कविता
जहाँ कानुनको कुनै ठेगान छैन
जहाँ भ्रष्ट नेताको हुन्छ चैन
जहाँ जनता सधैं दुःखी हुने
दिनदिनै बसी एकान्तमा रूने
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ ।
जहाँ जनताको भावलाई किचिन्छ
जहाँ ठूलाले सानालाई थिचिन्छ
शक्तिको हुन्छ केवल एउटै राज
नभनूँ यिनलाई गिद्ध न आकाशको बाज
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ ।
जहाँ मानिस जिउँदै जलाइन्छ
राष्ट्रको ढुकुटी खोलाझैं बगाइन्छ
दुःखी ती मजदुरको आशालाई मारी
राखिन्छ विकास फेरि केही समय पारी
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ।
जब ठूला भन्ने नै हिंसामा उत्रिन्छन्
जब आफ्नो देश देखेर जनता नै झुक्किन्छन्
जहाँ बाटो हिँड्नलाई सुरक्षित छैन
सबैको मुखमा हुन्छ जब उत्तर होइन
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ।
मानिस बीचको त्यो ओइरोमा
गए जनता पीडा रूपी पहिरोमा
जहाँ छैन कसैमा देशभक्ति भावना
हिँड्छन् जनता गरी देश दुगर्ति कामना
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ।
जहाँ इज्जत जोगाउन हुन्छ धेरै गाह्रो
जहाँ मानवता हुनेलाई भयो जिउन साह्रो
जब आफ्नोले नै जातपात भनि छुट्याउँछ
जब आफ्नै घर तेरोमेरो भनि टुक्र्याउँछ
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ।
भन्लान् सबै स्वार्थी मलाई
जन्म दे’को यही धर्तीले तँलाई
तर जन्मले मात्र कहाँ हुन्छ भाव पूरा
के अर्थ जीवनको जब थाहा छैन कसले हान्छ छुरा
म यस्तो देशको नागरिक बन्न चाहन्नँ
ए आमा, म नेपाल बस्न चाहन्नँ
यी सबै भावलाई मनभित्र मारेर
दुःख र पीडालाई केही दिन पर सारेर
आउन सबै मिली नयाँ नेपाललाई बनाऔं
तिम्रो मेरो हात मिलाई आफ्नो देशलाई सजाऔं
भन्न नपरोस् यही कविता नै फेरि
आशाको किरणलाई आफ्नो पोल्टोमा बेरी
नबनोस् फेरि कुनै देश छोड्न लगाउने बहाना
म यस्तो कल्पना गर्न चाहन्नँ
गर्वले छाती फुलाएर भन्न पाऊँ
ए आमा, म नेपाल छोड्न चाहन्नँ। २