नेपाली कांग्रेसको आज जिल्ला अधिवेशन हुँदै छ। देशभरका विभिनन ४२ वटा जिल्लाहरुमा आज अधिवेशन हुन थालेको हो। जसअन्तर्गत सुर्खेतमा आज मनोनयन दर्ताको गर्ने कार्यक्रम छ।
कांग्रेस सुर्खेतको नेतृत्व संस्थापन पक्षले लिने पक्का भइसकेको छ। यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सुर्खेतमा सभापतिको उम्मेदवार नै उठाएको छेन।
अहिलेका सभापति कमलराज रेग्मी फेरि पनि जिल्ला सभापतिमा आकांक्षी भए पनि उनले महाधिवेशन प्रतिनिधिमा हारेका छन्।
उनीजस्तै केही अरु आकांक्षी पनि महाधिवेशन प्रतिनिधिमा आउन नसकेपछि सुर्खेत जिल्लाको सभापतिको उम्मेदवार पौडेल समूहबाट छैनन्।
पौडेल समूहले उम्मेदवार नपाएका बेला देउवा समूहलाई भने टुंगो लगाउन धौ भएको छ। सभापतिदेखि जिल्लाका अन्य पदाधिकारीसम्म आकांक्षी धेरै भएपछि टुंगो लगाउन सकिएको छैन।
यसका लागि बैठक बसेर टुंगो लगाउने तयारी भएको महाधिवेशन प्रतिनिधि विष्णुबहादुर खड्काले बताए।
‘हाम्रोमा सभापति मात्र होइन तलैसम्मका आकांक्षी धेरै हुनुहुन्छ, यो स्वभाविक पनि हो,’ उनले भने, ‘हामी बैठक बस्दैछौं, चाँडै टुंगो लाग्छ।’
उनी आफैं पनि सभापतिका आकांक्षी हुन्। उनी महामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन्।
यस्तै यज्ञबहादुर बुढा क्षेत्री, देवकुमार सुवेदी, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा पनि सभापतिका आंकाक्षी छन्।
कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रहेका बुढाक्षेत्री गएको अधिवेशनमा सभापतिका उम्मेदवार दिए। उनी पौडेल समूहका उम्मेदवारसँग पराजित भएका हुन्।
यस्तै वीरेन्द्रननगर ननगरपालिकाको मेयर रहेका देवकुमार सुवेदीले स्थानीय तहको निर्वाचनपछि पार्टीभित्रको समूह परिवर्तन गरेका थिए।
सभापतिका अर्का आकांक्षी उपेन्द्र थापा पञ्चपुरी नगरपालिकाका मेयर हुन्।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट खड्ख पोखरेल र २ बाट उपेन्द्र थापाले सार्वजनिक रुपमै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
एउटै समूहका आकांक्षीहरु भए पनि सुर्खेतको नेतृत्व सर्वसम्मत् रुपमा टुंग्याउन सम्भव नभएको सभापतिका आकांक्षी नारायण सापकोटाले बताए।
‘छलफल त चलिरहेको छ, तर सहमति भईसकेको छैन,’ उनले भने, ‘सम्भावना कम पनि छ।’ सुर्खेतमा वडादेखि संसदीय निर्वाचन क्षेत्रसम्मको नेतृत्वमा संस्थापन पक्ष हावी भएकाले पौडेल समूहबाट जिल्ला सभापतिको लागि उम्मेदवार नभएको हो।
दुईवटा प्रतिनिधि सभा क्षेत्र, चारवटा प्रदेश सभा क्षेत्र, ९ मध्ये ८ वटा पालिका र ९९ मध्ये ८६ वटा वडामा संस्थापन पक्षको बर्चस्व कायम भएको छ।
सभापतिबाहेक तलका पदाधिकारीमा भने त्यो टिमबाट उम्मेदवार आउन सक्ने संस्थापन समूहबाट जिल्ला सचिवका आकांक्षी हरि विष्टले बताए।
नेपाल तरुण दलको सुर्खेत जिल्ला अध्यक्ष रहेका विष्ट पार्टीको जिल्ला कार्यसमितिको सचिवमा दावी गरिरहेका छन्। समूहले उनलाई सहसचिवको लागि ठाउँ दिएपछि उनले मानेका छैनन्।