नेपाली कांग्रेस कास्कीको सचिवमा युवा नेता सिरोजविजय कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेस चुनाव लड्नका लागि मात्रै केन्द्रित भएको भन्दै पार्टीलाई समाजसँग जोड्न आफुले उम्मेदवार बन्न लागेको उनले बताए।
पोखरामा युवा उद्यमीको पहिचान बनाएका कोइराला झण्डै ३० बर्षदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन्।
पृथ्वीनारायण क्याम्पसमा अध्यन गर्दा नेपाल विद्यार्थी संघको राजनीति गरेका कोइराला यसअघि पार्टीका कुनै पनि पदमा उम्मेदवार बनेका थिएनन्।
पार्टीभित्र पद्धती कायम राख्न पनि आफूले उम्मेदवारी दिएको कोइरालाले बताए।
‘राजनीतिक दलको दायित्व समाज र देशसँग हुनुपर्छ भनेर उम्मेदवार बनेको हुँ, मेरो मुख्य ध्येय सार्वजनिक शिक्षा र अस्पताल सुधार्न केन्द्रित हुनेछ,’ उनल भने।
कांग्रेस कास्कीको इतिहास अभिलेख राख्न आवश्यक देखिएको भन्दै त्यसका लागि पुराना नेताहरुसँग निरन्तर सम्वाद गर्नुपर्ने उनले बताए।
‘पुराना नेताहरुले क्रान्ति र आन्दोलनका अनुभव सुनाउन सक्छन्, पार्टीले नियमित संवाद गर्नुपर्छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले पुराना नेता प्रति सम्मान बढ्छ भने नयाँ पुस्तालाई सिक्ने अवसर मिल्छ।’
राजनीतिक दलहरुले सबैभन्दा तल रहेका भुइँमान्छेका लागि काम गर्न छाडेको समेत उनको दाबी छ।
कांग्रेसले उनीहरुको हितलाई ध्यान दिनुपर्ने कोइरालाले बताए। सचिवको उम्मेदवारी घोषणा गर्दै कोइरालाले विकास निर्माणका योजना बनाउँदा समेत आम नागरिक र वातावरणीय पक्षलाई ध्यान दिन आफुले उम्मेदवारी दिएको बताए।
कोइराला यसअघि पोखरा महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यतिबेला नेपाली कांग्रेसले उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको थियो।
एमालेको राजनीतिमा सक्रिय गुरुङले केन्द्रबाट अचानक कांग्रेस उपमेयरको टिकट ल्याउन सफल भएकी थिइन्। नेपाली कांग्रेसमा औपचारिक रुपमा प्रवेश नै नगरी उपमेयरको टिकट ल्याएको भन्दै त्यतिबेला कांग्रेस कास्कीका नेता कार्यकर्ता रुष्ट बनेका थिए।
त्यतिबेला पार्टीभित्र देखिएको गलत प्रवृत्तीका विरुद्ध आवाज उठाउन आफुले उपमेयरको स्वतन्त्र उम्मेदवारी दिएको कोइरालाले बताए। आफ्नो उम्मेदवारीले पार्टीका इमान्दार कार्यकर्ताको मनोबल बढाएको र पार्टीको साख जोगाएको उनको दाबी छ।
‘विपी कोइरालाले नै जतिबेला पार्टीमा विसंगति हावी हुन्छ, त्यतिबेला पार्टीका सच्चा कार्यकर्ताले आवाज बुलन्द गर्नुपर्छ भन्नुभएको छ,’ कोइरालाले भने, ‘त्यतिबेला मैले सचेत भएरै उपमेयरमा उम्मेदवारी दिएको हुँ।’
पार्टीमा आफूले उपमेयरको टिकट कहिल्यै दाबी नगरेको उनको भनाइ छ। कास्कीमा कांग्रेसको संगठन कमजोर भएकाले तीनै तहका निर्वाचनमा विपक्षी बलियो देखिएको उनले बताए।
आफ्नो उदेश्य पार्टीको संगठन सुदृढ पार्ने र नेता कार्यकर्ताको मुल्याङ्कन विधी बनाएर जिम्मेवारी दिने योजना रहेको समेत उनले सुनाए। पार्टी सचिवमा उम्मेदवारी दिने योजना बनाउँदै गर्दा नेताहरुले आफ्नो टिममा बस्न आग्रह गरिरहेको समेत कोइरालाले बताए।
‘म विशुद्ध कांग्रेस हुँ, कुनै गुटमा छैन,’ उनले भने, ‘गुटगत राजनीति पनि एउटा विसंगति नै हो, म गुटमा जाँदिन।’ गत प्रतिनिधि सभा निर्वाचनमा कास्कीका पूर्वसभापति एवं उम्मेदवार शुक्रराज शर्मा र उपनिर्वाचनमा उम्मेदवार खेमराज पौडेलको टिममा रहेर काम गरेका कोइराला पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए।
‘जिल्लाका नेताहरु आ–आफ्नै बाटो हिंडेका छन्, मैले सचिव जितें भने कास्की कांग्रेसको एउटै बाटो बनाउन पहल गर्छु,’ उनले भने, ‘कास्कीमा कांग्रेसलाई बलियो बनाउने बाहेक मेरो कुनै उदेश्य छैन।’