बिरामी हुन्थेँ
बा-आमा र चार भित्ता मात्र साथमा हुन्थे
मरेपछि मलामी जानेको
भिड मात्र न रहेछ सहर
आयु अझै बाँकी रहेपछि
वेदनामा पनि एक्लो भएपछि
सहरको रहर सकिएर आयो
अनि मात्र गाउँ फर्किने चेत पलायो
जसरी म एक्लो थिएँ त्यहाँ
त्यस्तै गरी एक्लिएको रहेछ यहाँ
मेरा बगैंचाका आँप, लिची र कटहरहरू
आफ्नो माली आउने प्रतीक्षामा
बुढो भएछ अनारको रुख पनि
त्यस्तै बुढा भएछन्
विदेश गएका छोराका पर्खाइमा
पल्ला घरे काका पनि
मत सहरको रहर सकिएर
त्यो भिडमा आफन्त नपाएर
मात्र गाउँ फर्किएको हो
मसँगै सहर छिरेका
सागर, बसन्ते, कृष्णेले
सहरमै महल ठड्याइसके
ती छैनन् गाउँमा
तर उनीहरूका आमा-बुवालाई पनि
बोलाउने गर्छन् उनीहरूकै नाममा
जस्तै कृष्णेकी आमा
तर किस्ने छैन ती बुढी आमाको काखमा
म गाउँ फर्किएपछि माथ्लो गाउँको हजुरबुबा
खुसी हुँदै आएर भने-
बाबु, धन्न तँ भए पनि आइछस्
म मरिहालेँ भने पनि एउटा काँधमा
मेरो लास बोक्ने मान्छे पुगेको थिएन
हाम्रो गाउँमा लाठेहरू कोही थिएन
अब त ढुक्क भएँ
चितासम्म पुग्ने भएँ
मेरा त खै आइपुग्दैन्न होला
मोबाइलमै हेरेर रुने भए
झसङ्ग भएँ
म गाउँ फर्किन ढिला भएछ
मेरा यादमा ती चौतारा पनि एक्लो भएछ
मत मेरालाई भुलेर
अर्कालाई खुसी बनाउने दौडमा हराएछु
आज दौड हारेपछि
आफन्तको घेराभित्र आएँ
बल्ल जीवनकै पहिलो जितको
महसुस गर्न पाएँ
आखिर यही त हो म जन्मिएको ठाउँ
म त फर्की आएँ आफ्नै गाउँ।