कुनै समय स्याङ्जाबाट नेपाली कांग्रेसको राजनीति गर्न पूर्वउपसभापति गोपालमान श्रेष्ठको आशीर्वाद अनिवार्य थियो।
चुनावमा टिकट पाउन होस् वा कांग्रेसको आन्तरिक राजनीतिमा अघि बढ्न श्रेष्ठको नजिक पर्नुपर्थ्यो। उनलाई रिझाउनुपर्थ्यो। स्याङ्जाबाट ४ पटक संसदीय निर्वाचन जितेका श्रेष्ठ कांग्रेसको राजनीतिमा केन्द्रीय उपसभापतिसम्म बने। जिल्लामा ‘आफ्ना’ मान्छेलाई मात्र अघि बढाए।
अब स्याङ्जामा श्रेष्ठको त्यस्तो रजाइँ इतिहास बनेको जिल्लाका नेताहरू बताउँछन्।
सभापति शेरबहादुर देउवा गुटमा बसेर केन्द्रीय उपभापतिसम्म बनेका श्रेष्ठ युग कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनबाट सकिएको छनक दिएको छ।
क्षेत्रीय अधिवेशनबाट स्याङ्जा- १ मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार तुलसीराम रेग्मी सभापतिमा निर्वाचित भए भने स्याङ्जा-२ मा सभापति देउवा पक्षका उम्मेदवार एवं वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाण निर्वाचित भए।
महाधिवेशन प्रतिनिधिमा स्याङ्जाबाट देउवा र पौडेल समूहभन्दा बाहिरबाट तेस्रो पक्षले धेरै मत जित्न सफल भएका छन्।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट रहेका नेता राजु थापा पक्षले छुट्टै गुट बनाएर अधिकांश महाधिवेशन प्रतिनिधि जिताउन सफल भएका हुन्।
उनको क्षेत्र रहेको स्याङ्जा- १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा २३ जना आफूहरूले उठाएका उम्मेदवारले जितेको उक्त समूहको दाबी छ।
स्याङ्जा क्षेत्र नम्बर २ बाट पनि ७ जना महाधिवेशन प्रतिनिधि आफूहरूले जिताएको थापा पक्षले बताएका छन्। बाँकी १८ जना भने देउवा गुटबाट जितेको स्याङ्जा कांग्रेसका एक नेताले बताए।
संविधान सभा सदस्य रहेका थापा यसअघि कांग्रेस नेता खुमबहादुर खड्कानिकट थिए।
खड्काको निधन भएपछि थापा केन्द्रीय सदस्य कोइरालानिकट बन्न पुगेका थिए।
केन्द्रीय उपसभापति बनेका गोपालमानको किल्ला भत्काउन यसअघि पनि स्याङ्जा कांग्रेसभित्र गठजोड हुँदै आएको थियो।
जिल्ला सभापति कमलप्रसाद पंगेनी सभापतिमा निर्वाचित हुने बेला देउवा गुटबाटै निर्वाचित भएका थिए।
सभापति बनेपछि पंगेनी पनि शेखर कोइरालासँग नजिकिएको स्याङ्जा कांग्रेसका ती नेताले बताए।
कार्यकाल नसकिँदै पंगेनीको निधन भएपछि सचिव बुद्धिबहादुर राना ‘कुमार’ कार्यवाहक सभापति बनेका थिए।
क्षेत्रीय महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि उठेका कार्यवाहक सभापति कुमार पराजित भए।
अब उनले जिल्ला सभापति, प्रदेश वा केन्द्रको कुनै पनि तहमा लड्न उनले पाउँदैनन्।
यस्तै, प्रतिनिधि सभाका सांसद मोहनप्रसाद पाण्डे, राष्ट्रिय सभाका पूर्वसदस्य एवं पूर्वसभापति खगेन्द्रराज रेग्मी, पूर्वसांसद एवं सभापति शंकरप्रसाद पाण्डे, भोजराज अर्याल लगायतका पुराना नेता समेत महाधिवेशन प्रतिनिधिमा पराजित भए।
उनीहरूलाई पराजित गर्न राजु थापा समूहको हात भएको स्थानीय कार्यकर्ता बताउँछन्।
थापाले कांग्रेस स्याङ्जाको सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। त्यसका लागि आफ्नो समूहको प्यानल बनाउन दिनहुँ भेटघाट र छलफलमा व्यस्त छन्।
सभापति देउवा गुटको किल्ला बनेको स्याङ्जामा कोइराला पक्षका थापा हाबी हुन सफल हुनुमा उनी कार्यकर्तामा भिजेको उनीनिकट कार्यकर्ताको दाबी छ।
२०७४ मा स्याङ्जा-१ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि निरन्तर जिल्लामै रहेर कार्यकर्ताको घरदैलोमा पुगेको थापानिकट कार्यकर्ता डोलराज पोखरेलले बताए।
‘पार्टीका अरू नेताहरू गुट बनाउन लागे, राजु थापा संगठन विस्तार गर्दै जनताको घरदैलोमा हिँडे, त्यही भएर नै उनी लोकप्रिय भएका हुन्,’ पोखरेलले भने।
महाधिवेशन कब्जा गरेको देउवा पक्षको आरोप
यता, सभापति शेरबहादुर देउवा पक्षले भने राजु थापा समूहले क्षेत्रीय अधिवेशन नै कब्जा गरेको आरोप लगाएका छन्।
महाधिवेशनमा थापा समूहले गुण्डागर्दी शैलीमा कतिपय क्षेत्रीय प्रतिनिधिको आफैंले मतदान गरिदिएको दाबी गरे।
देउवा समूहका एक जिल्ला नेताका अनुसार थापाले गुण्डागर्दीमै लागेर केन्द्रबाट जिल्लाको पार्टी सदस्यता लिएका बताए।
‘उहाँ (राजु थापा) खुमबहादुर खड्कासँग गुण्डागर्दीमा हिँड्थे, केन्द्रबाटै जिल्लाको सदस्य भएर आएका हुन्,’ ती नेताले भने, ‘थापा कांग्रेसको सदस्य बनेको १२ वर्षमात्र भयो, सदस्य भएदेखि नै महाधिवेशन प्रतिनिधि बनेका छन्।’
गुटगत राजनीतिकै कारण थापाले संविधान सभा निर्वाचनमा टिकट पाएर निर्वाचित भएको समेत उनले आरोप लगाएका छन्।
महाधिवेशन प्रतिनिधिमा पराजित भएका ती नेताले केन्द्रीय नेतृत्वकै कारण जिल्ला पार्टीमा गुण्डागर्दी हाबी हुन पुगेको बताए।
‘कांग्रेसको राजनीतिमा गुण्डागर्दी र दलाली हाबी भएकाले इमान्दार कार्यकर्ता विस्थापित हुँदैछन्,’ ती नेताले भने, ‘यसले भविष्यमा कांग्रेसलाई ठूलो हानी पुर्याउँछ।’
पार्टीभित्र हुर्कंदै गएको गुण्डागर्दी रोक्न सभापति देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, शेखर कोइराला लगायत सबै नेताहरू एकजुट हुनुपर्ने ती नेताको भनाइ छ।