बाको हात समातेर हिँड्दै गर्दा
चप्पलको फिता चुँडिएर रुँदै गर्दा
बाले डोरीले फिता बनाइदिएर चप्पल लगाइदिँदा
खुसीले चार हात उफ्रिने म
घुँडामा प्वाल परेको पाइन्ट
काटेर कट्टु बनाएर लगाइदिँदा
पछाडि परेको प्वाललाई
टालो हालेर सिलाइदिँदा पनि
खुसीले चार हात उफ्रिने म
दसैँमा नयाँ कपडा भनेर
स्कुलको ड्रेस किनिदिँदा
टीका लाएर हातमा पचास पैसा पाउँदा
मकैको भात खाएर वाक्क परेको म
एकदिन चामलको भात खान पाउँदा
खुसीले चार हात उफ्रिने म
सरकार तिमी छौ नि?
मजस्ता भुइँमान्छेको कुरा सुन्छौ नि?
हो सुन्छौ भने
म यस्तै साना-साना कुरामा खुसी भएर हुर्किएको हुँ
त्यसैले तिमीबाट ठूलो आशा त छैन नै
देखेनौ अस्ति राष्ट्रपति सवारी हुँदा
म खुरु-खुरु बाटोमा हिँड्न पाउँदा त
कति खुसी भएँ
मलाइ देश छोडेर जाने राहदानी बनाउन
अब लाइन लाउनु नपर्ने भो भन्दा त खुसी भएँ
तिमीलाई सरकारमा पुर्याउन
कैँयन पटक पार्टीको झन्डा बोकेर
मजस्ता हजारौं युवा
अब त केही होला यो देशमा भनेर
तिम्रै अघि-पछि लाएर हिँडेकै हो
तिमीले छोराछोरी विदेश पढायौ
उतैको नागरिक पनि त बनायौ
राजदूत तिम्रै मान्छे बनायौ
मन्त्री तिम्रै नजिकको मान्छे बनायौ
संवैधानिक अंगमा नियुक्ती बाँडिचुडी नै गर्यौ
जहाँ पनि पहुँचकै आधारमा आफ्ना मान्छे राख्यौ
र पनि त म केही नबोली खुसी भएँ
त्यसैले सरकार
मजस्ता हजारौं युवा मारमा छन् अहिले
आर्थिक मन्दीको मानसिक असर खेपिरहेछन्
देखेनौ कतिले आत्महत्या गरे छुटकरा पाउन
कायर बने कतिका नजरमा
व्यापार व्यवसाय चौपट छ
कृषिप्रधान देशमा किसानहरू मारमा छन्
उद्योगधन्दा बन्द हुने स्थितिमा छन्
बैंकको ब्याजदर महङ्गो छ
युवाहरू पाएसम्म देश छोड्ने होडमा छन्
सरकार बनाउने ढाल्ने खेल तिमीहरू नै खेलिराख
कम्तीमा सरकार
हामी भुइँमान्छेको लागि
यहीँ बसेर केही गर्ने वातावरण बनाइदेऊ न
केही गर्छु भनेर देश छोड्न नसकेका युवाहरूलाई
देश छोड्नबाट जोगाइदेऊ न
बस् खुसी यतिमै छ
यसो यतातिर पनि नजर लगाइदेऊ न।