कहिलेकाँही यस्तो पनि लाग्छ, नेपाली गुरू नभएको भए कस्तो हुन्थ्यो होला। मेरो स्कुले जीवनमा म त्यस्तो भयङ्कर बदमास त थिइनँ। मैले कसैसँग झगडा गरिनँ। बरु सानोमा अरूको पिटाइ खाएँ। तर, ध्रुवसँग किन हिँडेको भनेर घरमा मलाई बाको प्रश्न हुन्थ्यो।
ध्रुवसँग हिँड्न थाल्यो भने बिग्रन सक्थेँ, चुरोट खाएर, गाजा खाएर। कृष्णको सङ्गत नगर्, क्लासमा पछाडि नबस्... सरहरूसँग प्रश्न सोध्... इत्यादि–इत्यादि। केटाहरू कस्ता छन्, सब बालाई थाहा छ, जासुस नै हुन्जस्तो लाग्छ। पाइन्ट कम्मरभन्दा तल झरेमा, अगाडिको कपाल अलि ठडिएमा, यहासम्म कि मैले मुख नढाकीकन हाई काढेमा पनि त्यो कुरा बाको कानमा सीधै पुग्थ्यो। मैले जानीजानी कुनै सर वा मिसलाई वीस नगरेमा, ट्वाइलेटमा बढी बसेमा, स्कुल नआएमा गुरूबाट बालाई खबर भैहाल्थ्यो। जे होस्, कुरौटे गुरू नारदमुनि नै हो।
एकचोटि नौमा हुदा स्कुल नगई हामी रानीमहल पुगेका थियौँ। घरबाट स्कुल जाने भनेर निस्कियौँ, झोलामा किताब हैन, अर्कै लुगा कोचेर। पदमको मामाघरमा गएर लुगा गर्र्यौँ अनि विन्दवासिनी हलतिर टाप दियौँ। त्यसरी ठगेर गएको हुनाले फिल्म हेर्दा पनि डराइरहेको थिए। हुन त बा हिन्दी फिल्म पटक्कै हेर्दैनन् तर मैले बाजस्तै मान्छे हलमा देखेँ र बा भनेर जिरिङ–जिरिङ पनि भए। त्यो मान्छे फिल्म हेर्नुभन्दा मलाई नै घुरिरहेको थियो।
पछि बहुदल मःमः तथा सेकुवा सेन्टरमा दुई–दुई प्लेट बफ मःमः र एक–एक प्लेट चाउमिनसँग एक–एक बोतल चिसो हतारमा दन्कायौँ। मैले चाहि सिध्याउने बेलामा अलि ढिलो गरेँ, ताकि साथीहरूले पैसा तिरिहालून्। त्यो मेरो ट्रेडमार्क नै हो। कतै केटाहरूसँग खादा मैले तिरेको छैन, कहिल्यै तिरेको छैन। त्यसरी खाना ढिलो गर्ने वा खाइसकेर ट्वाइलेटमा हराउने अनि कहिल्यै काउन्टरमा पैसा नतिर्ने भएर केटाहरू मलाई भुक्का भन्छन्। केटाहरूको धेरै खाएको छु। पछि टन्न पैसा कमाउन सकेँ भने केटाहरूलाई कुखुराको सपेटाले दात माझ्न लगाएर बियरले कुल्ला गर्न लगाउनुपर्ला। अर्काको फोकटमा खान पनि त भएन नि, हैन!
पदमको मामाघरमा आउदा चार बज्नै लागेको थियो। किस्नेले भने घरमा झ्याप हान्छ र पैसा मजाले उडाउछ। जे होस्, त्यो घटनाबारे बाले मात्र हैन, पूरै स्कुलले थाहा पायो। म मात्र गयल भएको भए सायद हुन्थेन। तर, एकैचोटि पाच–पाच जना केटाहरू क्लासमा नहुदा शङ्का लाग्नु ठीकै हो। त्यति बेला क्लास टिचर माइकल सर थियो। हामीले त्यसको अघिल्लो दिन मःमः खाएको र सबैलाई पखाला चलेको भनेर ढाँट्याथ्यौँ। मलाई अझै पनि पेट दुखिरा’छ भनेर त्यसै म ट्वाइलेट पनि गएको थिए। एक जनाले ढाटेको पत्याउला, पाच जनाले ढाटेको पत्याउदैनन्।
डबल सरले एसेम्ब्लीमा हामीहरू भन्नाले ध्रुव, पदम, किस्ने, रोशन र मलाई पसिना नआउन्जेल कान समातेर उठबस गर्न लगायो। सुरुमा त गरेको गल्तीको सजाय पाउन हामी तयार भयौँ। तर, पसिना आइसक्यो, ओठमुखतालु सुकेर स्यास्या र फ्याफ्या हुदा पनि बुढाले डु मोर, डु मोर! भनिरह्यो। खुट्टा दुखेको र सेन्स नै नभएको जस्तो त कसैले देखेन तर पसिनाले निथ्रुक्क भिजिसक्दा पनि प्रिन्सिपललाई हाम्रो त्यो चाहिनेभन्दा बढी सजाय हेर्दै आनन्द लिइरहेको देखेपछि नसुन्ने गरी भन्यौँ, डबल मर, डबल मर! त्यसपछि हामी पाँच जना हार्फोर्डका हाउडेहरू भनियौँ। कैंडा लागेर हिँड्न नभएपछि घरमा ममीको पनि डायलग आयो।
हुन त स्कुलमा भूपति भट्टराई गुरू नभएको भए अरू सरहरूलाई गाह्रो हुन पनि सक्थ्यो। नेपालीमा हुने कार्यक्रममहरू जस्तै वादविवाद, निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता आदिमा गुरू नै सञ्चालक, गुरू नै जज, गुरू नै सबै। भूपति भट्टराई अथवा बिबि भनेर कसैले भन्थेनन्। गुरू भनेपछि सिद्धियो। राष्ट्रिय गान गाउने बेलामा श्रीमान् गम्भीर... गर्दै जादा भूपतिमा सबैको चर्को आवाज आउथ्यो। एटेन्सन पोजिसनमा ढाका टोपी ओढेर उभिरहेको गुरूलाई थाहा हुन्थेन, त्यो भूपति राजालाई हैन, आफैंलाई भनिएको हो, आदरस्वरूप नभई रिसस्वरूप। सरलाई रिस उठ्छ। तास खेलेर हार्दाको रिस, बुढीसँग भएको झगडाको रिस, कविता सङ्ग्रह नबिकेको रिस, अरू के–के रिस विद्यार्थीलाई पिटेर शान्त पाथ्र्यो तर विद्यार्थीले शिक्षकलाई पिट्न त मिलेन हैन, एउटै स्वरमा ‘भूपति’ भनेर चिच्याएपछि पुग्यो। गुरूको समस्या त्यही थियो।
केटीहरूलाई बोक्सी र केटाहरूलाई डुकुलण्ठक भनेर थर्काउने गुरू कहिले–कहिले हेबी रिसाउथ्यो र जे पायो, त्यहीले पिट्थ्यो– लठ्ठीले, स्केलले, डस्टरले, केही पाएन भने चकले। गुरूको दाह्रीचाँहि पालेको हो कि नफालेको, बुझ्न गाह्रो हुन्थ्यो। सधैं अन्टाइडी रहने गुरूको सबभन्दा ठूलो हतियार उखानटुक्का थियो।
साच्चै भन्ने हो भने हार्फोर्डमा गुरूको हातबाट पाइने सजायभन्दा व्यङ्ग्य मिसिएको उखानले बढी दुखाउथ्यो। तर, गुरूलाई हेबी रिस उठ्ने बेलामा उखानहरू पनि गुरूको रक्सी गन्हाउने मुखमा आउन हिच्किचाउथे र गुरूलाई मुड्की, झापट, लट्ठी वा अगाडि जे उपलब्ध छ, त्यसैको सहयोग चाहिन्थ्यो। तर, मलाई पनि पिट्नुपर्ने भयो भने अरू पिटाइ खानेहरूलाई राहत हुन्थ्यो किनभने त्यो नाम मात्रको पिटाइ हुन्थ्यो। मलाई थाहा छैन, भोलि म पनि कतै मास्टर भए भने र मेरो कुनै साथीको छोरो लट्ठी खान हात थापिरहेको छ भने के मेरो शक्ति कम हुनेछ? मेरो हात काम्नेछ? पहिलो कुरा त म मास्टरै हुन्न, दोस्रो कुरा भए पनि म केटाकेटीलाई पिट्दिन।
कहिले त गुरू रिसले आखा नदेखेको जस्तो हुन्छ। गुरूको मात्र हैन, हामीलाई पिटिरहदा सबै सरहरूको मुख हेर्न लायकको हुन्छ। कसले भनिदिने हो, रिसाएका बेलामा सरहरू यति नराम्रा देखिन्छन्, सायद राक्षस भन्या त्यस्तै पो हुन्छन् कि? जे होस्, गुरू धेरैजसो त फ््रयान्क नै थियो, छ। तास खेल्ने कुरा हामीलाई समेत सुनाउथ्यो। शुव्रmबारतिर अरू सरहरूसँग आज बस्ने हैन त? भन्दै सोधेको मैले धेरै सुनेँ। हामीलाई पनि म्यारिज सिक्नुपर्छ भन्थ्यो, दिमागको खेल हो रे! क्याम्पस पढ्ने बेलामा सानो खसीको मासुबाहेक केही छुँदैनथ्यो रे! रक्सी र चुरोटदेखि बाह्र हात पर बसे पनि कवि भैसकेको रे! बाले कुनै बेला आफ्नो जिग्रीको प्रशंसामा खर्चेका शब्दहरू हुन् ती।
अहिले ट्वाँके सरहरूको नेता नै हो गुरू। ठूलो खसी, बङ्गुर सब चल्छ। त्यति हो, जनै फुकालेर खान्छ। बाको साथी भएकाले मलाई गुरूको बारेमा अतिरिक्त ज्ञान पनि छ। त्यसमाथि घर्ती सरबाट बेला–बेलामा रिपोर्टिङ पनि भैहाल्थ्यो। कहिलेकाहीँ आफूकहाँ आऊ पनि भन्ने गथ्र्यो गुरू। सानोमा बासँग जाने गर्थेँ, अलि ठूलो भएपछि त्यहा जान हेबी झ्याउ लाग्थ्यो।
समर भ्याकेसनमा एकचोटि साझ त्यही आनी छोइङ डोल्माको गीत गाउने अप्सराको टोल लालीगुरासतिर डुल्दै म गुरूको निवास पुगेको थिए। बाह्र वर्षपछि पनि गुरूको घर त्यस्तै थियो। गुरू अघि नै कोदोको झोलबाट रिचार्ज भइसकेका थिए। कोठामा दारु र पिसापको मिक्स्ड गन्ध आइरहेको थियो। गुरू आफ्नो थोत्रो र मैलो सोफामा बसेर कुनै पत्रिका पढिरहेका थिए। गुरूका छ जना छोरीहरू छन्। सबभन्दा ठूली प्रणयको साथी हो। अरूहरू त झन् भन्ट्याङभुन्टङ नै छन्।
म पुग्दा गुरूले नर्मल भएको जस्तो अभिनय गरे। मलाई त्यो थोत्रो सोफामा बस्न लगाउदै भने, कताबाट बाटो बिर्सिस् है गोर्की तैँले? तेरो बा र म त लङ्गोटिया, त मेरो छोराजस्तै होस्। बस... यसरी बेला–बेला मकहा आएस्, केही समस्या भए भनेस्, कोपिला... ए कोपिला...! कोपिलालाई बोलाए पनि सुकिसकेको र औँलाइसकेको फूलजस्ती गुरूकी श्रीमती आइन्। गुरू जाडले दुब्ला र बूढा देखिन्थे। त्यसैले गुरूको एडम्स एप्पल गाडजस्तो ठूलो देखिन्थ्यो। गुरूआमाको हालत झन् नाजुक थियो, सुकेनास लागेको जस्तो।
गुरूले आफ्नी गुरूमालाई भने, चिनिस् गोर्कीलाई? सानोमा आउथ्यो त यो, मेरो विद्यार्थी, अझ मेरो साथी ईश्वरको छोरा... हेर कस्तो लायकको छ। मैले आदर सम्मान भावले भन्दा त्यसै नमस्ते गरे। गुरूआमाले नमस्ते फर्काउन नपाउदै गुरूको कटु वचन सुनियो, तैंले त छोरीछोरी मात्र दिइस् मलाई, जा गोर्कीलाई चिया बनाएर ल्या! र, मलाई पनि। फेरि गुरूआमाले किचनमा गएर ग्यास अन गर्न नपाउदै गुरूले बेलाइहाले, ए कोपिला! कुनै आज्ञाकारी विद्यार्थीभन्दा छिटो गुरूआमा आइपुगिन्, हजुर के भनिस्यो?
मेरो चुरोट दे। उपर्खुट्टी लगाएर बसिरहेको गुरूको आदेश सुनेर मलाई अलि अप्ठेरो लाग्यो। गुरूले नै भेट्टाउन सक्ने, यसो निहुरेर तान्न मिल्ने मसी वा त्यस्तै कालो, नीलो र रातो रङ पोखिएको तर कहिल्यै सफा नगरेको त्यो टि–टेबल मुन्तिरबाट गुरूआमाले ‘खुकुरी’ झिकिन् र टक्राइन्। झन्डै रजनीकान्त स्टाइलमा गुरूले एक खिल्ली मुखले च्यापे। चिया बसाल्न जान लागेकी धर्मपत्नीलाई गुरूले आफ्नो त्यही चिरपरिचित ठट्टामा भने, अनि अगेनामा दाउरा झोसेर मात्र हुन्छ? आगो चाहिन्न तलबाट? फेरि तलबाट सलाई झिकेर आफ्नो पति परमेश्वरलाई दिइन्। मलाई नै भने पनि त्यो चुरोट र सलाई झिकेर दिन कुनै गाह्रो काम थिएन। कसैले माइन्ड गर्ने कुरा थिएन। दुई पप तानेपछि गुरूले मलाई भने, गोर्की, यो छोएपछि मलाई शौचालय जानुपर्छ, बस्दै गर ल, बहिनीहरूसँग गफसफ गर, चिया खादै गर है!
गुरू बाहिरिए र ढोकाबाट देखिने बाहिरको ट्वाइलेटमा छिरे। तीन जना बहिनीहरू पूरा ज्ञानी थिए, सास पनि फेरिरहेका थिए कि थिएनन्, राम्रोसँग हेरेर मात्र भन्न सकिन्थ्यो। एक–दुईपटक मलाई पल्याकपुलुक मात्र हेरे र आफ्नो गृहकार्य गर्नमा व्यस्त भैरहे। दुई जना फुच्ची जुम्ल्याहा बहिनीहरू भाडाकुटी खेल्दै थिए। सबभन्दा सानीचाहि उत्तानो परेर आफ्नो हातले खुट्टा तानेर मुखमा हाल्दै थिई। गुरूको बैठक कोठा हेर्नुबाहेक मेरो अर्को काम थिएन।
किताब, किताब र किताब मात्र थिए, त्यो कोठामा। पक्का पनि त्यो थोत्रो सोफा सेट र टिभी कोपिला गुरूआमाको माइतबाट दाइजोमा आएको हुनुपर्छ। नमिलाईकन राखिएका ती किताबहरू गुरूको श्रीसम्पति हुनुपर्छ। अङ्ग्रेजीका किताबहरू त्यहा देखिएनन्– नेपाली र केही हिन्दीका थिए। पत्रिकाहरू यत्रतत्र सर्वत्र थिए– गरिमा, मधुपर्क, नेपाल, हिमाल, बगर, समकालीन साहित्य... के–के, के–के। ती किताबहरूमध्ये ३० प्रतिशत त गुरूका कविता सङ्ग्रह थिए होलान्।
उहिल्यै आफ्नै खर्चमा किताब निकालेका थिए गुरूले। ‘कहिल्यै नअस्ताउने घाम’ नामको त्यो किताब बाको र्याकमा दुइटा छन्। एउटा बाको आफ्नै र अर्को गुरूले स्कुलमा हामीलाई भिराउदा किन्या। स्कुलमा मात्र त्यो किताब अलि बढी बिकेको थियो होला किनभने बाकी गुरूले आफ्नो बैठक कोठामा डङ्गुर बनाएर राखेका थिए। गुरूको किताबको टाइटल किन त्यस्तो भएको होला, मैले बुझिन।
गुरू नर्वे गएर राति पनि घाम देखेपछि 'फिल' भएको पनि हैन होला। अथवा, कुनै जमानामा कहिल्यै सूर्यास्त नहुने साम्राज्य बेलायतको बारेमा पनि त्यो किताब थिएन। म कविता बुझ्दिन र कहिले त टाइटलले नै मलाई भगाइदिन्छ, साच्चै, जोक गर्या हैन। पछिल्लो समयतिर गुरू आफ्नो गजल सङ्ग्रह निकाल्न कुनै पैसा हालिदिने स्पोन्सर खोज्दै छन्। जे होस्, गुरूलाई भन्दा चियालाई कुर्दाकुर्दै बाह्र बज्यो। जाऊ कि क्या होजस्तो लाग्यो।
अन्तमा चुरोटको धुवाले पेटभित्रको मललाई डिस्प्लेस के भन्छ, विस्थापन गरेपछि हातखुट्टा पनि नधोई गुरू फर्किए। कालो चिया पनि आइपुग्यो। ओहो! हेब्बी गुलियो चिया थियो। त्यस्तो गुलियो चिया मैले मेरो तीतो जिन्दगीमा अहिलेसम्म खाएको छैन। गुरूले चुस्की लिँदै चिया चाखे र कराए, ए कोपिला! त्यही सेन्टी परेको अनुहार लिएर गुरूआमा आइन्। गुरूले परम् आदेश दिए, चिनी थप्नुप¥यो चिनी, कतिपटक भन्नुपर्ने हो मैले? अरू कुरा नकिनुला तर जति महगो भए पनि चिनी त किनिन्छ... गुलियो खानमा केको कन्जुस्याइ? जता–जता गुलियो, त्यतै बाहुन भुलियो भनेर त्यसै भन्छन्, हैन गोर्की? मतिर हास्दै गुरूले आखा झिम्काए, हेबी कार्टुन देखेर मलाई हासो लाग्यो तर हासिन।
गुरूआमाले सिसाको हर्लिक्सको भाडाबाट एक र आधा चम्चा गुरूको कपमा हालिदिइन् र चलाइन्। त्यहा सोध्ने कुरा भएन। मैले नबुझेको कुरा, गुरूआमाले गुरूको लागि बनाएको चिया मलाई परेको थियो कि? मेरो लागि बनाएको चियामा गुरूआमाले चिनी हाल्न कन्जुस्याइ गरिन् कि? कि एकैचोटि बनाएको चिया थियो त्यो र गुरूलाई चियामा चिनी हैन, चिनीमा चिया चाहिन्छ? नसकी–नसकी चिया खाइरहेँ।
गुरूको लामो गुरूवचन प्रारम्भ भयो, हेर गोर्की, असल साथीको सङ्गत गर्नुपर्छ, विद्यार्थी भएपछि अल्पहार, स्वान निद्रा, काक चेष्टा, बको ध्यान, परिश्रमी हुनुपर्छ। शरीरलाई हानी गर्ने अम्मलको सेवन गर्नुहुदैन। जीवनमा केही न केही बन्ने सङ्कल्प राख्नुपर्छ। विष नभएको सर्प र इख नभएको मान्छे एउटै हो। रूढी परम्परा र अरू अन्धविश्वासले समाजलाई जर्जर बनाएको यो देशमा तिमीजस्ता होनहार नौजवानहरूले क्रान्ति ल्याउनुपर्छ। गुरूले मलाई मात्र हैन, आफ्ना छोरीहरूलाई पनि त्यो लेक्चर सुनाउन खोज्याजस्तो थियो।
जब कोही मान्छे सिरियस हुदै यस्ता कुराहरू सुनाउछ, म त्यस्तो कुरालाई एउटा कानले सुन्छु र त्यही कानले उडाइदिन्छु, विशेष गरेर यदि त्यो मान्छेले आफैंले नै दिएको सल्लाह, अर्ती उपदेश पछ्याइरहेको छैन भने। त्यतिखेर पनि त्यही गरेँ तर कसैको चिया खादै हुनुहुन्छ र त्यसको गफ नसुनेको जस्तो गर्नुभयो भने बोर नै हुन्छ हैन, सुनिरहेको अभिनय त गर्न सकिन्छ। त्यसैले ‘हजुर’ ‘हो’ ‘ए’ भन्दै थोरै चिया मुखमा हाल्दै बाह्र मिनेटसम्म मुखमा राख्दै निलेँ। अब मलाई गुरूको सानो कोठा झन् सानो भएको थियो। गुरूको दाइजोको थोत्रो सोफा सानो र साघुरो भएको थियो किनभने मेरो छेउमा बसिरहेको गुरू सोफाको अर्को कुनामा प...र धेरै पर देखिरहेको थिए। गुरूको एकनासको लेक्चर जारी थियो। गुरूको टाउकोमात्र देख्न थालेँ।
त्यसपछि बाक्लो आखीभौँ मुनिका धस्सिएका आखा, घोप्टे जुँगामुनिको बोलेर नथाक्ने मुख र अन्तमा नाकमात्र देखेँ। त्यो चुच्चो नाकमात्र बोलेको हो कि जस्तो लागिरह्यो। के मसँग एउटा चुच्चो नाक बोलिराखेको थियो! सोचिरहेको बेला एउटा मान्छे आयो, निकै खातापिता बूढो मान्छे भित्र पस्न नपाउदै बहिनीहरू खुशी भए र हजुरबा, हजुरबा भन्न थाले। अचानक मैले गुरूलाई पनि नजिकै पाए। बुढो गुरूको नजिक आयो र निधार तल पा¥यो। ट्वाइलेटबाट आएर पनि नधोइएको खुट्टा उचालेर गुरूले बुढोको निधारमा छुवाए।
मलाई त्यही मौका थियो, त्यहाबाट निस्कने। आधा कप चिया छाडेर म त्यहाबाट बाहिरिए। त्यति बेला मात्र गुरूआमाले हल्का हासेर भनिन्, आउदै गर ल बाबु!
गुरूको निवासबाट निस्कदा अध्यारो भैसकेको थियो। अचानक मलाई सेन्टी भएको जस्तो लाग्यो। लिलीलाई सम्झेँ। ऊ भएको भए... लिलीले बौदल भनेर बोलाएको स्पष्ट सुनेँ। नभएको मान्छेको स्वर सुनेर म झन् सेन्टी भए। मलाई केही मन परेन र भागेर अन्त कतै जान पाए हुन्थ्योजस्तो लाग्यो।
(शनिबार सार्वजनिक हुने तीर्थ गुरूङको उपन्यास पाठशालाको अंश)