एउटा अधुरो चुम्बन
समय त्यो होइन
होइन चुरोटको कसमा टल्किएको
जमानसिंको अोठ ।
भित्र डढिसकेर
खोक्रो उभिएको
गोब्रे सल्लाको रुख त झनै हुँदै होइन।
सानीकान्छी
आँखाको रिभल्भरमा
प्रेम जस्तैजस्तै लाग्ने
आँसुका ढिका भरेर
नसोझ्याउ मेरो देब्रे छाती।
गोजीमा थन्किएर
कुवाभित्रै
उफ्रिएर उमङ्गको संसार
गाउँदै छैन म भ्यागुतो गीत
उम्रिएर ओसिलो पाखोमा
पलाएको होइन म उन्युँ उमेर।
होइन
हुरीमा हुर्रिएर आइपुगेको रातो गुलाब।
बास्नाकै खोजीमा सडकसडक
भौतारिइ हिँड्ने
मखमली पत्रकार त झनै हुँदै होइन।
बजाएर बोलीको बाँसुरी
किन गर्छौ
नचाउने असफल प्रयत्न
सानीकान्छी
माया जस्तैजस्तै लाग्ने
रेशमी स्पर्शले बाँध्न नखोज
मेरो गोडाको चाल।
आफ्नै आँगनमा रोपेको छु
पिपलको बोट
यसकै जराहरू गोडेर
यसकै पातहरूको पङ्खाले
नुहाएर एउटा शान्त समय
जिउँछु जीवनको रङ
सानीकान्छी
तिम्रा आँसुका गोलीहरू खर्च नगर
मैले लगाइसकेको छु
बुलेट प्रुफ ज्याकेट।