आहा! कति रमाइलो थियो ऊसँगको साथ, समय र वातावरण। हामीबीच निकै प्रेम थियो। म उसलाई कति धेरै माया र सम्मान गर्थें, र गरिरहेकी छु। तर ऊबिना नै खुसी पनि छु।
ऊसँग प्रेमसम्बन्धमा गाँसिएपछि मेरो जीवनमा उसका इच्छा र सपनालाई मात्रै समेटेको थिएँ। म त उसको सहयात्री भई जीवनको गन्तव्यमा पुग्न चाहेकी थिएँ। त्यो मन-मुटुमा आत्मविश्वासको बोटलाई मलजल गरिरहन चाहन्थेँ।
पहिलो पटक यात्रामा सँगै भेटेको ऊ हेर्दै कति राम्रो राम्रो। अनि बच्चा, बुढापाका, तन्नेरी, तरुनी, अधबैंसे जो जस्तो ऊसँग त्यस्तै गरी बोली व्यवहार गर्ने! म त त्यसै आकर्षित थिएँ। त्यसैले लुकी-लुकी हेर्दै मख्ख पर्दै थिएँ।
मैले लुकी-लुकी उसलाई हेर्दै थिएँ, त्यति नै बेला उसले मलाई हेर्यो र मुसुमुसु हाँस्यो। त्यसपछि मैले नजर अन्तै मोडेको नाटक गरेकी थिएँ।
अनुहार कलिलै थियो तर पनि कति व्यवाहारिक, परिपक्व! कति माया देखाउन जानेको क्या! जे होस् पोखरासम्म ऊसँग हेराहेरको यात्रा यादगार रहने वाला थियो।
तर अचम्म, काठमाडौं आएर फेसबुकमा कोट-पाइन्ट सहितको गमक्क परेको प्रोफाइल अनि हरियालीले भरिपूर्ण चौरमा विजयकुमारको खुसी उपन्यास पढ्दै गरेको फोटोसहितको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ।
ए! उसले त मेरो बसको टिकट झर्दा टिपेर दिएको थियो। त्यति नै बेला नाम याद गरेको रहेछ क्यारे। अनि खुसी हुँदै फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेँ।
हत्तपत्त फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने गरे पनि, कुरा नगर्ने बानी भएकी म ऊसँग कति खुलेर सहजै गर्थें। ऊ पनि धेरैजसो कुरा सेयर गर्थ्यो। दिनभरिका कुरा साँझमा सुनाउँथ्यौं, दुःखसुखका कुरा गर्थ्यौं।
साँच्चै एकअर्काको बानी परेका थियौँ हामीले। मैले त उसलाई पहिलो भेटदेखि मन पराएकी थिएँ। उसले मलाई गल्ती हुँदा सम्झाउने, आत्तिँदा आत्मविश्वास जगाइदिने गर्थ्यो। म एक्लै हुँदा कुरा गर्ने साथी भेटाएकी थिएँ। अह! साथी त होइन, मैले त साथीभन्दा माथि सोचेकी थिएँ।
उसको मनमा पो मलाई कसरी राखेको थियो! सम्बन्धको डोरी तन्काउँदा चुँडिएला कि भन्ने ख्याल नगरी प्रेम प्रस्ताव गरेकी मलाई कुनै ठोस उत्तर नआउँदा आत्मसम्मान गुमाएँ कि जस्तो पनि लाग्यो। तर केही समयपछि मैरै प्रेमिल शब्द पैँचो मागेसरी माया जताउँदा धेरै आश्चर्यचकित र खुसी पनि भएँ।
ऊ अति व्यवहारिक, परिपक्व र सहयोगी थियो। मलाई ऊ प्रेमी सँगैसँगै अभिभावक जस्तै लाग्थ्यो। उसले गर्ने माया, तागत र सहयोगलाई लक्ष्यको बलियो आधार बनाएकी थिएँ।
त्यति धेरै माया गर्ने मान्छे, मेरो जीवनको मैलेभन्दा बढी चिन्ता गर्ने मान्छेलाई आखिर के भयो?
मसँग विस्तारै झर्किने, रिसाउने, कुराकानी नगर्ने गर्ने थाल्यो। हामीबीच मनमुटाव कहाँबाट सुरू भयो थाहै पाइनँ। उसलाई मेरो संघर्षको यात्रामा किन साथ दिन मन लागेन, मैले बुझिनँ।
मेरो अथाह माया, सम्मानले फेरि पनि मन जित्छु लागेको थियो तर म गलत रहेछु। मेरो साथी, उसको साली पर्नेले उसको विवाहको तस्बिर सेयर गर्दा छाँगाबाट खसेजस्तै भएँ। यसरी सपनालाई हकिगतमा बदल्न आँट दिनेले नै लत्याएपछि यात्रा कष्टकर बन्दो रहेछ।
मेरो जीवनमा खासै ठूलो सपना त छैन, मात्र आफ्नो खुट्टामा आफै उभिन सकुँ। आफ्नो बलबुताले भ्याएसम्म अरूलाई सहयोग गर्न सकुँ।
उसले छोडेपछि हातखुट्टा थरथराएको त पक्कै थियो, तर अगाडि बढेर सपना पूरा गर्ने अनि सामाजिक सेवा गर्ने मनको इच्छा शक्ति न थियो। त्यसैले हर हालतमा पूरा गर्ने लक्ष्यले अगाडि बढिरहेकी छु।
मेरो भूपू प्रेमी, तिमीले आधा यात्रामै छोडे पनि मेरो जीवनमा आमूल परिवर्तन ल्याइदियौ। यो सबै सबैको लागि धन्यवाद।
अहिले म जीवन बडो सन्तुष्टिका साथ बिताइरहेकी छु। म यी नै शब्द-शब्दहरूमा अनि प्रकृतिमा रमाइरहेकी छु। म एक्लै रमाउन जानेकी छु। त्यसैले एकदमै खुसी छु।