म एक रित्तो काल्पनिक पात्र हुँ
मैले कुनै दिन तिमीसँग केही मागेँ भने
केही दिन नसके पनि रुखो वचन दिनू
म शब्दलाई बुनेर रत्नपार्कमा बेच्न बसुँला
किनकि यथार्थभन्दा काल्पनिक कुरा छिटो र धेरै बिक्छ यहाँ
यो सुकिला सहरमा धमिला मनहरू
अनि भरिएको सडकमा रित्तो मान्छेहरू दुःख खरिद गर्न
खुब प्रतिस्पर्धामा छन्
जब चाडपर्व आउँछ
दाजुभाइ, दिदीबहिनीले रौनक जति आफ्नै गाउँ लैजाने रैछन्
अनि राजधानीको सडकसँगै मन पनि रित्तो हुँदोरहेछ
मान्छे बिनाको सहर अँध्यारो र डरलाग्दो हुँदोरहेछ
र यो मन फेरि उहीँ भिडको पर्खाइमा बसिरहेछ।
तर यो बाघबजारको सडकमा भौतारिने
लोक सेवा पीडितहरू भने रित्ता छैनन्
दैनिक नयाँ-नयाँ सपना बेचिरहेका छन्
उता सरकार र व्यापारीहरू सपना खरिद गर्न खुब प्रतिस्पर्धामा छन्
फेरि लकडाउन भयो भने सडक पूरै रित्तिनेछ
मिटरब्याजीहरू पैदल हिँडेर माइतीघर मण्डलामा आइपुग्ने छैनन्
यही मौकामा पारेर सरकार कुर्सीमा निदाउनेछ
बदलिएको समयसँगै छोरी मात्रै बेरोजगार
छोराहरू आफ्नै बोझ बनिरहेका छन्
यहीबेला बेरोजगार रित्ता युवालाई सरकारले
नयाँ उपहार थमाइदिएछ- विवाह बिदा!
कैयौं रात तिमी निदायौ मलाई पढ्दापढ्दै तर
रित्तो म रातभर निदाइनँ तिमीलाई शब्दमा कोर्दाकोर्दै
आफूभित्र केही भर्नलाई पहिला आफैंबाट रित्तिनुपर्ने रहेछ
जसरी मसी भर्नुअघि रिफिल रित्तिनै गर्छ
कुनै एक जमाना थियो ११/१२ सकिएपछि
कुन क्याम्पस, कुन विषय पढ्ने भनेर
फर्म भर्नेको लाइनको घुइँचो हुने गर्दथ्यो
अहिले ११/१२ नसक्दै पास्पोर्ट बनाउने
र भिषा कुर्नेहरूको भिडभाड छ
रित्ता सपना बोकेर विदेश गई
भरिएको गोजी लिएर फर्कने आशामा।