मेरो बुवा-आमा ठूलो रुख हुनुहुन्थ्यो
मलाई यो धर्तीमा
बिरुवाको रुपमा उमारेर
ब्रम्हलीन हुनुभयो आकाशमा
र मेरा पनि बिरुवाहरू छन्
बढी नै रहनेछन्
शीतल दिँदै उनीहरू पनि
उनीहरूका बिरुवाहरूलाई
जब म यो संसारबाट
बिदा लिनेछु
मेरो खरानी र दाउराको चेपबाट
नदी किनारमा
एउटा पिपल उम्रनेछ
पिपलको दाना खाएर झुसिलकिराहरू
बड्नेछन्
र पुतली बनेर बगैँचामा रम्नेछन्
पुतलीहरूले कुनै दिन
देहत्याग गर्ने छन्
र मलिलो माटो थुप्रनेछ
त्यही थुप्रोको बीचबाट
एउटा सयपत्रीको झ्याङ बढ्नेछ
सयपत्रीका फूलहरूलाई
युवतीहरूले
आफ्नो चुल्ठोमा सजाउनेछन्
यो संसारको नियम हो
यो सृष्टि
यसैले म ओझेल परिहालेँ भने
नरुनू साथी
म कुनै दिन बिरुवा भएर
बाँचिरहनेछु युग-युगसम्म।