च्यातिएका सडकका छातीहरूमा
कैंयन गरिबी सपनाहरू कुल्चिएर
चिल्ला गाडीहरूमा
गुडिरहेछन् सुकिलामुकिला जमातहरू
खाल्डाखुल्डी छेउकुना नमिलेका
फुङ्ग रङ उडेर
लमतन्न पस्रिएको सडकको कथामा
आफ्नो पहिचान हराएका निर्धाहरू
के सडक किनारमा
उभिने पनि अधिकार छैन?
हुनेखानेको मात्रै पनि हो त होइन सडक
शक्तिशालीको मात्रै पनि होइन सडक
तर किन एक गरिबको पनि
सक्दैन बन्न सपना सडक
शक्तिको आडमै जेलिएर
सडकमै पनि त विभेद जन्मिदोरहेछ
ठाउँ-ठाउँमा उप्किएका खाटोहरू जस्तो
उप्किएका कुरुप सडक
अनि त्यही सडकको ऐनामा देखिने
कैंयन मान्छेका कुरुप अनुहार
छताछुल्ल देखिन्छन्
समयले पनि कस्तो छिर्के हान्दोरहेछ
गरिबी कथाहरू
सडक किनारमा बिलाइरहन्छन्
अमूक नियमका फेर बदलको चपेटामा
चेप्टिदोरहेछ
सडक सम्भ्रान्तहरूको मात्रै होइन
सडक निमुखाहरूको पनि त हो
सडकको राजनीतिमा
किन कोरिएको छ विभेदको सीमारेखा?
सडक हिँड्ने बाटो न हो
हिँड्नेहरूलाई निर्वाध हिँड्न दिनुपर्छ
सडकहरूमा सबैले सपना देख्न पाउनुपर्छ
सडकहरूमा आफ्नो कथा लेख्न पाउनुपर्छ
सडकहरूमा सबले जीवनगीत गाउन पाउनुपर्छ
अन्यथा त्यही सडकमा
कुनै दिन विशाल क्रान्ति उठ्नेछ
र फेरिन सक्छ सडक इतिहास
रङ्गिन सक्छ आक्रोशको रङले
तसर्थ
सडक सडक जस्तो होस्
जहाँ हर मान्छेको जीवन प्रतिबिम्बित होस्।