नेपाली कांग्रेस चितवनले पार्टीको जिल्ला अधिवेशन सारेको छ।
आजदेखि जिल्ला अधिवेशन सुरू गरेर शनिबार मतदान गर्ने कार्यतालिका बनाएकोमा चितवनमै आजदेखि एमालेले दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने भएपछि नेता/कार्यकर्ता आउन र बसोबास गर्न समस्या पर्ने भएको कारण देखाएर कांग्रेसले अधिवेशन पर सार्ने निर्णय गरेको हो।
बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमिति बैठकले एमालेको दसौं राष्ट्रिय महाधिवेशनका कारण क्षेत्रीय प्रतिनिधिहरू, उम्मेदवारहरू मतदानस्थलसम्म आइपुग्न यातायातको समस्या हुने र आएका मतदातालाई आवाससमेतको व्यवस्थापन गर्न कठिनाइ हुने देखिएकोले कांग्रेसको प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ।
चितवन प्रशासनले अत्यावश्यकबाहेक सवारी साधनलाई सञ्चालनमा रोकसमेत लगाएको छ।
जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले सूचना निकालेर प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गरिने उल्लेख गरेका छन्। कांग्रेसले यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्दैछ। प्रदेश अधिवेशनका लागि मतदाता प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित सभापति तथा क्षेत्रीय प्रतिनिधिहरू हुन्छन्।
आजका लागि तय गरिएको मनोनयन दर्तालगायत कार्यक्रम पनि कांग्रेसले स्थगित गरेको छ।
चितवन प्रशासनले पनि कांग्रेसलाई एमालेसँग जुध्ने गरी अधिवेशन नगर्न र केही दिन पर सार्न अनुरोध गर्दै आएको थियो। तर अन्तिम समयमा आएर जिल्ला अधिवेशन सारेकोमा केही नेताहरूले भने असन्तुष्टि जनाएका छन्।
एमालेको महाधिवेशन उद्घाटनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम छ।