ममाथि तिम्रो गम्भीर आरोप छ आमा,
म कसैको प्रेममा भुलेर तिम्रो स्नेह बिर्सिएँ
जब तिम्रो मासिक चक्र रोकियो नि,
तिमीले एक-एक थोपा खुसी जम्मा गर्यौ
हृदयको भकारीमा
जसरी पाठेघरको सहकारीमा,
एक-एक थोपा रगत वचत भइरहेको थियो
विज्ञानले त भन्छ,
अरु सात रङ मिसाउँदा सेतो र
सेतो रङ छुट्याउँदा अरु सात रङ बन्छन्
ठयाक्कै क्षितिजमा देखिने इन्द्रेणीजस्तै
जब रगतको एकै थोपाबाट अनगिन्ती रङहरु आविष्कार गरेर,
सिंगो जिन्दगी बनाउन होमियौ नि आमा,
रङको सोध गर्ने वैज्ञानिकहरु
ऊ … तल कहाँ हो कहाँ छुटिसके
देख्छु, सहरका बडेबडे चित्रकारहरु,
कोर्दै, मेट्दै, मेट्दै, कोर्दै गरेर
एउटा बाङ्गो-टिङ्गो आकार बनाउन
सिंगो जीवन खर्चिन्छन्।
तिमी थोपा-थोपामा सञ्चय गरेको उही खुसीबाट
चिटिक्क परेको एउटा जीवन बनाइबस्यौ
ती खुसी जोगाउने नाममा तिमी कतिपल्ट रोएकी छ्यौ,
सुन्छ्यौ तथ्य र तथ्याङ्कसहित?
थरीथरीका रङबाट आकार बनाउन जीवन खर्चिने चित्रकार र,
जीवन बनाउन मन बाँध्ने तिमीबीच कुनै तुलना हुन्छ र?
हेर न, तिमीले रचेको मेरो यो सुन्दरतालाई आज प्रेम गर्नेको
कत्रो लाम छ।
सायद यसैकारण,
ममाथि तिम्रो गम्भीर आरोप छ आमा,
म अरु कसैको प्रेममा भुलेर तिम्रो स्नेह बिर्सिएँ
जब पाठेघरको स्टेडियममा,
सालनालसँग मेरो विश्वकप चलिरहेको थियो नि,
छेवैको गोलपोष्टमा मैले आशै आशाको बल छिराउन,
उत्ति नै बल लगाउँदा,
तिमी आफ्नो बल गुमाएर कसरी थचक्कै बसेकी थियौ
तिम्रो अनुहारमा चम्किएको त्यो हिरा ...
मा... थि आकाशको तारासँग कसरी तुलना हुन्छ र?
तर महिनाहरु बित्दै जाँदा,
जसरी मलाई पाठेघर साँघुरो लाग्यो नि,
ठ्याक्कै त्यसैगरी वर्षहरु गुज्रिँदै जाँदा
म घरमा अट्न सकिनँ
यही आधारमा मैले तिम्रो स्नेह बिर्सिएँ भन्ठान्छ्यौ भने
म तिमीलाई नै सोध्छु आमा,
तिम्ले पलपल मरेर हुर्कोएको जीवनमा
मन किन मिसाइनौ?