छोरा, तँ जा
अन्तै जा
यो देशमा केही गर्छु भन्नेहरू
कोलमा तोरी पेलेझैँ पेलिनु पर्छ
र खली भएपछि
सडक बीचमा आगो लगाई जलिनुपर्छ।
भोली त जल्न नपरोस् भनेर भन्दैछु
ए छोरा, बरु जा विदेश तिरका ती देशमा बस्, रमा
आफ्नो जीवन चाहिँ व्यर्थ तँ नफाल् यो देशको पीरमा
खोक्रो देश छ सुध्रिँदैन कहिल्यै, आशै नगर्नू अब
तेरा स्वप्नहरू अनेकन हुन्न जा पूर्ण पार्नू सब
तैँले यो देश बदल्छु नसोच्नू
कागको भिडमा बसेको बकुल्लाले कागको नेत्रृत्व गर्न सक्दैन
कागको काँ-काँले बकुल्लो फ्याँ-फ्याँ पर्छ
लङ्गुरको मुखमा अङ्गुर राख्दैमा
लङ्गुर बङ्गुर जत्रो बन्ला तर
अङ्गुरको औकातमा पुग्दैन।
यो देशले तेरा हजुरबा लग्यो
बा लग्यो
तर केही ल्याउन सकेन
लगेर मात्रै गयो, लगी...रह्यो।
अब तैँले यत्ति बुझ्नुपर्छ
जुन दिन हजुरबा शहीद भए भौतिक संसार छोडेर
हो, त्यही दिन हिँडेका हुन् बा पनि घरबार छोडेर
बा जाँदा आमाको खुसी पनि लगेका रहेछन् त्यसैले
आमा भन्छिन्, बाबू त नजानू देश भन्दै परिवार छोडेर।
तेरा बाले
देश, देश, देश, देश
भन्दाभन्दै आफूलाई बिर्सिए
आफू कसैको बाउ भएको बिर्सिए
श्रीमान् भएको बिर्सिए
छोरा, तँ पनि कसैको श्रीमान् हुनेछस्
तैँले त श्रीमान् भएको नबिर्सनू
तेरी पनि सानी छोरी होली
नबिर्सनू
तैँले देशलाई भन्दा छोरीलाई धेरै दिनुछ।
देश भनेको माटो मात्रै होइन
राष्ट्रियता भनेको खोक्रो राष्ट्रमा
भोकै-नाङ्गै चुप लागेर बसिरहनु होइन
बाँसको हलो बन्दैन छोरा
त्यसैले तँ जा
प.....र जा
तँ गधा भएर होइन, मान्छे भएर बाँच्न पाउनुपर्छ
तँ देश छोडेर जा छोरा!
जा...।