म सधैं बोलिराख्ने मान्छे। बोलिराख्ने भएरै होला बोल्नु नै मेरा लागि मुख्य धर्म र कर्म लाग्थ्यो। युद्धमा योद्धाले समेत विश्राम पाउँथे तर मेरा ओठ र शब्दले कहिले विश्राम पाउँदैनथ्यो।
अग्रज, साथीभाइ र आफन्तसँग चाहिने होस् वा नचाहिने विषयमा बढी बोल्ने म नै हुन्थेँ। सबैजना आफ्नै नजिकैको लाग्थ्यो, सबै नै आफ्ना, सबै नै प्यारा।
कहिले आकाश छेडिने त कहिले मनै भक्कानिने, कहिले अक्क न बक्क हुने खालका प्रसंगमा म प्रायः गफको सिलसिलामा झिकिराख्थेँ। त्यसैले नि मसँग सबै झुम्मिराख्थे गफ सुन्न, बुझ्न वा अन्य केही कारणवश।
जबसम्म फूलको रस हुन्छ तबसम्म मात्र मौरी, भमराहरू झुम्मिन्छन्। मेरो जीवनमा पनि रस सकिएको जस्तो लाग्दैछ। कारण, ती झुम्मिराख्ने साथीहरू अहिले मसँग नहुनाले।
मलाई गोडमेल गर्ने कोही भएन, पानी कसैले हाल्ने जरुरत नै सम्झिएन, न त हेरचाह नै गर्ने कोही भयो। यस्तै अवस्था र पछिल्लो समयमा जीवनमा पाएको बारम्बार असफलताले पनि मलाई आजकाल निकै नै निचोरिरहेको छ, मानसिक समस्या दिइरहेको छ।
म चुसेर बाँकी भएको उखु भएको छु। न रस छ, न पहिलेको अवस्था, न त आफ्नो औचित्य नै छ। मैले अरुलाई रस दिएँ, शीतलता, शक्ति र स्वाद दिएँ तर प्रतिफलमा मैले के पाएँ? यी र यस्तै प्रश्नको घेराभित्र भइराख्नाले आजकाल कम बोल्ने भएको छु।
हुन त म सानो-सानो कुरामा नि गहिरिएर अध्ययन गर्ने मान्छे, सानो-सानो कुरामा नि होसियार हुने मान्छे तर मित्र र मित्रताको विषयमा अध्ययन गर्नै बिर्सेछु, होसियार हुनै बिर्सेछु।
हजुरबुबाले भन्नुहुन्थ्यो सधैं- ‘गुलियो धेरै भए तितो हुन्छ।’ गुलियोको मात्रा मिलाउन नै भुलेछु। ती एकोहोरो डढेका रोटीजस्ता सुगर साथीहरूसँग बोल्न कम गरेको छु। त्यसको असर बेलाबेला मेरा नजिकका साथीहरूसँग देखाउँछु।
उनीहरू भन्छन्, सोध्छन्- के भयो तिमीलाई? सञ्चो भएन? किन नबोलेको?
तर फेरि पनि मौन भएर हाँसेर टारिदिन्छु। उनीहरू म चिन्तामा परेको सजिलोसँग बुझ्थे र मलाई खुसी पार्न हरेक कष्ट गरिरहन्थे।
मैले जीवनमा चप्पलजस्ता साथीको संगत गर्न छोडिदिएँ जसले शिरमा हिलो छ्याप्छन्। केही समय लाग्ला तर म बोल्ने छु आफ्नासँग, आफ्ना नजिकसँग तर त्यो अवस्थामा अहिले भने म आइसकेको छैन।
यो अवधिमा मैले नजिकका इष्टमित्रप्रति देखाएको मेरो रिस, आवेग, मौनताले केही असर नगरोस् हाम्रो सम्बन्धमा। म अहिले उनीहरूसँग रिसाएको छु जसले फूलको रस मात्र लिए, डढेका रोटीसँग र ती चप्पलसँग। म रिसाएपछि कम बोल्छु र म आजभोलि कम बोल्दैछु किनकि म रिसमा रिसाएको छु।
चिसो हावाको प्रभाव, खुला ठाउँ, व्यवस्थित बस्ने ठाउँ र दिगम्बर अङ्कलले बनाएको मिठो चियाले पनि गार्डेनको अरु चिया पसलभन्दा उहाँको पसलमा मानिस अलि बढी बस्न रुचाउँथे।
चियाको तलतल मेटाउन मोहमद अंकलकोमा आइराख्थ्यो। आज पनि चियाको तलतल मेटाउन ऊ त्यहाँ आएको थियो।
प्रायः बोलिराख्ने मान्छे नबोल्दा ‘भाइ के भयो? किन कम बोलेको?’ भनेर अंकलले पनि त्यही प्रश्न गर्नुभएको थियो।
त्यसैको उत्तर दिने क्रममा मोहमदको भित्री मर्म, आवेग, रिस र पीडा छताछुल्ल भएर आयो।
चियाको अन्तिम सुर्की लिँदै मोहमदले भन्यो- ‘अंकल, थाहा भयो किन रहिछ कम बोलेको?’
अंकलले पनि बुझेको झैँ मुन्टो हल्लाउनु भयो। ऊ चियाको पैसा तिर्यो अनि सरासर आफ्नो डेरातिर गयो।