दार्चुलामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतगणनास्थमा झडप हुँदा चार जना घाइते भएका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित दार्चुला विकास संगठनको हलनजिक सभापतिका उमेदवार अमरसिंह धामी र ललितसिंह बाहेरा पक्षबीच झडप भएको हो।
आपसमा विवाद भएर झडप हुँदा घाइते भएका चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्तबहादुर साउँद लगायतका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार थप चार जना प्रहरीको नियन्त्रणमा रहेका छन्।
नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो।
कुल एक हजार ४२ मतदाता रहेकोमा ९५६ मत खसेको निर्वाचन समितिले जनाएको छ।
पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयन हुनेछन्।