समयको टेबलमा
तिमी, म अनि
एक-एक कप कफी।
चुइगम झैँ तन्किँदै जाने
तिम्रो तातो गफमा भुल्दै
चिसो कफी सुर्क्याएको
हिजो जस्तै लाग्छ।
बुझ्दैछु-
एक रात पनि एक युग बराबर हुने रहेछ।
थाह छ तिमीलाई?
तिमी कफीभन्दा पनि गुलियो थियौ
मैले बुझ्नै ढिला गरेँ
कि गुलिया चिज अक्सर
हानिकारक हुन्छन् भनेर।
आजभोलि
यो मनले तिमीलाई याद गरेको
त्यति याद छैन
तर
एक्लै भएको
मेरो कफीको कप
तिम्रो कपलाई सम्झेर
खुब बिलौना गर्छ
र
निन्याउरो मान्दै
विस्तारै सेलाउँछ
हेर त
टाढा त हामी भयौँ
तर बिछोडको पीडा
यो कपले भोग्दैछ।