नेपाली कांग्रेस धनुषाको १८ वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ।
१४ औं महाधिवेशनअन्तर्गत धनुषाको ९ वटा पालिकमा सर्वसम्मत र बाँकीमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो।
अधिवेशनबाट पालिकाको सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव गरी १ सय २६ जना पदाधिकारी चयन भएका छन्। जसमध्ये १ सय २४ जना पुरूष र दुई जनामात्र महिला छन्।
मुखियाँपट्टी मुसहरनियाँ गाउँपालिका सभापतिमा प्रेमकला देवी र नगराइन नगरपालिका सचिवमा चिन्ती कुमारी महतो मात्र पदाधिकारीमा चयन हुन सकेकी हुन्।
नेताहरूका अनुसार कार्यसमिति सदस्यमा मात्र महिलाहरूलाई समावेश गरी महिलाको संख्या ३३ प्रतिशत पुर्याइएको छ।
महिलाहरू राजनीतिमा आउन नचाहेका कारण मुख्य पदाधिकारीमा उनीहरू आउन नसक्नु प्रतिनिधि सभा सदस्य समेत रहेकी कांग्रेस नेता मिनाक्षी झाले बताइन्।
'राजनीति नबुझेर उनीहरू महत्वपूर्ण पदमा आउँदैनन्। मौका नपाएर पनि केही महिला आउन नसकेका हुन्। तर महिला घरमै बस्यो भने कसैले तपाईं पदाधिकारी बनिदिनुस् भन्न जाँदैन,’ उनले भनिन्, ‘ पदाधिकारीमा चयन भइसकेपछि काम गर्नुपर्छ तर महिलाले काम गर्न पनि चाहँदैनन्। जो महिलाहरू चयन भएर आएका पनि छन् उनीहरू केन्द्र पदाधिकारीमा जाँदैनन्।’
महिलाका लागि पदाधिकारीमा आरक्षणको व्यवस्था नगरून्जेल उनीहरू अगाडि आउन नसक्ने सांसद झाको भनाइ छ।
‘महिलाको महिलासँग मात्र प्रतिस्पर्धा गराउँदा उनीहरू आउँथे तर पुरूषसँग प्रतिस्पर्धा गर्न अहिले सक्षम छैन। महिलालाई डर लाग्छ,’ उनले थपिन्।
महिला राजनीतिमा आउँदा समाजले गलत दृष्टिले हेर्दा उनीहरू पछाडि परेको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा उपसभापतिमा चयन भएकी प्रेमकलादेवी यादवले बताइन्।
‘गाउँ समाजमा महिलाले राजनीति गर्यो भने गलत दृष्टिकोणले हेरिन्छ। अनेक लाञ्छना लगाउने र नराम्रो टिप्पणी गर्ने, कुरा काट्ने गरिन्छ। पुरूषप्रधान समाजले महिलाको नेतृत्व स्वीकार गर्न चाहेका छैनन्’, उनले भनिन्।
महिलालाई राजनीतिमा अघि बढ्न समाजमा जनचेतना बढाउनु आवश्यक रहेको उनले बताइन्।
कांग्रेस जिल्ला उपसभापति सन्तोष यादवले महिलालाई महत्वपूर्ण पदमा ल्याउन आगामी दिनमा ख्याल गरिने बताए।
‘दुई जना महिलामात्र पदाधिकारीमा आउनु हाम्रो लागि दुर्भाग्य हो। शिक्षाको कमीले चेतनाको स्तर कम छ, त्यसैले महिला नेतृत्वमा आउनै चाहँदैन,’ उनले भने, ‘पहाडतिर सभापतिमा महिलाहरू आउँछन्। तर यता सभापतिमा दाबेदारी प्रस्तुत गर्ने पनि कोही हुँदैनन्।’
यद्यपि अन्य पार्टीभन्दा कांग्रेसले ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको र महिलालाई सबभन्दा धेरै प्राथमिकतामा राखेको उनको दाबी छ।
कुन पालिकामा को-को आए ?
धनुषाधाम नगरपालिकामा चन्द्रदीप यादव, हंसपुर नगरपालिकामा राजनारायण कापर, सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव, गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव, औरही गाउँपालिकामा जुगल सिंह, विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, सहिदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले नेतृत्व पाएका छन्।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सभापतिमा निर्वाचित भएका छन्।
लक्ष्मीनियाँ गाउँपालिकामा भोगेन्द्र मिश्र, क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर गाउँपालिकामा रामचन्द्र महतो निर्वाचित भएका हुन्।