क्षेत्रीय अधिवेशनमा दुई समूहबीच कुटाकुटको अवस्थामा पुगेको नेपाली कांग्रेस रूपन्देहीले जिल्ला नेतृत्वका लागि भने भागबण्डामा नेतृत्व चयन गर्ने सहमति गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट स्थानीय नेतालाई पदको भागबण्डासहित जिल्ला नेतृत्व चयन गर्ने सहमति भएको हो।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देहीमा आज जिल्ला अधिवेशन हुँदैछ।
अधिवेशनको पूर्वसन्ध्यामा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, सार्वजनिक लेखा समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य भरतकुमार शाह, रामचन्द्र ढकाल, अष्टभूजा पाठक र अब्दुल रज्जाकबीच भागबण्डामा नेतृत्व चयन गर्ने सहमति भएको हो।
रूपन्देही कांग्रेसको नेतृत्व हात पार्नका लागि केन्द्रदेखिकै सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको दुई समूह सक्रिय रहेको देखिएको भए पनि अन्तत: नेताहरूकाबीच पद बाँडफाँट गरेपछि जिल्ला नेतृत्वको लागि हुने टकराव अहिलेका लागि अन्त्य भएको छ।
यसअघि रूपन्देही क्षेत्र नम्बर ३(क) र क्षेत्र नम्बर २ मा भएको निर्वाचनको मतगणनाको क्रममा दुई समूहबीच विवाद भएपछि एक आपसमा कुटाकुटको अवस्था सृजना भएको थियो।
दुबै क्षेत्रमा देउवा समूहका कार्यकर्ताले आफूहरूमाथि आक्रमण गरेको पौडेल समूहको आरोप छ।
तर जिल्ला नेतृत्व चयनको अवस्थामा आइपुग्दा भने रामकृष्ण खाणलाई जिल्ला सभापति बनाउने गरी सहमति गरिएको
नेपाली कांग्रेस स्रोतले जनाएको छ।
स्रोतका अनुसार खाण गृह मन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।
आफ्नै समूहका कार्यकर्ता माझ पनि लोकप्रिय छवि बनाउन नसकेका खाणको पद सुरक्षित बनाउन गृह मन्त्री खाणले पछिल्लो समय दौडधुप गरिरहेका थिए।
रामकृष्ण खाण कांग्रेस रूपन्देहीका वर्तमान सचिव समेत हुन्।
केन्द्रीय नेताहरूका बीचमै कांग्रेसले दुवै पक्षका बीच सहमति भएको भन्ने सन्देशबाहिर ल्याए पनि कसलाई कुन पदमा जिम्मेवारी दिइएको हो भन्ने खुलाउन भने चाहेको छैन।
छलफलमा सहभागी एक नेताका अनुसार खाणलाई जिल्ला सभापति, हाल जिल्ला सभापति रहेका अब्दुल रज्जाकलाई प्रदेश सभापति, पौडेल समूहबाट जिल्ला सभापतिका अध्यक्षका दाबेदार अष्टभूजा पाठकलाई प्रदेश सरकारमा मन्त्री बनाउने सहमति भएको छ।
त्यसैगरी, पूर्वजिल्ला सभापति समेत रहेका रामचन्द्र ढकाललाई राष्ट्रिय सभा वा समानुपातिक तर्फबाट सांसद बनाउने सहमति भएको छ।
क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य रहेका प्रमोद यादवलाई भने संघीय सरकारमा राज्यमन्त्री बनाउने सहमति भएको ती नेताले बताए।
'निर्वाचन भएको अवस्थामा कसको पल्ला भारी हुन्छ भन्न नसकिएको अवस्थामा खाणको पद सुरक्षित गराउनकै लागि यस्तो सहमति गरिएको हो,' स्रोतले भन्यो।
यीमध्ये रज्जाक कांग्रेसभित्र देउवा समूहमा छन् भने पाठक र ढकाल पौडेल समूह तथा यादव शशांक कोइराला समूहका हुन्।
यसअघि जिल्ल्लामा देउवा र पौडेल पक्षमात्र सक्रिय रहेको भए पनि केही वर्ष यता स्थानीय नेतृत्वको टकरावले सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाहले अलग्गै गुट सृजना गरेर नेतृत्व गरेका कारण त्रिपक्षीय सहमतिको अवस्था बनेको हो।
देउवा समूहकै भरतकुमार शाहले जिल्लामा आफ्नो छुट्टै स्थान खोज्ने आफूनिकट कार्यकर्तालाई समेट्ने रणनीतिमा जिल्लामा नयाँ गुट सृजना गरेका छन्।