थाहा छैन त्यो दिन उसलाई के भएको थियो, हाम्रो भेट भएदेखि बोलेको बोल्यै थियो। उसले पिएको हो भनौँ अहँ! मैले आजसम्म उसले पिएको देखेको छैन।
मैले प्रसङ्ग मोड्न सोधेको थिएँ- ‘अनि भेट भयो त स्मितासँग?’
बोल्न नचाहेर हो कि भेट नभएर ऊ बोलेन, मौन रह्यो। दुई वर्षअगाडि बानेश्वरको हिमालयन जाभा कफी शपमा भेट हुँदा उसले स्मिताको बारेमा यसरी सुनाएको थियो-
‘दाइले लोक सेवामा नाम निकालेर भक्तपुरको सामुदायिक स्कुलमा पोस्टिङ हुनुभएको थियो। जागिर यतै हुने भएपछि मलाई पनि भक्तपुरमै ल्याएर पढाउने निर्णय गर्नुभएको थियो दाइले।
सानैदेखि सपना थियो एकदिन काठमाडौँ जाने, दाइले त्यो सपना पूरा गर्दिनुभयो। अझ भक्तपुरमै बसेर पढ्न पाउने भएको थिएँ। पहिले-पहिले ठाउँ रमाइलो लागे पनि कहिलेकाहीँ घरको न्यास्रोले सताउँथ्यो।
दाइकै स्कुलमा कक्षा नौमा भर्ना भएँ। नेवार समुदायको बाहुल्यता भएको ठाउँ, साथीहरू क्लासमै नेवारी भाषा बोल्दिन्थे। अझ सर-म्यामको उच्चारण गर्ने शैली त अनौठो लाग्थ्यो।
स्कुलमा प्रायः सबैले सरको भाइ भनेर चिन्थे। क्लासमा बढी बोल्न पनि नपाइने नत्र दाइलाई खबर पुगिहाल्थ्यो।
नौ/दस क्लासमा मैले ऐच्छिक विषयमा वातावरण विज्ञान लिएको थिएँ। त्यहीँ हो मैले पहिलो पटक स्मितासँग भेट भएको।
गोरो वर्ण, ठिक्कको उचाइ र चट्ट परेको जीउडाल ठ्याक्कै भन्दा हजुरआमाले सुनाउने कथाकी राजकुमारी जस्तै लागेकी थिई ऊ मलाई।’
यो सुनाउँदै गर्दा उसको अनुहारमा मुस्कान छाएको थियो। सोचेँ, स्मितासंग भेट भए कति खुसी होला ऊ!
‘हाम्रो सेक्सन फरक थियो तर त्यही एउटा विषय थियो जहाँ हाम्रो भेट हुन्थ्यो। पैँतालिस मिनेटको क्लास सकिएको पत्तै हुँदैनथ्यो। भन्छन् नि, प्रेममा पर्न बोल्नै पर्छ भन्ने छैन। यो त यसै भैजाँदो रहेछ। ऊसँग मेरो नबोली नबोली माया भयो।
ऊ बेलाबेला मतिर हेर्थी, नजर लुकाएर म नि हेर्थें बेलाबेला। साथीहरूले जिस्काउँथे, लाजले भुतुक्कै हुन्थेँ। उनीतिर हेर्ने हिम्मत आफैं हराउँथ्यो। अरु केटी साथीहरूसँग मजाले बोल्ने म ऊसँग दुई/चार शब्दभन्दा बढी कहिले बोल्न सकिनँ। किन हो किन बोली नै अड्किए जस्तो हुन्थ्यो।
टर्मिनल परीक्षाको कपी चेक गरेर नम्बर गन्न दाइले मलाई दिनुहुन्थ्यो। थाहा पो पाइहाल्छन् कि भन्ने डरैडरले भए पनि उसको कपीमा नम्बर बढाएर राखिदिन्थेँ, खुसी लाग्थ्यो।
दुई वर्ष कतिखेर बिते पत्तै भएन। एसएलसी नजिक आइरहेको थियो, साथै स्कुल छुट्ने दिन पनि। स्कुल बिदाभन्दा पनि उसलाई पो देख्न नपाइने हो कि भन्ने पीर थियो मनमा।
त्यो दिन उसलाई अन्तिम पटक देखेको थिएँ। हामी केटाहरू गेटबाहिर सरसँग कुरा गरिरहेका थियौँ। त्यत्तिकैमा ऊ आफ्ना सहेलीहरूसँगै हामीतिरै आउँदै थिई। उसको नजर गेटतिर हामीमा थियो तर मुटुको धड्कन रफ्तारमा दौडिरहेको जस्तो लाग्यो।
उसले मसँग केही कुरा भन्नुथ्यो सायद, नजिकै आएर बोल्न खोज्दै हात हल्लाएकी थिई। म कति कायर, डरपोक रहेछु! छेउमै रहेका सरले दाइलाई पो भन्लान् कि भन्ने डरले बोल्न पनि सकिनँ। आज पनि पछुताउँछु, त्यो दिन ऊसँग बोलेको भए सायद आज ऊ मसँग पो हुन्थी कि!
त्यो अन्तिम दिन थियो उसलाई देखेको। एसएलसी सकियो, रिजल्ट पनि आयो तर ऊ आइन। अहँ! ऊ आउँदै आइन। रिजल्टपछि स्कुलले विद्यार्थीलाई सम्मान कार्यक्रम राखेको थियो, उसलाई देख्छु कि भन्ने मनमा झिनो आशा लिएर स्कुल पुगेको थिएँ। तर अहँ! ऊ आइन। कहिलेकाहीँ लाग्थ्यो ऊ मेरो सपना हो जो यथार्थमा छँदै छैन।
भन्छन् नि, नजिक हुँदा केही कुराको त्यति मतलब हुँदैन तर जब ऊ टाढा हुन्छ उसको अभाव खट्किन थाल्छ। अनि थाहा हुन्छ कति महत्त्वपूर्ण रहेछ ऊ भनेर। जबसम्म स्मिता सँगै थिई, त्यति मतलब थिएन। जुन दिनदेखि उसलाई देख्न छोडेँ, बल्ल थाहा पाएँ मलाई त लत लागिसकेछ उसको।
छटपटी हुन्थ्यो उसलाई देख्न नपाएकोमा। आजसम्म उसका यादहरू संगालेर बसेको छु, सायद कहिलै बिर्सन्न होला ती पलहरूलाई। अझै पनि आशा छ जिन्दगीमा एक दिन त कसो भेट नहोला र ऊसँग।’
यो भन्दै गर्दा उसका आँखा रसाइसकेका थिए। लाग्थ्यो उसको कोमल मनमा स्मिताले अमिट छाप छोडेर गएकी छे जो कहिलै मेटिने छैन।