एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच। डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित। धेरै जसो फिलिपिनी छन्। केही बंगाली पनि छन्। पाकिस्तानी र इण्डियन पनि छन्, भीडमा। मैले चिनेको म मात्रै छु। भीडमा नेपाली देख्दिन। देखे पनि नेपाली र फिलिपिनीको अनुहार उस्तै उस्तै मानिने हुँदा चिन्न सक्दैन, त्यसैले चुप छु, खाँदै।
अस्ति किनेको आइफोन सेवेनको वाएरलेस एयरफोन कानमा घुसाएर मन्द स्वरमा गाना सुन्दै छु। कसैलाई वास्ता छैन मेरो र मलाई पनि वास्ता छैन कसैको। यो सहरै त्यस्तै छ। सबैको पीडा एउटै भएपनि कोही कसैसँग खुल्दैन, सबै आ–आफ्नै धुनमा मस्त। लेटेस्ट गाना सुन्दैछु। हेमन्त रानाको सुन साइली ....।
मेट्रो आउने संकेत स्क्रिनमा बजेसँगै मेरो भाइबरमा म्यासेज आयो। मेट्रोभित्र केही खान नपाउने नियमलाई पालना गर्न डस्टविनमा कफीको कप र स्याण्डविचको खोस्टा फाले अनि मुख पुछेर मोबाइल निकाल्दै मेट्रो चढ्ने ढोकामा पुगें। ‘ के गर्दै डियर ? म भर्खर कलेजबाट आएँ, अब काममा जानुपर्छ। मिसिङ यु है लाटा !’
रुविले जापानबाट म्यासेज पठाकी रैछ। हेर्दै मुस्कुराएँ। अनि मेट्रोमा चढें।
मेट्रोको सिटमा बसेपछि यताउति नजर डुलाएँ। धेरै युवायुवतीहरु मस्त थिए,गफमा। सबै युगलजोडी जस्ता देखिन्थे। फ्राइडे विकेण्ड मनाउन कहिले सिटीसेण्टर त कहिले झुमेरा बीच गर्ने ती जोडीलाई देखेर रुवीको यादले सतायो।
रुवी ! नाममा के छ र ?जति उसको मायामा छ।
म उसलाई रुवी भन्दिन। काली भन्छु। गहूँगोरी उसलाई कालीभन्दा ऊ सधैं मुस्कुराउँथी। ऊ मुस्कुराउँदा म आफूलाई संसारभरको सबैभन्दा ठूलो भाग्यमानी ठान्थे।
त्यही भाग्यमानी ठान्ने चक्करमा हामीले लभ म्यारिज ग¥यौं। ऊ पढाइमा तीखो दिमागकी थिई, विहे गरेकै वर्ष जापानमा स्टुडेण्ट भिषामा नाम निकाली। ऊ उता उडी, सयौं कोशिस गर्दा पनि मैले नाम निकाल्न सकेन अनि म यता उडेँ।
कस्तो कर्म ? देख्नेहरु जोई–पोई फरेनमा भनेर डाहा गर्छन्। सबै जना हाम्ले कमाउने रुपैयाँ–पैसामा ध्यान दिन्छन्, तर भित्री कथा हामीलाई मात्र थाहा छ। रुवी अर्थात् मेरी कालीलाई अनि मलाई।
तीस सेकेण्डको रुकाईपछि मेट्रो चल्यो, मैले मोबाइल निकालेर उसलाई रिप्लाई गरें ‘ आज छुट्टी छ कालु। घुम्न निस्केको छु। मिसिङ यु यार डियर।’
म्यासेज सकेर स्क्रिन अफ गर्दै थिएँ, उसले तुरुन्त म्यासेज गरी ‘ बाउ ! मस्ती छ है ? यदि हामी सँगै हुन्थ्यौ भने !’
उसको म्यासेजले मलाई चसक्क घोच्यो। विहे गरेकै बर्ष छुट्टिएका हामी अब उसले सोचे जस्तो सँगै कहिले हौँला भनेर मन पोल्यो।
उसलाई मसँगगफिने फुर्सद हुँदैन। विचरी अस्ति भन्दै थिई ‘ काममा, कलेजमा जाँदा–आउँदा तिम्लाई कल गर्छु। अरु बेला मिल्दैन।’
‘ कति अभागी रै‘छौं है हामी ! ’ म यस्तै सोच्छु।
तर दुनियाँको लागि कति भाग्यमानी छौं, हामी। कहिले काहीं लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको एउटा टुक्का याद आउँछ। ‘हातका मैला, सुनका थैला के गर्नु धनले। साग र सिस्नु खाएको वेश आनन्दीमनले।’
यो टुक्का सम्झिँदा रुवीलाई जापानबाट क्यान्सिल बोलाएर मलाई पनि नेपाल फर्किन मन लाग्छ, तर आदर्शले जीवन चल्दैन। अभावले माया फस्टाउँदैन। कैयौ उदाहरणहरु छन्, हाम्रै गाउँघरमा जो अभावको पीडा सहन नसकेर छुट्टिएका छन।
आज मेरो छुट्टी हो, त्यसैले म खुशी छु। ऊ विहान कलेज, दिउँसो काम गरेरै थाकेको सुनाउँछे। अरु दिन म पनि थाक्छु, तर आज फ्राइडे। मेरै दिन जस्तो लाग्छ मलाई। उती बेला स्कूल जानु नपर्ने शनिबार मेरै दिन लाग्थ्यो , आज भोलि काममा जानु नपर्ने शुक्रबार मेरै लाग्छ। म फेरिएको हुँ या समय। पत्तो छैन।
एउटा कुरा सम्झेर अचम्म लाग्छ। कहिलेकाहींकाममै पनि हाँस्छु, आज मेट्रोमा बसिरहेको मौकामा पनि हाँसो लाग्यो। यताउताका मान्छेले देखेर सोचे होलान ‘ यो पागल रहेछ। ’
तर म पागल हैन, आफ्नै बाध्यता सम्झेर हाँस्छु। बाध्यता पनि कस्तो कस्तो आइपर्छ , आफ्नै श्रीमतीसँग च्याट सेक्स गर्नुपर्ने बाध्यता।
यस्तो बाध्यता परेकाहरु धेरै होलान् तर भन्दैनन्। मैले आफ्नै दैनिकीमा यो कुरा उल्लेख गर्दैछु। किनकी म यी कुरा बुढेसकालसम्म सम्झेर हाँस्न चाहन्छु।
बाध्यता पनि अनेक प्रकारका हुदाँ रहेछन। साँझ–विहान हात–मुख जोर्ने बाध्यताले परदेशमा भास्सिएका हामी जस्ता लाउरेहरुको लागि श्रीमती सँग हाँसी–रमाइलो गर्न वा यौवनको प्यास मेटाउन च्याट गर्नुपर्ने र यसैबाट सबै काम सक्नुपर्ने बाध्यता।
बाध्यता मेरो मात्र हैन, हाँस्नु पर्दैन।
मैले लेख्न जान्या छु, मेरो बुढीले लेख्न जान्या छे। मैले फेसबुक चलाउँछु र उसले पनि। अनिहामी च्याट सेक्स गर्छौं। विचरो बंगाली सेराज अंकल सुटुक्क फोनमा सेक्स गर्छ। बंगलादेशको न्वाखाली भन्ने स्टेटमा बस्ने सेराजकी बूढी उमेरले चालिस कटिन रे। अनपढ अन्टीलाई फोन उठाउन आउँछ। फुर्सदमा कुनातिर गएर सेराजले जिस्काउदै भन्छ ‘के मन आसे ? आए बहुत मन कच्छी, सँग सुते आइतमनि ?’
कैयौ पटक उसले यस्तो भनेको मैले सुनेको छु। त्यति मात्र कहाँ होर ? अलि परको कम्पनीमा सेक्युरिटी गार्ड बनेर आएका रुपलालदाइले स्काइपमा हेर्दै भाउजुलाई सेक्स गर्छन् रे। अस्ति भन्दैथे ‘ के गर्चस् कान्छा ! वर्षमा पैंतालिस दिन छुट्टी हुञ्च ! दश दिन जाँदा आउँदा सकिन्च। बाँकी पैतिस दिन। आफन्तको मा जाउ–आउ पन्द्र दिन सकिन्च। बच्यो बीस दिन। त्यही मौकामा तिम्री भाउजु मिन्स भैदी भने एक हप्ता सक्यो। बच्यौ तेह्रदिन। वर्षमा तेर दिन मस्ती गरेर चित्त बुझाउनु पर्या छ बाबु।’
अब सोच्नुस् आफै ! वर्षमा तेह्रदिन बूढीलाई अँगालो मार्न पाउने रुपलालदाइ त स्काइपमा सेक्स गर्छन् भने मैले त वर्षौं कुर्नु पर्छ,अझै।
अस्ति उसलाई नेपाल आइज म छुट्टी मिलाउँछु भन्दा भन्दै थिई ‘ कर्ममा लेखेको छैन कि झैं लाग्छ दीपक ! नेक्स्ट मन्थबाट इक्जाम चल्दैछ अनि तुरुन्तै अर्को काममा गैएन भने कलेज फी र होस्टल फी तिर्न सकिँदैन अनि सधैंका लागि नेपाल आउनुपर्छ।’
कति अभागी छु म। कहिले हाँसोका फोहरा छुट्छन् त कहिले पीडाका भक्काना। अहिले पैसा छ, मस्ती छ तर हामी एकअर्का सँगै छैनौं। यस्तो पैसा अनि मस्तीको खास्सै महत्व नहुँदो रहेछ।
मन खिन्न हुँदै थियो, मेट्रो बुर्ज खलिफा स्टेसनमा आएर रुक्यो। म झरें। सरासर बुर्ज खलिफाको साइडमा भएको दुबई मल भित्र छिरें। छुट्टै संसारको झझल्को दिने यो मलमा पनि मलाई रुवीको यादले सताउन छाडेन।
अँगालोमा बेरिएर, हाँस्दै मजाक गर्दै मल, पार्क घुम्ने हाम्रा सपना जापान एम्बेसीले टुटाइ दियो। अनेक उपाय लगाउँदा पनि मलाई जापानी भिसा मिलेन। र त आज ऊ उठ्दा म निदाउँछु र म निदाउँदा ऊ उठेर काममा जान्छे। फुर्सदमा च्याटमा जिस्कन्छौं, फोनमा हट बन्छौं अनि च्याट र फोनमै सेक्स गरेर श्रीमान–श्रीमतीको नाता बचाउँछौं।
अस्ति जिस्कँदै गर्दा उसले भनी ‘ अब बच्चा बनाउनु पर्छ, मलाई आमा बन्ने रहर छ। सेक्सको आवश्यकता त च्याटबाटै मेटाइदिएका छौ अब मलाई प्रेगनेन्ट पनि बनाऊ।’
महाँसे, ऊ पनि हाँसी। फेरि एक पटक संसारभरको खुशी मिल्यो।